शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भारतबाट फर्किएका नेपाली सीमामा लुटिए

बिहीबार, ०४ जेठ २०७४, १७ : १४
बिहीबार, ०४ जेठ २०७४

कञ्चनपुर, जेठ ४– भारतमा मजदुरी गरेर घर फर्किँदै गरेका एक नेपाली सीमा क्षेत्रमा लुटिएका छन् । डडेलधुराको आलिताल गाउँपालिकास्थित भाडीका लालबहादुर बोहरा बनबासामा भारतीय सुरक्षाकर्मीबाटै लुटिएका हुन् ।

गत बैशाख २७ गते नेपाल फकिँदै गर्दा सीमा क्षेत्रमा चेकजाँचमा रहेका भारतीय सुरक्षाकर्मीले पाँच सय घुस मागेको तर नदिएपछि आफूसँग भएको ५० हजार भारतीय रुपयाँ भारतीय सुरक्षाकर्मीले लुटेको पीडित बोहराले जानकारी दिए ।

‘बनबासामा भारतीय पुलिसले घुस मागे, मैले दिन नमान्दा पर्स चेक गरौं भने, पर्स देखाउँनेवित्तिकै त्यहाँ राखिएको ५० हजार भारु लुटे’, उनले भने । पर्ससँगै आफूसँग भएको नागरिकता समेत भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको र फिर्ता पाउन नसकेको उनले बताए ।

सो घटनालगत्तै नेपालतर्फका नेपाली सुरक्षाकर्मीलाई जानकारी गराएको र त्यतिनै बेला सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले रकम फिर्ता गराइदिने भन्दै भारतीय भूभागतर्फ लगेको थिए । तर भारतीय भूभागमा लगेपछि पैसा आफूहरुबाट लुटिनै नसक्ने भन्दै कसैलाई भने ज्यान मार्ने धम्की दिएको उनले बताए ।

धम्कीमात्रै नभई रकम नलुटिएको कागज गराउँदै नागरिकता समेत राखेर आफूलाई त्यहाँबाट छाडेको उनले बताए ।

ज्यान लिने धम्कीसमेत दिएकाले उनले त्यसयता कतै उजुरी गरेका थिएनन् । तर पुन भारत फर्किनु पर्ने भएकाले जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन उनी पुगेपछि प्रशासनले सोधखोज गर्दा घटना खुल्न आएको बताइएको छ ।

रोजीरोटीका लागि भारत पुगेकाहरुले दुःख गरी कमाएर ल्याएको रकम भारतीय पक्षबाठट लुटिनु दुखद भएको भन्दै फिर्ता गराउन स्थानीय प्रशासनले पहल गर्नुपर्ने सरोकारवालाहरुले माग गरेका छन् ।

यसअघि पनि सुदूरपश्चिमका सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट नेपाली लुटिएको र दुख भोग्नुपरेको समाचारहरु सार्वजनिक हुँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप