जसले दलित समुदायबाट मेयरमा खाता खोले
बिहीबार, ०४ जेठ २०७४, १९ : ५५
प्रेम सुनार
गुल्मी, जेठ ४– बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको मेयर पदका विजेता देवकुमार नेपाली दलित समुदायबाट मेयरमा खाता खोल्ने पहिलो व्यक्ति बनेका छन् । उनी लगत्तै मेयरमा दोस्रो खाता खोल्ने व्यक्ति हुन्, सुर्खेतको लेकवेशी नगरपालिकामा विजयी मेयर गगनसिंह सुनार ।
त्यस्तै, दलितबाट पहिलो गाउँपालिका प्रमुख बनेका छन्, सल्यानको ढोराचौर गाउँपालिकाका चित्रबहादुर चलाउने ।
यता, वाग्लुङ्गको वुर्तिवाङ्ग–१ घरभएका नेपाली नेकपा एमालेबाट ढोरपाटन नगरपालिको मेयर विजयी भएका हुन् । युवा अवस्थादेखि वामपन्थी विचार राख्दै आएका नेपाली राजनीतिक क्षेत्रमा भन्दा पनि सामाजिक क्षेत्रमा त्यस भेगमा प्रतिष्ठा कमाएका व्यक्ति हुन् ।
त्यहाँका विभिन्न विद्यालयमा निजी श्रोतमा शिक्षकहरु आफैले तलव खुवाएर राखेका र कम्प्युटर कक्षा सञ्चालनका लागि समेत सहयोग गर्दै आएका नेपालीलाई ठुलो वाहुल्य रहेको त्यहाँको दलित समुदायले तपाई नै उठ्नु पर्छ भनेपछि आफू एमालेको तर्फबाट उमेदवारी दिएको बताउँछन् ।
उमेदवार हुनुअघि कुनैबेला गाउँ वा यसरी मेयर बनुला भन्ने सोँच्नु भएको थियो ? भन्ने प्रश्नमा उनले भने – ‘त्यस्तो तँ सोचेको थिइन्, सामाजिक क्षेत्रमा मात्रै काम गर्छु, कुनै पदका पछाडि लाग्दिन भनेको तर यसपाली यहाँका दलित समुदायले तपाई नै बन्नु पर्छ भनेर कर गरेपछि उठेको हुँ, जितियो पनि ।’
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुन शेरचनलाई सात सय भन्दा बढि मतको अन्तरले पराजित गरेर विजयी भएका उनले मेयरको तलव आफूले एक सुका पनि खर्च नगरेर त्यहाँको शैक्षिक विकासमा लगाउने घोषणा गरेका छन् ।
त्यस भेगमा दलित समुदायको ठुलो वाहुल्य रहेको र ती समुदायलाई शिक्षा स्वास्थ्य र समृद्धितर्फ लैजान आफुले विशेष योजना बनाउने उनी बताउँछन् । ढोरपाटन क्षेत्रको पर्यटन विकासमा र त्यहाँको हरेक टोलमा मोटरवाटा बनाउने र स्तरोन्नती गर्ने आफ्नो खास एजेण्डा रहेको उनको भनाइ छ ।
जनजाति वाहुल्य रह्यो अबका प्रमुखहरुमा
पञ्चायतकाल र वहुदलसम्म जुन जिल्लामा पनि गाउँका प्रमुखहरु बढी मात्रामा व्राम्हण क्षेत्री हुने गरेका थिए तर यसपालीको चुनावमा तीन प्रमुख दल र जनताले अन्य जाति भन्दा ठुलो संख्यामा जनजाति गाउँँ र नगरप्रमुखमा विजयी बनाएका छन् ।
अहिलेसम्म निर्वाचित मध्ये ८० जना भन्दा बढि जनजाति गाउँ र नगर प्रमुखमा विजयी भएका छन् । वाँकीमा व्राम्हण क्षेत्री हाराहारीमा छन भने ठकुरीको संख्या एक दर्जन करिव छ ।
दलित प्रमुख भने हालसम्म जम्मा तीन जना मात्रै छन् । वडा अध्यक्ष भने दलितबाट धेरै छन् र दलित महिलाहरुको प्रतिनिधित्व त गणतन्त्रको अनुपम उपहार नै बनेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण