शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चूडामणि शर्माका यस्ता छन् किस्सा

शनिबार, २० जेठ २०७४, १३ : ४३
शनिबार, २० जेठ २०७४

जेठ २०, काठमाडौं- अख्तियारले पक्राउ गरेका चूडामणि  शर्मा कर्मचारीमा तीन ‘सु’ हुनुपर्छ भन्थे । ती हुन् : सुन्ने, सुनाउने र सुधार गर्ने । तर उनका हकमा यो सुत्र कहिल्यै लागु भएन । उनको तीन सु लाई खिल्ली उडाउदै उनका विरोधीले शर्मालाई सुलसुले, सुटुक्क र सुनियोजित काम गर्छन भनेर आलोचना गर्छन । उनी आफुलाई ज्यु हजुरी नगर्ने र चाकडी नगर्ने प्रति अति नै आक्रामक भएर प्रस्तुत हुन्थे । गत बर्ष राजस्व अधिकृतमा २ नम्बरमा सिफारिस भएका कर्मचारीलाई विभागमा थन्क्याएर र अन्य अन्तिमतिर सिफारिस हुनेहरुलाई काम बढी हुने अड्डामा पठाईदिएको घटना निकै चर्चामा रह्यो । स्मरण रहोस् निजामती सेवामा पहिला सिफारिस हुने उमेदवारले आफु जान चाहेको स्थान रोज्न पाउने अभ्यास छ । उनी राजनीतिक रुपमा पनि शक्ति केन्द्रलाई हात लिन जे पनि गर्न सक्छन भन्ने एउटा सानो उदाहरण । पत्रकार ऋषि धमला प्रायः राजनीतिक बहस कार्यक्रम चलाउँछन तर आन्तरिक राजस्व विभागको प्रायोजनमा उनले आर्थिक बहसको कार्यक्रम नै संचालन गरे । सो कार्यक्रमको प्रयायोजन शर्मा आन्तरिक राजस्व विभागको महानिर्देशक भएपछि उनकै सेटिंगमा तय भयो । पैसामा उनी कतिसम्म लोभि भन्ने सानो प्रसंग । ५० को दशकमै उनी कार्यालय प्रमुख भएका थिए । त्यो समय घुस लिनु अलि आँटिलो र जब्बर कर्मचारीले मात्र गर्ने र त्यो पनि कार्यालय प्रमुखलाई सोधेर वा जानकारी गराएर गर्ने गरेको पुराना कर्मचारीहरु बताउँछन् । त्यही क्रममा एक जना सेवाग्राहीले फाटँवाला कर्मचारीलाई पाँच रुपैया घुस दिन प्रस्ताव गरेपछि ती कर्मचारी शर्मालाई सोध्न गएछन् ः सर ५ रुपैया दिन्छु भन्या छ लिऊँ की के गरुँ ? शर्मा रिसाएछन र भनेछन्  : त्यो पाँच रुपैया हैन मोरो, ती लक्ष्मी हुन् । गृह प्रवेश गरेकी लक्ष्मीलाई सोध्न आउँछस् ? लिनु, लिनु । उनको मर्म थियो, पैसालाई यति उति होइन बरु द्रव्यको रुपमा व्याख्या गर्नु । धेरैलाई उनको अकुल सम्पतिको स्रोत के होला भन्ने लाग्नु स्वाभाविक नै हो । उनका नाममा बजारमा दर्जनौ पुस्तक आएको पनि सत्य हो । तर ती किताब मध्ये ८० प्रतिशत किताब उनका नभई उनको नाममा अरुले लेख्ने र आम्दानी बाँडफाँड गर्ने गरेको बिषय सो क्षेत्रका जानकारबीच कसैमा लुकेको छैन । उनले राजस्व हिनामिना गरेको वा घुसवत रकम लिएको पनि अख्तियारले खोजतलास गर्ला तर उनको आयको स्रोत हुने स्थान अहिले सबैले देखेको ‘ओपन सेक्रेट’ छ । त्यो हो, शंकरदेव क्याम्पस अगाडि रहेको एपेक्स इन्स्टिच्युट । उनको अकुत सम्पतिलाई कक्षा लिएर कमाएको देखाउन भन्दै एपेक्स इन्स्टिच्युट लगानी गरेका छन् जहाँ आफुले अध्यापन गराएको भन्दै स्रोत देखाएका छन् । शर्माको लगानीमा पुर्वतिरका हरि शर्माको छाँया लगानीमा सो इन्स्टिच्युट संचालनमा छ । सो इन्स्टिच्युटमा सचिव गोपीनाथ मैनाली, शर्मा स्वय, सहसचिव सुरेश अधिकारी, कैलालीका प्रजिअ गोविन्द रिजाल, उपसचिव प्रकाश दाहाल, संसद सचिवालयका सुरेन्द्र अर्याल लगायतले पढाउँछन् । एनसेल प्रकरण जहिले पनि बहसमा आयो तर जहिले पनि बाजी मा¥यो । यसको पछाडि शर्मालाई सहयोग गर्ने को होला ? साधारण उत्तर छ । शर्माका भाई एनसेलका प्रशासन प्रमुख हुन जो शर्माकै जोडबलमा एनसेलको उच्च तहमा पु¥याईएका कर्मचारी छन् । उनको भुमिका एनसेलबाट शर्मा हुदै राजनीतिक तह र राजनीतिक तह हुदै शर्मा मार्फत एनसेलसम्म सुचना लैजाने र अन्य प्रबन्धको बन्दोबस्त गर्ने काम रहेको जानकार बताउँछन् । स्याङ्गजाको ‘अधिकृत गाउँ’ फापरथुममा वि स २०२६ मा जन्मेका शर्मा सानैमा बाबु बितेर टुहुरो बने तर उनलाई पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्दागर्दै शुरु गरेयता धनले कहिल्यै टुहुरो बनाएन । बरु उनी निजामती क्षेत्रका कुबेर बने । तर उनको यो यात्रामा अब भने अख्तियारले ब्रेक लगाईदिएको छ । जानकारहरु भन्छन्–अख्तियारको फन्दामा पर्ने अबको पालो निर्मलहरि अधिकारी, अर्जुन कार्की, संसद सचिवालयका मनोहरप्रसाद भट्टराई र अन्य केहीको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप