शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्डले सोमबार देलान् पदबाट राजीनामा ?

आइतबार, ०७ जेठ २०७४, १७ : १९
आइतबार, ०७ जेठ २०७४

काठमाडौ, जेठ ७ –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेससँगको पूर्व सहमतिअनुसार भोलि पदबाट राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री निकट श्रोतका प्रधानमन्त्री प्रचण्डले भोलि बस्ने संसद बैठकमा सम्बोधन गरेर पदबाट राजिनामा मनस्थिति बनाएका हुन् । राजीनामाका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी भइरहेको र देउवाले केहि दिन पर्खिन आग्रह गरेको खण्डमा भने उनको राजीनामा केहि पर सर्नेछ । संसद बैठक सोमबारका लागि बोलाइएको छ । गत बर्ष साउन १९ गते दोस्रो पटक प्रधानमन्त्रीका रुपमा निर्वाचित दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच स्थानीय तहको निर्वाचनपछि देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भद्र सहमति भएको थियो । त्यहि सहमति अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको र अर्को चरणका लागि जेठ ३१ का लागि समेत मिति तोकिसकिएकाले सहमतिको कार्यान्वयन गर्दै प्रचण्डले राजिनामा दिन दिने तयारीमा जुटेका हुन् । पछिल्लो पटक झन्डै साढे नौ महिना सरकार चलाएका प्रचण्ड कार्यकालमा २० बर्षपछि स्थानीय तहको निर्वाचन गर्नसक्नु नै सबैभन्दा ठुलो उपलव्धिका रुपमा हेरिएको छ । त्यस्तै प्रचण्ड कार्यकालमै मुलुककै प्रतिष्ठाको विषय बनेको काठमाडौ तराई फास्टट्रयाक नेपाल आफैले बनाउने योजना अनुसार नेपाली सेनालाई जिम्मा दिइसकेको छ । प्रचण्ड नेतृत्वको सरकारका पालामा धेरै सकारात्मक काम भएपनि केही काम र निर्णय भने विवादरहित बन्न सकेनन् । आइजीपी नियुक्ति, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव दर्ता, प्रतिपक्षीको सहमतिविनै संविधान संशोधनको प्रयास लगायतका विषय भने प्रचण्ड कार्यकालका लागि आलोचनाका विषय बन्न पुगे । यद्यपी मधेस केन्द्रीत दलहरुको दवाव र प्रतिपक्ष एमालेको असहयोगकाबीच प्रधानमन्त्री दहालको साढे नौ महिने कार्यकालमा अन्य धेरै सकारात्मक कामहरु नभएका भने होइनन् । मुलुकबाट लोडसेडिङको अन्त्य गर्नु प्रचण्ड नेतृत्व सरकारको अर्को महत्वपुर्ण उपलव्धिका रुपमा रहेको छ । प्रचण्डले आफ्नो कार्यकालमा भएगरेका यिनै कार्यप्रगति संसदमा जानकारी गराउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप