लालीबजारमा कला, जात र शरीरको राजनीति
सारांश
- चलचित्र 'लालीबजार'को प्रदर्शनमा रोक लागेपछि वादी समुदायको इतिहास, नथिया प्रथा र सामाजिक उत्पीडनबारे बहस सुरु भएको छ।
- अभियन्ताहरूले चलचित्रले ऐतिहासिक आघातलाई बजारसँग जोडेर नाफा कमाउन खोजेको र वादी समुदायको सामाजिक पुनर्स्थापनालाई कमजोर पारेको आरोप लगाएका छन्।
- चलचित्रले वादी समुदायले भोगेको जातीय विभेद, नागरिकताको राजनीति, शिक्षा र शरीरमाथिको नियन्त्रण जस्ता विषयलाई उजागर गरेको छ।
अभियन्ता डा. रोशनी वादीको रिट निवेदनका आधारमा चलचित्र ‘लालीबजार’को सार्वजनिक प्रदर्शनमा उच्च अदालत पाटनले रोक लगाएपछि यस चलचित्रमा पस्किएको अन्तर्वस्तुलाई लिएर नेपाली सार्वजनिक वृत्तमा विविध चर्चा–परिचर्चा सुरु भयो। निर्देशक एम. थापाले निर्देशन गरेको र स्वस्तिमा खड्काले ‘मधुवाला’ नामको मुख्य पात्रमार्फत अभिनय गरेको ‘लालीबजार’ले नेपालको वादी समुदायमा कुनै बेला अभ्यास हुने ‘नथिया प्रथा’सँग जोडेर कथा भन्ने जमर्को गरेको छ।
चलचित्रमा निहित अन्तर्वस्तुकै कारण कानुनी अड्चन झेल्न बाध्य भएपछि संविधानप्रदत्त सिर्जनात्मक स्वतन्त्रताकै हनन भएको मान्दै चलचित्रकर्मीहरूले माइतीघरमा सामूहिक प्रदर्शन पनि गरेका थिए। अर्कोतर्फ, वादी समुदायका अभियन्ताहरूले आफूहरूले भोगेको दर्दनाक विगतको चलचित्रमा पुनरुत्पादन भएको र ऐतिहासिक आघातहरूलाई उत्पीडितहरूको भावनाविपरीत बजारसँग जोडेर नाफाको खेलमा परिणत गरेको आरोप लगाइरहेका छन्।
अभियन्ताहरूका अनुसार, लालीबजार चलचित्रले वादी समुदायले दशकौँदेखि सङ्घर्ष गरेर प्राप्त गरेको सामाजिक पुनर्स्थापनालाई कमजोर बनाएको छ र ऐतिहासिक आघातलाई यसले दोहोर्याएको छ। साथै, यसले सम्मानपूर्वक बाँच्ने अधिकारको हनन गरेको उनीहरूको तर्क छ। यसैबीच लालीबजारसँग जोडिएको विवाद चुलिएर सर्वोच्च अदालत पुगेपछि चलचित्रसँग जोडिएको विवादलाई सामान्य कानुनी प्रक्रियाका रूपमा मात्र नहेरी यसले सिर्जना गरेका तरङ्गहरूलाई गम्भीर सवालका रूपमा मनन गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
यस आलेखमा मूल रूपमा नारीवादी मानवशास्त्रको दृष्टिविन्दुबाट वादी समुदायले भोगेको ऐतिहासिक अनुभव, नथिया संस्कृतिसँग जोडिएको आत्मग्लानिपूर्ण इतिहास, विभेदपूर्ण सामूहिक स्मृतिहरू र वर्तमान अवस्थामा समेत भोग्नुपर्ने सामाजिक बहिष्करणहरूको कसीमा ‘लालीबजार’ चलचित्रमाथि चर्चा गर्ने जमर्को गरिएको छ।

- लालीबजार हेर्नुअघिको मेरो दृष्टिकोण
सर्वप्रथम, गैरवादी समुदायको पुरुष निर्देशकले निर्देशन गरेको चलचित्रमा गैरवादी समुदायको एक चलचित्रकर्मी तथा पुरुष लेखकले नारीवादी मानवशास्त्रको अवधारणात्मक दृष्टिकोणमा घटना तथा प्रवृत्तिको विश्लेषण गर्नु नै यस लेखको निहित पूर्वाग्रह हो। त्यसैले मेरो अवधारणागत अवस्थिति अर्थात् ‘पोजिसनालिटी’ स्पष्ट पार्न चाहन्छु।
‘लालीबजार’ हेर्नुअघि मानवशास्त्रको विद्यार्थीका नाताले वादी समुदायले लामो समयदेखि प्रतिनिधित्वको सङ्कट भोग्दै आएका छन् भन्ने यथार्थसँग म थोरबहुत जानकार नै थिएँ। सन् २००७ मा भएको वादी आन्दोलन र २००९ को सरकारी निर्णयद्वारा नथिया प्रथा औपचारिक रूपमा खारेज गरिए पनि वादी समुदायप्रति आम जनमानसले बनाएको सामाजिक धारणामा व्यापक फेरबदल आइसकेको छैन भन्ने मेरो बुझाइ रहेको छ।
मेरो दृष्टिमा ‘लालीबजार’ मात्र होइन, अन्य कृति र चलचित्रहरूमा समेत वादीहरूको पहिचानलाई यौनश्रमको आँखाबाट मात्र र जातीय अपमानको दृष्टिकोणबाट मात्र पटक–पटक देखाइएको छ। भनिन्छ, जबसम्म खरायोहरूको आफ्नै इतिहासकार हुँदैन, तबसम्म सिंहहरूको आँखाबाट लेखिएको खरायोको इतिहासलाई नै आफ्नै कथा मान्नुपर्ने हुन्छ खरायोहरूले। अर्थात्, शक्तिशालीहरूले निर्माण गरेको संरचनाबाट आफ्नै इतिहास नियाल्न बाध्य बनाइन्छ सीमान्तकृतहरूलाई।
वादी समुदायले आफ्नो कथा आफैँ भन्न सक्ने तहको सशक्तीकरण वा इतिहासकारहरू जन्माउन आधुनिक लोकतान्त्रिक राज्य कहाँनेर चुक्यो भन्ने सवाल पनि उत्तिकै पेचिलो छ। सामाजिक सञ्जालहरूमा अभियन्ताहरूको आवाज सुन्दा मलाई महसुस भइरहेको थियो- वादीहरूको समग्र पहिचानलाई निषेध गरेर उनीहरूको शरीरलाई यौन श्रमस्थलका रूपमा मात्र चित्रित गर्ने चलचित्रलाई प्रतिरोध र तिरस्कार गर्नु जायज नै हो।
यस सवालमा वादी अधिकारकर्मीहरूले केवल ‘देखिने अधिकार’ मात्र होइन, ‘कसरी देखिने’ भन्ने अधिकारको माग गरेका हुन्। मेरो बुझाइमा प्रतिनिधित्वको बहानामा यस प्रकारका क्रियाकलापहरूले महिलाहरूको दबाइएका शरीरहरूको पीडालाई सांस्कृतिक उत्पादनको नाममा वैधता दिएर कथात्मक पुँजीका रूपमा विकास गरिन्छ।
यस दृष्टिकोणमा फ्रान्सेली समाजशास्त्री पियरे बुर्दियुको ‘प्रतिकात्मक हिंसा’ को अवधारणा अत्यन्त सान्दर्भिक हुन्छ। जसअनुसार, पितृसत्ताले महिलाको शरीरमाथि प्रभुत्व केवल आर्थिक वा भौतिक शक्तिबाट मात्र होइन कि सांस्कृतिक प्रतिनिधित्व र प्रतिकात्मक प्रणालीमार्फत पनि पुनरुत्पादन गर्छ। जब कुनै समुदायलाई बारम्बार एकाङ्की तरिकाले उनीहरूले भोगेको कलङ्कित इतिहासको पाटोबाट मात्र चित्रित गरिन्छ, त्यसप्रकारको दृश्यकर्म आफैँमा हिंसा गर्ने संरचनाका रूपमा प्रकट हुन्छ।
प्रतिकात्मक हिंसा केवल उत्पीडित समुदायको गलत प्रतिनिधित्वले मात्र होइन, यसका अलावा दोहोरिने दृश्यतामार्फत पनि प्रकट भइरहेको हुन्छ। विभिन्न प्रकारका कलाकर्ममार्फत अभ्यासमा सीमान्तकृत महिलाहरूले भोगेको जटिलतालाई अस्वीकार गरेर उनीहरूसँग जोडिएको कलङ्कित इतिहासलाई मात्र पीडाका रूपमा निरन्तर पुनर्स्थापित गरिएको छ।
चलचित्र हेर्दै नहेरी मलाई लागिरह्यो- वादी समुदायले पछिल्लो दशकमा आर्जन गरेको शिक्षा, श्रमको विविधीकरण, सामाजिक र राजनीतिक पहिचानका लागि गरेको दशकौँ लामो सङ्घर्षलाई छायामा पारिएको छ। नारीवादी मानवशास्त्रको आलोचनात्मक दृष्टिकोणमा उत्पीडित महिलाहरूको पीडा प्रायः प्रभुत्वशाली दर्शकहरूको उपभोगका लागि सौन्दर्यकृत गरिन्छ।
शक्तिशाली र पितृसत्ताले निर्माण गरेको दृश्य संस्कृतिमा सीमान्तकृत महिलाहरूको प्रतिनिधित्व कहिल्यै तटस्थ हुँदैन। कारण, क्यामरा आफैँले पुरुषको द्वेषपूर्ण हेराइलाई प्रतिनिधित्व गर्छ र महिलाको शरीरमाथि निर्देशकीय दृष्टि गहिरो रूपले गाँसिएर आएको हुन्छ।
- लालीबजार हेरिसकेपछिको दृष्टिकोण
प्रथम दृष्टिमा अवलोकन गर्दा चलचित्र ‘लालीबजार’ले वादी समुदायले भोगेको नथियाजस्तो अपमानित संस्कारलाई मात्र एकाङ्की तरिकाले उजागर गर्दैन, बरु यस चलचित्रले जातीय रूपमा सीमान्तकृत र यौन कलङ्कको इतिहास बनेका महिला शरीरहरू, उनीहरूले भोगेका सामूहिक स्मृतिहरू र जातीय उत्पीडनसँग जोडिएका संरचनात्मक हिंसा र गरिबी तथा अभावसँग जोडिएका सामाजिक दुःखान्तका सवालहरूलाई पनि उजागर गर्छ।
यस चलचित्रमा मधुवालाको शरीर निरन्तर शोषणको चक्रमा पिल्सिएर जन्मिएको शरीरका रूपमा उभ्याइएको छ, जहाँ पितृसत्ता आफ्नो आत्मकेन्द्रित सन्तुष्टिका लागि मधुवालाहरूको शरीरलाई यौन श्रमस्थलमा परिणत गर्ने धन्दामा निरन्तर लागिरहेको छ। मधुवालाको आमाको पुस्तालाई यौनदासी बनाएर नअघाएको अतृप्त पितृसत्ता उनी र उनकी छोरीको पुस्ताको समेत शरीरलाई नथिया बन्धकीमा पारेर यौन शोषणमूलक सांस्कृतिक सम्झौतामार्फत पुस्तौँपुस्ता शोषण गरिरहन चाहन्छ।
नारीवादी मानवशास्त्रको दृष्टिकोणमा यस चलचित्रमा देखाइएका दृश्यहरू मुख्य गरेर पुरुष दर्शकहरूको यौन सन्तुष्टि खपतका लागि सिर्जना गरिएको भान कहीँकतै महसुस हुन्छ भने यस चलचित्रलाई वादी अधिकारकर्मीहरूको तर्कजस्तै ऐतिहासिक आघातको पुनरुत्पादन गर्ने दस्तावेजका रूपमा प्रस्तुत गरिनु शतप्रतिशत जायज नै हुन्छ।
एकाध दृश्यहरूमा क्यामराले मधुवालाको शरीरमाथि सोझो हस्तक्षेप गरेको महसुस गरिए तापनि चलचित्रका अधिकांश दृश्यहरूमा मधुवालाले भोगेको सामाजिक दुःखान्तहरूको सवालमा निर्देशकीय दृष्टिमा क्यामरामार्फत उत्पीडनको साक्षी बन्ने अधिकतम कोसिस गरिएको देखिन्छ।
लालीबजारमा नथियाजस्ता सामाजिक कुप्रथाका कारण मधुवालाजस्ता पात्रहरूले भोग्नुपरेको ऐतिहासिक विभेदप्रति दर्शकहरूमा समानुभूति भाव प्रकट भएर उनको सङ्घर्षमा दर्शकदृष्टिले समेत एकाकार गर्छ भने चलचित्रलाई ऐतिहासिक आघातको पुनरुत्पादन मात्र गरिएको आरोपहरूबाट छुटकारा दिनुपर्ने हुन्छ।

चलचित्रको ‘प्रिमाइस’ अर्थात् मूल आशयले नथियाजस्ता कुप्रथालाई सामन्ती सांस्कृतिक पितृसत्ताको सुखानुभूतिका लागि टिकाइराख्नुपर्छ भन्ने अभिव्यक्ति कहीँकतै प्रवाह गरिएको भान कसैको दर्शकदृष्टिमा महसुस हुन्छ भने यस चलचित्रलाई ‘उत्पीडित समुदायको आँसु बजारको रङ्गीन दुनियाँमा लगेर बेचेको’ आरोप लगाउनु पनि जायज नै हुन्छ।
यस सवालमा वादी समुदायका अभियन्ताहरूले जिकिर गरेजस्तै ऐतिहासिक आघातका बारेमा कुनै पनि लेखकले उपन्यास नै नलेखिदिएर, चलचित्रकर्मीले चलचित्र नै नबनाइदिएर वा सार्वजनिक चासो नै प्रकट नगरिदिएर इतिहासमा भोगेका आघातहरूमा मलम लाग्छ भन्ने अपेक्षा हो भने सर्जकहरूले यस प्रकारका आवाजहरूप्रति नैतिक रूपले संवेदनशील हुनु पनि उत्तिकै जरुरी हुन्छ।
तर, कुनै पनि देशमा एउटा समुदायका मानिसहरूले भोगेको उत्पीडन अर्को समुदायका मानिसहरूले बोल्नै नहुने, आफ्नै समाजमा देखेको/भोगेको ऐतिहासिक कलङ्कमा चुप लागेर बस्नु नै कल्याण हो भन्ने सन्देश प्रवाह गर्नु पनि खुला समाजमा जायज तर्क नहुन सक्छ। यस चलचित्रलाई केवल ऐतिहासिक हेयभावको पुनरुत्पादन गर्न उद्यत सामाजिक सांस्कृतिक पाठका रूपमा मात्र नहेरीकन, ‘लालीबजार’लाई पितृसत्ता, कुसंस्कृति र स्थानीय शक्ति सम्बन्धहरूको गठजोडबाट सिर्जना भएको शोषणका चक्रहरूलाई वैधानिकीकरण गर्न तल्लीन संरचनात्मक शक्तिसम्बन्धहरू विरुद्धको प्रतिरोधी आवाजका रूपमा पनि हेरिनुपर्छ।
तर, यस चलचित्रमा चलचित्रकर्मीहरूले उत्पीडित समुदायको कथाभन्दा उत्पीडन सहन बाध्य नभएको समुदायको कथाजस्तै गरेर बराबरीको चस्मा लगाएर हेरिएको छ वा समतामूलक भाव प्रकट गरेर अतिरिक्त संवेदनशीलता पनि देखाइएको छ भन्ने सवालहरूमा चर्चा गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
सदियौँसम्म एउटा समुदायले भोगेको उत्पीडनका बारेमा बोल्न/सुन्न, केही गर्न पाइन्न भन्ने शैलीमा इतिहासलाई छोपेर राख्न सकिने अवस्था पनि नहुन सक्छ। तसर्थ, इतिहासको घाउलाई लुकाएरभन्दा पनि इतिहासको पीडालाई सार्वजनिक गरेर सदियौँ लामो विभेद र उत्पीडन सहन बाध्य बनाउने राज्यसत्ता र सामन्ती संस्कृतिमाथि प्रतिरोधी आवाज चर्काइरहन भने उत्तिकै जरुरी हुन्छ।
आफूमाथि भएको ऐतिहासिक उत्पीडनलाई 'सक्छौ माफ गर तर कहिल्यै नबिर्सने' नीति अवलम्बन गर्दै हरेक उत्पीडित वर्गले शोषण र विभेदको हिसाबकिताब निरन्तर खोजिरहनु नै ऐतिहासिक आघातलाई कम गर्ने न्यायोचित उपाय हुन सक्छ।
- जन्मदर्ताका लागि सङ्घर्ष
चलचित्र ‘लालीबजार’मा देखाइएको सबैभन्दा शक्तिशाली दृश्य मधुवालाले आफ्नी छोरी (प्रशंसा सुवेदी) को जन्मदर्ता गर्नका लागि गरेको सङ्घर्ष हो। चलचित्रलाई सोलोडोलो रूपमै निषेध गरिनुपर्छ भन्ने आवाजहरू मुखरित हुँदै जाँदा लालीबजारले उठाएका गम्भीर संरचनागत हिंसाका सवालहरू पनि ओझेलमा परेका छन्।
सामान्यतः नेपालमा जन्मिसकेपछि सहज तरिकाले प्राप्त गर्नुपर्ने कानुनी प्रमाण, उत्पीडन भोग्न बाध्य शक्तिहीनहरूका लागि जन्मदर्ता आफैँमा कसरी संरचनात्मक तगारो बन्न पुग्छ भन्ने पीडादायी दृश्यहरू मधुवालाले समाजको हरेक पुरुषलाई आफ्नो छोरीको पिता बन्न गरेको गुहारबाटै छताछुल्ल भएको छ।
लालीबजारले स्थापित गरेको सामन्ती र जातीय समाजमा कोही पनि मधुवालाको छोरीको पिता बन्न तयार हुँदैनन्। फलस्वरुप, ती बालिका केवल सामाजिक रूपमा मात्र कानुनी हैसियत नभएको बन्दिनन्, उल्टै राज्य र कर्मचारीतन्त्रको आँखामा नागरिक नै बन्न नसकेर व्यवस्थाबाहिर धकेलिएको एक शून्य अस्तित्व बन्न पुग्छिन्।
यस्ता दृश्यहरूमार्फत चलचित्र ‘लालीबजार’ले पञ्चायतकालीन सामन्ती राज्य व्यवस्थाभित्र विद्यमान जर्जर उत्पीडनको उजागर गर्छ। यस परिप्रेक्ष्यमा सीमान्तीकरण केवल भौतिक र शारीरिक हिंसा मात्र होइन, पहिचान र कानुनी अस्तित्व प्रदान गर्न इन्कार गर्ने कर्मचारीतन्त्र र राज्य व्यवस्थाले सिर्जना गरेको बर्बर बहिष्करणका रूपमा देखापरेको छ। नारीवादी मानवशास्त्रको दृष्टिकोणमा कुनै पनि महिलाको शरीर एक जैविक अस्तित्व मात्र होइन।
यस चलचित्रमा मधुवालाको पात्र निश्चित सामाजिक संरचनामा शक्ति, इतिहास र सांस्कृतिक मान्यताहरूको चुङ्गलले थिचिएको एक द्रवित अस्तित्व पनि हो। मधुवालाले आफ्नो दबिएको अस्तित्वलाई रूपान्तरण गर्न कुनै ठोस राजनीतिक शक्ति वा सङ्गठनको सहयोगबिना पनि आफूमाथि लादिएको संरचनात्मक शक्ति र सांस्कृतिक मूल्यमान्यताहरूविरुद्ध प्रतिरोधी चेतनाको विकास गर्ने अवस्थाको सिर्जना हुनु नै जेम्स स्कटको ‘मोरल इकोनोमिक रिभोल्ट’ को अवधारणाजस्तै मधुवालाको एजेन्सीले गरेको विद्रोह हो।
लालीबजारमा मधुवाला कुनै परिवर्तनकामी शक्तिको आडमा ठुलै क्रान्तिको बिगुल फुक्दिनन्, तर उनको चाहनामा अवरोध सिर्जना गर्ने शक्ति संरचना र सामाजिक पर्खालहरूविरुद्ध प्रतिरोधी आवाज बुलन्द बनाउँदै लैजान्छिन्। मधुवालाले बाँचेको श्रमस्थलमा कौमार्यको लिलामी गर्ने नथिया प्रणाली केवल सांस्कृतिक रूपमा शोषणको संस्था मात्र होइन, बरु महिला शरीरमाथि पितृसत्ताले थोपरेको त्यो हदको अमानवीय सांस्कृतिक अभ्यास हो जसले सदियौँअघिदेखिको सामन्ती संस्कारको पुनरुत्पादनमा भूमिका खेलिरहेको थियो।
तसर्थ, मधुवालाले लालीबजारमा गरेको सङ्घर्ष राजा साहेबजस्ता पात्रहरूसँगको असमान सांस्कृतिक सम्बन्धबाट निस्कने प्रयास मात्र होइन, उनको शरीरलाई यौन श्रमस्थलको रूपमा खुम्च्याउने जातीय र सामन्ती संरचनालाई प्रतिरोध गर्दै आत्मस्वाभिमानी यात्रामा लैजाने पहलकदमी पनि हो।
चलचित्र लालीबजारमा मधुवालाले आफ्नो प्रगतिशील प्रेमीको मूल्यमा टेकेर गरेको एकल प्रतिरोधले राजनीतिक अर्थ मात्र राख्दैन, भावनात्मक र मानसिक अर्थ पनि राख्छ। यस प्रतिरोधलाई शोषणमूलक चक्रहरूबाट बाहिर निस्किएर मधुवालाले सुन्दर भविष्यको कल्पना गर्दै वादी जाति र श्रमसँग जोडिएको पहिचानलाई वादी समाजको नयाँ पुस्ताले पुनर्परिभाषित गर्न गरेको पहलसँग पनि जोडेर हेर्नुपर्छ।

- सामाजिक मृत्यु र झुटो बलात्कारको हतियार
जब मधुवालाकी छोरीलाई पितृत्वको वैधानिकता आवश्यक पर्छ, तब मधुवालाको दाइ पात्रले उनकी छोरीलाई आफ्नो नाम दिन त तयार हुन्छ तर सार्वजनिक रूपमा आफूलाई झुटो बलात्कारीको आरोप लगाउन प्रस्ताव राख्छ। यो घटना नेपाली समाजमा विद्यमान संरचनागत हिंसालाई उजागर गर्ने चलचित्र लालीबजारमा देखाइएको सबैभन्दा पीडादायी दृश्य हो।
एकातर्फबाट हेर्दा लालीबजारभित्रको यो दृश्य एकदम अनौठो र अस्वाभाविक लाग्छ, तर अर्कोतर्फबाट हेर्दा एउटी वादी महिलाको बच्चाको जन्मदर्ता गर्न पाउने अधिकारका लागि पितृत्वको वैधानिकता ग्रहण गर्न आफ्नै दाजुबाट बहिनी बलात्कृत भएको जस्तो झुटो हतियारको सहारा लिनुपर्नेजस्ता हीन भावको कल्पना गर्न राज्यसत्ताले दाइ पात्रलाई विवश बनाएको पनि देखिन्छ।
यो उत्पीडनको चरम अवस्था हो, जहाँ उत्पीडितहरू संरचनाको भारले थिचिएर विवेक गुमाउन पुग्छन्। लालीबजारमा जस्तै जब कुनै मानिस वा समुदायलाई मानवअधिकार र नागरिक हकको परिधिबाट बहिष्कृत गरिन्छ, तब त्यो समुदाय र मानिस जैविक रूपमा जीवित भए पनि सामाजिक र कानुनी रूपमा समाजशास्त्री ओरल्यान्डो पिटरसनले आफ्नो पुस्तक ‘दासता र मृत्यु’ मा लेखेजस्तै ‘सामाजिक रूपमा मृत’ हुन पुग्छन्।
मधुवालाको दाइ पात्रले उनको भान्जीको जन्मदर्ताका लागि राखेको यो आत्मघाती प्रस्ताव बच्चालाई सामाजिक मृत्युबाट बचाउने अथक प्रयास हो। संरचनात्मक हिंसा र बहिष्करणको रापले पोलेपछि गरिब तथा निमुखाहरूले आत्मग्लानि र आत्म–अपमानपूर्ण रणनीतिहरूमार्फत नागरिक जीवन सुनिश्चित पार्न कुन हदको सोचाइ र सामाजिक अभ्यासहरूको पालना गर्न बाध्य बनाइन्छ भन्ने दृश्य चरित्र अभिनेता गोविन्द सुनारको सशक्त अभिनयमार्फत लालीबजारमा उजागर भएको छ।
मधुवालाको दाइले राखेको प्रस्तावलाई अपराधको सामान्यीकरण गर्न खोजेको वा परिस्थितिको अपराधीकरणजस्ता अवधारणाहरूबाट मात्र नहेरी, यस प्रस्तावलाई संरचनात्मक हिंसाले जन्माएको गहिरो पीडाका रूपमा मनन गर्नुपर्छ, जहाँ आफ्नो परिवारभित्रै अपमान, लाज र हिंसाको पुनर्वितरण गर्नुपर्ने अवस्था छ।
भान्जीलाई नागरिक अधिकार दिलाउन जब आफ्नै मामाले आफैँलाई झुटो अपराधी घोषित गर्नुपर्ने अवस्थाको सिर्जना हुन्छ, त्यहाँ नेपाली कानुन र सामाजिक संरचना सबै ध्वस्त भएको देखिन्छ। अब यहाँ सवाल के हो भने, यस्तो गम्भीर संरचनागत प्रश्न उठाएको लालीबजारकै प्रदर्शन निषेध गर्नु न्यायोचित हुन्थ्यो वा यसमा देखिएका तथ्यपरक गल्तीहरूलाई सम्बोधन गर्न लगाउनु न्यायोचित हुन्थ्यो?
त्यस्तै, मधुवाला पात्रलाई बलियो बनाइरहँदा उनकी छोरीको पात्र जो नयाँ पुस्ताको प्रतिनिधि पात्र पनि हुन्, उनको भूमिकालाई किन त्यति कमजोर बनाइयो जस्ता प्रश्नहरूको उठान र त्यसको जिज्ञासा खोज्ने रुझान कहीँकतैबाट भएको देखिँदैन।
- कक्षाकोठामा जातीय विभेदको राजनीति
लालीबजारमा मधुवाला यावत् प्रकारका सामाजिक अवरोध र राजा साहेब (रवीन्द्रसिंह बानियाँ) जस्ता सामन्तीहरूको डरधम्की र रवाफका बाबजुद पनि अन्ततः आफ्नो छोरीलाई विद्यालयमा भर्ना गर्न सफल हुन्छिन्। तर अनेक प्रकारका कानुनी र सामाजिक हतकन्डा पार गरेर विद्यालय पुगेकी छोरी अरूसरह समानताको हक प्रयोग गर्नबाट वञ्चित हुन्छिन् र भुइँमा बस्न बाध्य हुन्छिन्।
दलित समुदायलाई लामो समय कक्षाकोठाबाहिर राखेर संरचनात्मक विभेद गरेको हाम्रो समाजले वादी समुदायमाथि गरिएको विभेदलाई सामाजिक र प्रतीकात्मक हिंसाका रूपमा उजागर गरेको छ।

मधुवालाकी छोरी कक्षाको भुइँमा बसेको दृश्यले जातीय भेदभाव भौतिक हिंसामा मात्र नभई कक्षाकोठाजस्तो सूक्ष्म सामाजिक स्थानहरूमा पनि लामो समयसम्म अभ्यास भइरहेको यथार्थलाई यस चलचित्रले उजागर गरेको छ। नारीवादी मानवशास्त्रले यस प्रकारको स्थापित र संस्थागत अनुभवलाई समाजमा हीनताको सूक्ष्म रूपमा पुनरुत्पादन गर्ने अभ्यास मान्दछ।
यस प्रकारका विभेदपूर्ण अभ्यासहरूमा शक्तिहीनहरूको निमुखा शरीरलाई बारम्बार भौतिक रूपमा अरूभन्दा होचो स्थानमा राखेर उनीहरूलाई सामाजिक र मानसिक रूपमा 'आफू अरूभन्दा तल्लो र अपवित्र भएको' कुरा आन्तरिकीकरण गर्न बाध्य बनाइन्छ। सुरुमा भौतिक रूपमा मात्र देखाइने यो व्यवहार अन्ततोगत्वा समाजका संरचनाहरूले सिर्जना गरेको असमानता र जातीय विभेदको राजनीतिलाई चुपचाप सहन बाध्य पारेर क्रमशः सामान्यीकरण गर्दै लगिन्छ।
तसर्थ, हिंसा कहिलेकाहीँ हुने नाटकीय घटना मात्र होइन। समाजमा हरेक समय विभिन्न रूप र शैलीमा हिंसाका हतियारहरू शक्तिशालीहरूले उत्पीडितहरूविरुद्ध प्रयोग गरिरहेकै हुन्छन् भन्ने दृष्टान्त लालीबजारमा उजागर गरिएको छ।
यद्यपि, चलचित्र लालीबजारको कथा मधुवालाको छोरीले सहनुपरेको यो अवस्थालाई चुपचाप स्वीकार गर्ने विन्दुमै टुङ्गिँदैन। मधुवाला आफू र आफ्नो छोरीले भोगेको संरचनात्मक हिंसालाई चुनौती दिँदै जातीय पुनरुत्पादन र सामन्ती सम्झौताको डोरोलाई चुँडालेर छोरी र आफ्ना लागि वैकल्पिक भविष्यको कल्पना गर्ने तहमा पुग्छिन्।
‘लालीबजार’ आख्यानको स्वतन्त्रताको प्रयोग गर्दा यथार्थ र वस्तुनिष्ठताको कसीमा कहीँकतै चुकेको पो हो कि भन्ने बहसको उठान हुन सकेको भए वादी समुदायलाई नजिकबाट नचिन्ने, नबुझ्ने जमातहरूको समेत वादी समाजसँग जोडिएको संरचनात्मक विभेद र उत्पीडनको राजनीतिलाई मिहिन ढङ्गले मनन गर्ने अवस्थाको सिर्जना हुन सक्थ्यो।
तर, लालीबजार चलचित्रसँग जोडिएको बहस अभिव्यक्तिको स्वतन्त्रता र निषेधजस्ता गणितीय पाटाहरूमा मात्र रुमल्लिन पुगेर वादी समुदाय र मधुवालाजस्ता पात्रहरूले आत्मस्वाभिमान र परिवर्तनका लागि लडेको कथाको सामाजिक सांस्कृतिक महत्त्वका बारेमा घनीभूत सार्वजनिक बहस नै हुन सकेन।
अन्त्यमा, लालीबजारमा यावत् कठिनाइ र सङ्घर्षका बाबजुद मधुवाला सामन्ती दायित्व र नथियाजस्तो सांस्कृतिक बाचाबाट आफूलाई उम्काउन सफल हुन्छिन्। यस घटनाले उत्पीडनमा बाँचेको समुदायलाई परम्पराले थोपरेको भार र सामन्ती शक्ति सम्बन्धबाट प्रतिरोधी चेतनाको विकास गरेर बाहिर निस्कन सम्भव छ भन्ने आशा देखाएको छ।
लालीबजारले पस्किएको अन्तर्वस्तुमार्फत कुनै पनि सांस्कृतिक सम्झौतालाई सामन्ती शक्ति सम्बन्धले टेको लगाइरहँदा पनि विद्रोहको आवाज सम्भव छ भन्ने सशक्त भाष्य समाजमा छरेको देखिन्छ। यस चलचित्रलाई ऐतिहासिक आघातको जगमा टेकेर नाफा कमाउन मात्र बनाएको चलचित्र वा यौनश्रम र जातीय मुक्तिको रोमान्टिक कल्पनामा सीमित गरिएको एउटा आख्यानका रूपमा मात्र हेर्नु जायज हुँदैन।
लालीबजारले वादी समुदायले इतिहासको निश्चित कालखण्डमा भोगेको जातीय उत्पीडन, नागरिकताको राजनीति, शिक्षा प्राप्तिको अधिकार, शरीरमाथिको नियन्त्रण र आत्मस्वाभिमानतर्फको यात्राको एक प्रस्थान विन्दुका रूपमा आफूलाई उजागर गरेको छ।
अवश्य पनि यस चलचित्रले उठाएका संरचनात्मक हिंसाका विविध स्वरूपहरू वर्तमान अवस्थामा पनि हाम्रो समाजमा नामेट भइसकेका छैनन्। यदि चलचित्रले देखाएका हिंसाका स्वरूपहरू समाजमा बारम्बार पुनरुत्पादन भइरहेका छन् भने चलचित्रले अभिव्यक्ति स्वतन्त्रतामार्फत संरचनात्मक हिंसाको विरुद्धमा आवाज उठाएको जस दिनु नै पर्ने हुन्छ।
तर, कसैले लालीबजारमा देखाएजस्तो सामाजिक, सांस्कृतिक र मानसिक हिंसाबाट हाम्रो समाज पूर्ण रूपमा मुक्त भइसकेको प्रमाणित गर्छ भने लालीबजार बनाउने सम्पूर्ण टोलीले नेपाली समाजको गलत चित्रण गरेबापत आममाफी माग्नुपर्छ। संरचनात्मक हिंसा, सामन्ती शक्तिसम्बन्ध र नथियाजस्ता असमान सांस्कृतिक सम्बन्धहरूको रूप परिवर्तन भए तापनि विभिन्न परिवेशमा उत्पीडन र शोषणका नयाँ शैलीहरू पनि सिर्जना भइ नै रहेका छन्।
यस अवस्थामा चलचित्रकर्मीहरूले सीमान्तकृत र ऐतिहासिक आघात सहन बाध्य उत्पीडितहरूको सवालमा संवेदनशीलता र समानुभूतिको दृष्टिकोणले कथा भन्न सक्ने शिल्पको विकास गरेर आफूलाई अतिरिक्त जिम्मेवार बनाउनु पर्ने आजको आवश्यकता हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण