शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जुम्लामा ५० प्रतिशत वडापालिका कार्यालयविहीन

शनिबार, २० जेठ २०७४, १५ : ५२
शनिबार, २० जेठ २०७४
  जुम्ला, २० जेठ । एक नगरपालिका र सात गाउँपालिका ६० वडा स्थानीय तह भएको जुम्लाका ५० प्रतिशत वडापालिका कार्यालयविहीन छन् । आठ स्थानीय तहमा साविकका ३० वटा गाविस कार्यालयलाई गाउँ तथा नगरपालिकाको कार्यालय कायम गरे पनि ३० वडापालिकामा वडा कार्यालय स्थापना नभएको जिल्ला समन्वय समिति जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासेले जानकारी दिए ।। “एक हप्ताभित्र भाडामा होस् या झुप्रोमा वडापालिकाको कार्यालय जस्तोसुकै परिस्थितिमा पनि स्थापना गरेर जनतालाई सेवा दिन वडाध्यक्षलाई आग्रह गरेका छौं,” स्थानीय विकास अधिकारी बेल्वासेले भने । वडापालिकाका कार्यालयको भौतिक संरचना तयार नभएकाले केही समस्या भएको उनको भनाइ थियो । एक हप्ताभित्रै जनताका काम सुरु हुने भन्दै उहाँले वडा कार्यालयका लागि जग्गा र प्रशासनिक केन्द्र छनोट लगायतका अतिआवश्यक कुरामा छलफल चलाउन सबै अध्यक्षलाई सुझाव दिइएको उनले बताए । जिल्लास्तरीय स्थानीय तह सहजीकरण तथा कर्मचारी व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले निर्वाचनमा सरकारले पठाएका र स्थानीयस्तरमा उपलब्ध कर्मचारीको व्यवस्थापनबाहेक अन्य कर्मचारीको अभावै रहेको बताए । पातारासी गाउँपालिकाका कार्यकारी अधिकृत रेम्बु चाम्लिङ राईले वडा कार्यालय र कर्मचारी केही हदसम्म व्यवस्थापन गर्दा जनताको सेवामा सहजता आएको बताए । तत्काल २२ कर्मचारीको दरबन्दीमा १८ कर्मचारीले काम गरिरहेको उहाँले बताउनुभयो । मूलतः अहिले जिल्लाका आठवटै स्थानीय तहमा दुई÷तीन वडाको काम संयुक्त रुपमा एक वडासचिवले काम गरिरहेको पाइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप