शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भरतपुरकाण्डः पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय

शनिबार, २० जेठ २०७४, १६ : ५०
शनिबार, २० जेठ २०७४

काठमाडौं, जेठ २०– निर्वाचन आयोगले चितवनको भरतपुर महानरगरपालिको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले बडा नम्बर १९ को सम्पूर्ण मतदान केन्द्रको मतपत्रलाई अवैध घोषणा गरी पुनः मतदान गर्ने निर्णय गरेको हो । मतगणनाको क्रममा जेठ १४ गते राती एमाले र माओवादी केन्द्रका प्रतिनिधिबीच विवाद हुँदा ९० मतपत्र च्यातिएका थिए  ।

आयोगको निर्णयमा भनिएको छ–स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणना स्थलको अनाधिकृत कब्जा भएको पुष्टि हुन आएको हुँदा सोहि दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको बडा नम्बर १९ को मदतान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरि मतदान गर्ने ।’

रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय ताेक्न भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी समेत आयोगले दिएको छ ।

भरतपुर महानगरको मेयरमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल चुनावी मैदानमा छन् ।

विज्ञप्तीको पूर्णपाठ प्रेस विज्ञप्ति मिति : २०७४।२।२० संवत् २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तह अन्तर्गत गाउँपालिका÷नगरपालिका निर्वाचनमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणनाको क्रममा मतगणना स्थलमा मतपत्र च्याती मतगणना स्थगन भएको सन्दर्भमा आयोगको मिति २०७४÷२÷२० गते बसेको बैठकले देहाय अनुसार गर्न मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका, चितवनलाई निर्देशन दिने निर्णय गरेको छ । आयोगको निर्णय “२०७४ बैशाख ३१ गते पहिलो चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचन मध्ये प्रदेश नं. ३ अन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको अवस्थामा वडा नं. १९ को मतगणनाको क्रममा मतगणना स्थलमा उपस्थित उम्मेदवारका प्रतिनिधिहरू मध्ये केहिले मतगणना स्थलमा प्रवेश गरी गणना भएका र नभएका गरी सयौं मतपत्र च्यात्ने काम गरी मतगणना स्थल रणभूमितुल्य बनाई असामान्य अवस्था सिर्जना भएकोले काबु बाहिरको परिस्थिति परी तत्काल मतगणना कार्य स्थगन राखी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम प्रतिवेदन पेश गरेको व्यहोरा जानकारी गराउँदै भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतबाट २०७४÷२÷१५ मा पत्र पठाएको । आयोगको मिति २०७४÷२÷१५ को निर्णयानुसार उपरोक्त घटना सम्बन्धमा स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणना स्थलमा खटिएका सशस्त्र प्रहरीका टोली प्रमुख र सम्भव भएसम्म राजनीतिक दलहरूसँग समेत छलफल गरी के कसो भएको हो ? सत्य तथ्य बुझी २०७४÷२÷१७ गतेभित्र आयोगमा प्रतिवेदन पेश गर्न स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (३) बमोजिम आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा अनुगमन टोली पठाइएको । आयोगको च.नं. ०७३÷७४ नि.२.२÷२२६ मिति २०७४÷२÷१७ को पत्रबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्र सङ्ख्या एकिन गरी प्रतिवेदन पठाउनु भनी निर्देशन दिएकोमा चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुख समेतलाई रोहवरमा राखी मतपत्र जाँच गरी च्यातिई नोक्सान भएका मतपत्र संख्या ९० रहेको भनी मिति २०७४÷२÷१८ को पत्रबाट उल्लेख भइआएको । प्रस्तुत विषयमा आयोगले उल्लेखित प्रतिवेदनको अध्ययन गर्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्ने । सोही ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने ।” (सूर्यप्रसाद शर्मा) सहसचिव एवं प्रवक्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप