शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पत्रकार उपचार कोषलाई गिरीले दिए १ लाख १ हजार

शनिबार, २० जेठ २०७४, १९ : ३१
शनिबार, २० जेठ २०७४
बिर्तामोड, जेठ २०– झापा बुट्टाबारी निवासी समाजसेवी मानबहादुर गिरी तथा परिवारले पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । अर्जुनधारा–११ बुट्टाबारीका ९३ बर्षीय मानबहादुर तथा छोराबुहारी कृष्णकुमार र शान्तिकुमारी (मधु)ले शनिवार उक्त रकम पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । पत्रकार महासंघ झापाले एक करोड रुपैयाँको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको महासंघका सहसचिव तथा कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिए । भोजपुरको दिलपा नाम्दालुङमा जन्मिएका मानबहादुरले सामाजिक तथा धार्मिक क्षेत्रमा उल्लेख्य सेवा र सहयोग गर्दै आएका छन् । उनले दशनामी समाज झापाको भवन निर्माणका लागि बुट्टाबारीमा चार कठ्ठा जग्गा दान गरेका छन् । त्यस्तै विराट–भरत विश्रान्ति बृद्धाश्रमका लागि १० लाख रुपैयाँको गाडी सो विश्रान्तिका अध्यक्ष रहेका उनका जेठा छोरा हर्कलाल गिरीलाई हस्तान्तरण गरेका छन् । उनले हल्दिवारीको कृष्ण मन्दिर निर्माण, अनारमनी पब्लिक क्याम्पस, भोजपुरको सिद्धकालीदेवीको मन्दिर जाने बाटोको सिढी निर्माण, भोजपुरको दिलपास्थित अन्नपूर्ण उच्च माविमा उल्लेख्य सहयोग गरेका छन् । त्यस्तै श्रीमती भगवती गिरीको स्मृतिमा देवी मावि र कान्छा छोरा कुमार गिरीको स्मृतिमा चारपानेस्थित संस्कृत विद्यालयमा २ लाख २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । गिरीले मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले मुलुक परिवर्तन र नागरिकलाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने झापाली पत्रकारको हितमा स्थापित कोषमा सहयोग गरिदिन सबैमा आग्रह पनि गरेका छन् । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघ तथा कोषका सदस्य बिनोद सापकोटाले जानकारी दिए । कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने कोषका संयोजक गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप