आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

एमाले अभियानका क्रममा ज्यान गुमाएका पाँचै जना शहीद

बुधबार, ०३ जेठ २०७४, २० : ५९
बुधबार, ०३ जेठ २०७४
राजबिराज, जेठ ३– सरकारले स्थानीय तहको पहिलो चरणको चुनावअघि नेकपा एमालेले गरेको मेची महाकाली अभियानका क्रममा सप्तरीमा ज्यान गुमाएका पाँचै जनालाई सरकारले शहीद घोषणा गरेको छ । बुधबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा गृहमन्त्री विमलेन्द्र निधिले पाँचै जनालाई शहीद घोषणा गरिएको जानकारी दिए । स्थानीय तहको पहिलो चरणमा भएको ३४ जिल्लाको निर्वाचनको परिणाम आउँदै गर्दा र मधेसमा हुने दोस्रो चरणको निर्वाचनअघि गृहमन्त्री निधिले सप्तरीमै पुगेर यस्तो जानकारी दिएका हुन् । मन्त्रिपरिषद्को वैठकले पाँचै जनालाई शहीद घोषणा गरेको बताए । यसअघि स्थानीय प्रशासनले उक्त घटनामा मारिएकालाई शहीद घोषणा गर्न सरकारलाई सिफारिस गर्ने सहमति पीडित पक्ष तथा मधेसी मोर्चासँग गरेको थियो । बुधबार राजविराजमा आयोजित कार्यक्रममा गृहमन्त्री निधिले शहीद परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत हस्तान्तरण पनि गरेका छन् । राहत स्वरुप मृतक परिवारलाई १० लाख राहत दिने सरकारले यसअघि नै निर्णय गरेको थियो । मधेसी मोर्चाको विरोधका बाबजुद एमालेले मेची–महाकाली अभियानअन्तर्गत फागुन २३ गते सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम गर्दा मोर्चाको प्रहरीसँग झडप भएको थियो । सोही क्रममा प्रहरीले गोली चलाउँदा मोर्चाका पाँच कार्यकर्ताको मृत्यु भएको थियो । प्रहरीको गोली लागि सप्तरी मलेठका सन्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप