शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भरतपुरमा पुनःमतदानको निर्णयले काँग्रेस–माओवादीमा खुशियाली, एमाले आक्रोशित

शनिबार, २० जेठ २०७४, २१ : २५
शनिबार, २० जेठ २०७४
चितवन, जेठ २०– निर्वाचन आयोगले भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्णय गरेसँगै चितवनका राजनीतिक दलहरुले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । यसअघि नेपाली काँग्रेस र माओवादी केन्द्रले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएको थियो भने नेकपा एमालेले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएका थिए । गत आइतबार राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० वटा मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आए सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्ने जनाएको छ । आयोगको निर्णयसँगै नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाले आयोगको निर्णयअनुरुप अघि बढ्ने बताएका छन् भने नेकपा एमालेले आयोगको निर्णयको विरोध गर्दै कानुनी प्रक्रियामा जाने जनाएको छ । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विधि र विधानसम्मत आयोगले गरेको निर्णयको कार्यान्वयनमा जाने बताए । काँग्रेसका सबै उम्मेदवारको जीत सुनिश्चित भइसकेको अवस्थामा मतपत्र च्यातिएका कारण पुनः मतदानमा जानुपर्ने बाध्यता आए पनि आयोगको निर्णयलाई स्वीकार गरी आजैबाट प्रचार अभियानमा जुटेको बताए । उता नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काले भने आयोगको निर्णय एकतर्फी भएको बताए । उनले कानुनी प्रक्रियामा जाने र शान्तिपूर्ण आन्दोलन गरेर आयोगको निर्णयको विरोध गर्ने बताए । माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले आयोगले जे निर्णय गरेपनि मान्ने यसअघि नै बताएको भन्दै यो निर्णयअनुरुप पुनः हुने निर्वाचनमा जुट्ने बताए । माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्तरुपमा प्रमुख पदकी उम्मेदवार रेणु दाहालले ऐन नियम र कानुन सबैले मान्नुपर्ने भन्दै मिति घोषणासँगै प्रचारमा जुट्ने बताइन् । भरतपुर महानगरका २९ वडामध्ये वडा नम्बर १९ को मत गणना हुँदै गर्दा मतपत्र च्यातिएको हो । योसहित वडा नम्बर २० को मात्र मतगणना गर्न बाँकी रहेको छ । दुई वडाको मत गणना गर्न बाँकी रहँदा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि थिइन् । यसैबीच, एमालेसहित चार राजनीतिक दलले शनिवार साँझ संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आयोगले गरेको निर्णयको विरोध गरेका छन् । एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेल, नेकपा मालेका जिल्ला सदस्य सन्तोष श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष अमरबहादुर क्षेत्री र नयाँ शक्ति चितवनका सहसंयोजक पदमबहादुर गुरुङले संयुक्तरुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा हार्नेहरुले मतपत्र च्यातेर पुनः मतदान गराउन पाउने सिद्धान्तलाई स्थापित गरिए निर्वाचन प्रणालीप्रति नै अनास्था जागृत हुने उल्लेख छ । (रासस)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप