शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ज्वालामुखी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षमाथि एमाले कार्यकर्ताको आक्रमण, धादिङ जिल्ला बन्द

आइतबार, ०७ जेठ २०७४, १० : २२
आइतबार, ०७ जेठ २०७४

धादिङ, ७ जेठ । धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि गएराति साङ्घातिक आक्रमण भएको विरोधमा नेविसङ्घ धादिङले आज जिल्ला बन्द गरेको छ ।

गाउँपालिकामा निर्वाचित भएपछि मैदीमा विजयोत्सव मनाएर हिजो साँझ खाना खाइरहेका बेला नेकपा एमालेका कार्यकर्ताले घेरा हालेर अन्धाधुन्ध आक्रमण गर्दा गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत स्थानीय दामोदर भट्ट, काँग्रेस जिल्ला सदस्य नरेन्द्र भट्ट, महासमिति सदस्य यमनाथ दनैलगायत काँग्रेसका एक दर्जनभन्दा कार्यकर्ता घाइते भएको विरोधमा नेविसङ्घ धादिङले अनिश्चितकालीन जिल्ला बन्द गरेको हो ।

बन्दका कारण जिल्लाभरका शैक्षिक संस्था बन्द छन् भने जिल्ला सदरमुकामका सबै उद्योगधन्दा, व्यापार व्यवसाय ठप्प भएको छ ।

पृथ्वी राजमार्गबाहेक अन्यत्र यातायात सञ्चालनमा आएका छैनन् । आइतबार १२ बजेसम्म दोषीलाई कारबाही नगरिए काँग्रेसले थप कार्यक्रम सार्वजनिक गर्ने नेपाली काँग्रेसका जिल्ला सभापति रमेश धमलाले बताए । बन्दमा अप्रिय घटना नहोस् भनी सदरमुकामका चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप