शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीमा देउवाको एक्लो उम्मेदवारी, कति सांसद देउवाका पक्षमा ?

शनिबार, २० जेठ २०७४, १८ : ३१
शनिबार, २० जेठ २०७४
काठमाडौं, जेठ २०– नयाँ प्रधानमन्त्री चयनका लागि शनिवार काँग्रेस सभापति शेरबहादुर देउवाले मात्रै उम्मेदवारी मनोनयन दर्ता गराए । नेकपा एमालेले उम्मेदवारी नदिएपछि देउवाको एक्लो उम्मेदवारी परेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ९ गते पदबाट राजिनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रिया शुरु गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते एक साताको समय दिएर सहमतीय सरकार गठनको आह्वान गरेकी थिइन् । सहमती नजुटेपछि बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गरेपछि सभामुख ओनसरी घर्तीले शुक्रबार सूचना प्रकाशित गरी निर्वाचन प्रक्रिया अगाडि बढाएकी थिइन् । शनिवार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवार दर्ताको समय राखिएकोमा देउवाले मात्रै उम्मेदवार दर्ता गराएका हुन् । प्रधानमन्त्रीका लागि अन्य उम्मेदवार नभएपछि देउवा एक्लो दाबीदार भएका छन् । तर देउवा प्रधानमन्त्री बन्नका लागि बहुमत ल्याउनुपर्ने नियम छ । देउवाको एकल उम्मेदवारी परेपनि अन्य निर्वाचनमा जस्तो संसदीय प्रणालीमा भने निर्विरोध घोषणा गर्न नमिल्ने भएकाले वहुमतीय निर्वाचनका सबै प्रक्रिया पूरा गर्नुपर्ने संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । देउवाले शनिवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रस्तावक र आफ्नो पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य चार दलका नेता समर्थक रहने गरी उम्मेदवार दर्ता गराएका थिए । संसदमा नेपाली काँग्रेसका २ सय ६ जना सांसद छन् भने माओवादी केन्द्रको ८१ जना सांसद रहेका छन् । देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग १६ सिट रहेको छ भने नेकपा संयुक्त, अखण्ड नेपाल र समाजवादी जनता पार्टीसँग एक एक सिट रहेको छ । यसअनुसार काँग्रेससहित ६ दलको गरी देउवाको पक्षमा ३ सय ६ मत रहेको छ । हाल ब्यवस्थापिका संसद संदस्य ५ सय ९३ जना रहेकाले देउवालाई प्रधानमन्त्री बन्न २ सय ९७ मत भए पुग्ने भएकाले स्पष्ट बहुमत देखिएको छ । देउवाले अन्य मधेसवादी दलहरुसँग पनि छलफल जारी राखेकाले उनका पक्षमा अझै मत बढ्ने काँग्रेसको विश्वास छ । निर्वाचन कार्यक्रमअनुसार आइतबार विहान ११ः३० बजे मतदान गरिनेछ । तर एमालेले भने भरतपुर महानगरपालिकाको मतगणनाको विषयलाई लिएर संसद चल्नै नदिने निर्णय गरेकाले प्रधानमन्त्री चयन प्रक्रियामा पनि अवरोध पुग्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप