शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दलहरुबीच विवाद हुँदा मतगणना हुन सकेन

आइतबार, ०७ जेठ २०७४, २० : ५७
आइतबार, ०७ जेठ २०७४
भक्तपुर, जेठ ७ – चाँगुनारायण नगरपालिकामा दलहरुबीच विवाद हुँदा आज पनि मतगणना हुन सकेन । मतगणना सुरु गर्न आज सर्वपक्षीय बैठक बसेपनि नेपाली काँग्रेस र एमालेको विवादका कारण दुई दिनदेखि रोकिएको मतगणना सुरु हुन नसकेको हो । सर्वपक्षीय छलफलमा सहभागी भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले दलहरुबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगलाई समस्याका बारेमा लेखी पठाउने र आयोगको निर्देशनअनुसार अघि बढ्न दलहरु सहमत भएको बताउनुभयो । काँग्रेसले चाँगुनारायण नगरपालिकाको २ र ३ नं वडाको मात्र पुनःमतगणना गर्नुपर्ने माग राखेको तर एमालेले आफ्नो पार्टीलाई मात्रै लक्षित गरेकाले काँग्रेस विजयी भइसकेको वडा नं १ देखि ४ सम्म नै मतगणना गर्नुपर्ने माग गरेको बैठकका सहभागीले जानकारी दिएका छन् । मतपरिणामको पर्खाइमा बसेका मतदाताले भने तत्काल मतगणना गर्न माग गर्दै गणनास्थल अगाडि आज दिनभर धर्ना दिँदै नाराबाजी गरेका थिए । चाँगुनारायण नगरपालिकाका सहायक निर्वाचन अधिकृत राजेन्द्र वाग्लेले मतपरिणाम घोषणा भइसकेका वडाका हकमा पुनः मतगणना गर्ने व्यवस्था कानुनमा नभएकाले त्यसका लागि अदालत जानुपर्ने बताउनुभयो । आयोगको निर्देशनअनुसार अगाडि बढ्न दलहरु सहमत भएपछि आयोगलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत आयोगमा पत्राचार गरिएको उहाँले बताउनुभयो । शनिबार बिहान चाँगुनारायण नगरपालिका वडा नं। ३ र ४ को मतगणना सकिएपछि मतपरिणाम सार्वजनिक गर्ने बेलामा भएको विवादका कारण मतगणना रोकिएको थियो । अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगन गर्ने गरी मतगणना स्थलमा सिलबन्दी गरिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप