शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचनमा कति शिक्षक र कर्मचारी परिचालन छन् ?

बिहीबार, २८ वैशाख २०७४, ०९ : ०१
बिहीबार, २८ वैशाख २०७४
बाबियाचौर म्याग्दी - आइतबार हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका सबै मतदान केन्द्रमा बुधबारदेखि कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । प्रत्येक मतदान केन्द्रमा पाँचजनाका दरले कर्मचारी, दुईजना स्वयम्सेवकका साथै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र म्यादी प्रहरी परिचालन भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ५१० जना निजामती कर्मचारी र शिक्षक मतदान गराउनका लागि खटिएका छन् । निर्वाचनसम्बन्धी सबै किसिमका सामग्रीसहित केन्द्रमा पुगेका कर्मचारी र सुरक्षाकर्मीले निर्वाचनको तयारी गरेका जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए । उनका अनुसार बिहीबारदेखि मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम छ । एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, एक सहयोगी र दुईजना स्वयम्सेवक परिचालन गरेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन विशेष सुरक्षा योजना लागू गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेराको सुरक्षामा नेपाली सेना परिचालन हुने भएको छ । मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील वर्गमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताए । म्यादी प्रहरीले लाइन र भीड व्यवस्थापनको काम गर्ने भएका छन् । यसैबीच, मतदान गर्नका लागि गाउँ फर्कनेको सार्वजनिक सवारीसाधनमा चाप बढेको छ । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँमा बस्दै आएका सर्वसाधारण आफ्नो नामावली रहेको ठाउँबाट मतदान गर्नका लागि गाउँ फर्कने क्रम बढेको हो । पहिलो पटक हुन लागेको स्थानीय तह निर्वाचनको पर्व झैँ रौनक देखिएको छ । अधिकारसम्पन्न स्थानीय तहमा जनप्रतिनिधि चयन गर्नका लागि हुन लागेको निर्वाचनप्रति आम सर्वसाधारणको चासो र उत्सुकता बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप