डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
सारांश
- करिब ४ हजार वर्ष पुरानो कङ्कालको नयाँ डीएनए विश्लेषणले त्यो पुरुष नभई महिला भएको पुष्टि गरेको छ।
- यसले प्राचीन बेलायती समाजमा महिलाको भूमिका र प्रतिष्ठाबारे दुई शताब्दीदेखि रहँदै आएको धारणामाथि पुनर्विचार गर्नुपर्ने भएको छ।
- सो कङ्काललाई सुनको काममा विशेष दक्ष महिला धातु कारीगरका रूपमा समाजमा उच्च सम्मान प्राप्त गरेकी व्यक्ति ठानिएको छ।
लन्डन । बेलायतमा करिब ४ हजार वर्षअघि दफन गरिएको एउटा कङ्काललाई लामो समयसम्म प्रतिष्ठित पुरुष धातु कालिगढ तथा ‘अप्टन लभेल शामन’का नाममा चिनिँदै आएको थियो।
तर, नयाँ डीएनए विश्लेषणले उक्त कङ्काल पुरुषको नभएर महिलाको भएको पुष्टि गरेको छ। यसले प्राचीन बेलायती समाजबारे दुई शताब्दीदेखि रहँदै आएको धारणामाथि पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।
लन्डनस्थित फ्रान्सिस क्रिक इन्स्टिच्युटका वरिष्ठ अनुसन्धान वैज्ञानिक टम बुथका अनुसार उक्त ४ हजार वर्ष पुरानो कङ्काल दक्षिणी इङ्ग्ल्यान्डको अप्टन लभेलमा रहेको गोलाकार चिहानभित्र फेला परेको थियो। यस्ता समाधिहरू सामान्यतया समाजमा उच्च प्रतिष्ठा भएका व्यक्तिका लागि मात्र प्रयोग गरिन्थे।
१९औँ शताब्दीको प्रारम्भमा यो समाधि उत्खनन गर्दा पुरातत्त्वविद्हरूले बन्चरो, सुनको हार तथा हड्डीबाट बनेका औजारहरूसहित धेरै दुर्लभ सामग्री भेटेका थिए।
बन्चरोको धारमा सुनको अवशेष भेटिएकाले ती व्यक्ति सुनसँगै तामा र काँसाजस्ता धातुको काम गर्ने दक्ष कारीगर रहेको अनुमान गरिएको थियो। बुथका अनुसार ती व्यक्तिलाई आफ्ना औजारसहित विशेष सम्मानका साथ चिहानमा राखिएको थियो, जसले उनी समुदायमा अत्यन्त सम्मानित रहेको सङ्केत गर्छ।
समाधिबाट प्राप्त सामग्रीको सङ्ख्या र विविधताले यसलाई बेलायतको मात्र होइन, समग्र युरोपकै कांस्य युगको सबैभन्दा अनौठो समाधिमध्ये एक बनाएको छ। उनले भने, ‘यसमा भेटिएका सामग्रीको विविधताको हिसाबले तुलना गर्न मिल्ने अर्को कुनै समाधि छैन।’

- किन पुरुष ठानिएको थियो ?
समाधिको भव्यता र हड्डीको आकारको सामान्य अध्ययनका आधारमा पुरातत्त्वविद्हरूले यो कङ्काल पुरुषको भएको निष्कर्ष निकालेका थिए। त्यतिबेला डीएनए परीक्षणको प्रविधि उपलब्ध नभएकाले यही धारणा करिब दुई सय वर्षसम्म कायम रह्यो।
तर, ‘प्राचीन मानव जीनोम सिक्वेन्सिङ परियोजनाअन्तर्गत बुथ र उनका सहकर्मीहरूले कङ्कालको डीएनए परीक्षण गर्दा नतिजा अपेक्षाविपरीत महिलाको आएको थियो।
बुथले भने, ‘हामीले यस्तो नतिजा आउने अपेक्षा गरेका थिएनौँ।’ नतिजा सुनिश्चित गर्न उनले कङ्कालका थप दुई नमुनाको परीक्षण गराए र दुवैमा उनी महिला नै भएको पुष्टि भयो।
उनका अनुसार यसले ती व्यक्ति सम्भवतः सुनको काममा विशेष दक्ष महिला धातु कारीगर रहेको र आफ्नै योग्यता तथा प्रतिष्ठाका आधारमा समाजमा उच्च सम्मान प्राप्त गरेको देखाउँछ।
- महिलाको भूमिकाबारेको पुरानो धारणालाई चुनौती
यो खोजले प्राचीन समाजमा मूल्यवान् सामग्रीसहित भेटिने महिला समाधिहरू कुनै प्रभावशाली पुरुषका पत्नीका मात्र हुन् भन्ने पुरानो धारणालाई पनि चुनौती दिएको छ।
बुथका अनुसार, ‘यसले महिलाहरू आफैँ पनि शक्तिशाली हुने र विशेष स्थान हासिल गर्न सक्ने रहेछन् भन्ने कुरा देखाउँछ।’
- पहिचानमा किन गल्ती भयो ?
बुथका अनुसार अप्टन लभेलमा भेटिएकी ती महिलाको उचाइ त्यस समयका औसत महिलाको भन्दा बढी थियो। उनी करिब ५ फिट ४ इन्च अग्ली थिइन्, जुन कांस्य युगका औसत पुरुषको उचाइसँग मिल्दोजुल्दो थियो।
त्यसैगरी, उनको मृत्यु करिब ४५ वर्षको उमेरमा र रजोनिवृत्ति (मेनोपज) पछि भएको थियो। उमेर बढ्दै जाँदा महिलाको हड्डी पुरुषको हड्डीसँग मिल्दोजुल्दो देखिन थाल्ने भएकाले हड्डीको आकारबाट मात्रै लिङ्ग छुट्याउन कठिन भएको बुथले बताए।
- ‘शामन’ (तन्त्रमन्त्र गर्ने व्यक्ति) वा धातु विशेषज्ञ ?
समाधिबाट भेटिएका सामग्रीहरू धार्मिक अनुष्ठान वा रहस्यवादी अभ्याससँग सम्बन्धित हुन सक्ने अनुमानका कारण यस कङ्काललाई ‘अप्टन लभेल शामन’ नाम दिइएको थियो।
तर, बुथका अनुसार कांस्य युगमा धातु उत्पादन आफैँमा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको काम थियो। उनले भने, ‘धातु उत्पादन त्यस समयका मानिसहरूको धार्मिक जीवन र आर्थिक गतिविधिसँग गहिरो रूपमा जोडिएको थियो।’
उनका अनुसार ती महिला तत्कालीन युरोपभर फैलिएको धातु व्यापार र आदानप्रदानको महत्त्वपूर्ण सञ्जालको हिस्सा रहेकी हुन सक्छिन्।

- नयाँ प्रदर्शनीमा सार्वजनिक
यस अध्ययनको नतिजालाई फ्रान्सिस क्रिक इन्स्टिच्युटमा बिहीबारदेखि सुरु भएको ‘वी गो वे ब्याक’ शीर्षकको निःशुल्क प्रदर्शनीमा समावेश गरिएको छ। इन्स्टिच्युटका प्राचीन जीनोमिक्स प्रयोगशाला प्रमुख तथा जनसङ्ख्या आनुवंशिकविद् पोन्टस स्कोग्लुन्डका अनुसार करिब एक हजार प्राचीन मानव अवशेषको आनुवंशिक अनुक्रमण गर्ने यस परियोजनाले विगतका समाज र त्यहाँका मानिसहरूको जीवनबारे अझ गहिरो वैज्ञानिक ज्ञान विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
उनले भने, ‘जब हामी सार्वजनिक रूपमा उपलब्ध हुने प्राचीन आनुवंशिक अभिलेख विस्तार गर्दै जान्छौँ, यसले पुरातत्त्वविद् र अन्य अनुसन्धानकर्ताहरूलाई विगतको समाजलाई अझ राम्रोसँग बुझ्न ठूलो आधार प्रदान गर्नेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण