शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

निजी आवास अनुदान रकम वितरण कार्य सुरु

शनिबार, २० जेठ २०७४, १६ : ०४
शनिबार, २० जेठ २०७४
खोटाङ, २० जेठ । खोटाङका भूकम्पपीडितलाई निजी आवास अनुदान रकम वितरण गर्न थालिएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त निजी आवास तथा भवन पुनःनिर्माणका लागि शुक्रबारदेखि सालपा विकास बैंक र सेञ्चुरी कमर्सियल बैंकबाट अनुदान वितरण सुरु गरिएको हो । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणका लागि उनीहरुलाई पहिलो किस्ताबापत रु ५० हजारका दरले पहिलोपटक अनुदान बाँड्न थालिएको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत रविकिरण आचार्यले बताए । सालपा विकास बैंकको कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रल्हद पोखरेलले ऐसेलुखर्क गाउँपालिका– २ बाकाचोलका भूकम्पपीडित रिमानसिं तामाङलाई चेक हस्तान्तरण गरेर अनुदान रकम वितरणको सुरुवात गरे । सालपा र सेञ्चुरी कमर्सियल बैंकबाट एक हजार ३५४ लाभग्राहीलाई आवास अनुदान रकम वितरण गरिने जनाएको छ । सालपा विकास बैंकबाट हलेसी तुवाचुङ नगरपालिका र ऐसेलुखर्क गाउँपालिकाका ५१८ लाभग्राहीलाई आवास अनुदान रकम वितरण हुने बताइएको छ । यस्तै, सेञ्चुरी कमर्सियल बैंकबाट केपीलासगढी र लामिडाँडा गाउँपालिकाका ८३६ लाभग्राहीलाई आवास अनुदान रकम वितरण गरिने कार्यक्रम अधिकृत आचार्यले बताए । उहाँकाअनुसार बैंक अफ काठमाडौँबाट रुपाकोट मझुवागढी नगरपालिकाका लाभग्राहीलाई, राष्ट्रिय वाणिज्य बैंक दिक्तेलबाट साकेला गाउँपालिकाका लाभग्राहीलाई, ज्योति विकास बैंकबाट दिप्रुङ र बराहपोखरी गाउँपालिकाका लाभग्राहीलाई तथा खोटाङबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाका लाभग्राहीलाई आवास अनुदान रकम वितरण गर्ने व्यवस्था मिलाइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप