बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैतडीका मतदातालाई मत बदर हुने चिन्ता

बिहीबार, २५ जेठ २०७४, ०८ : ०६
बिहीबार, २५ जेठ २०७४
बैतडी - करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुनै लाग्दा ग्रामीण क्षेत्रका नागरिक खुसी भएपनि आफूले हालेको मत बदर हुने हो कि भन्ने चिन्तामा छन् । यो चुनावमा मतपत्र ठूलो छ भन्ने सुनिएको छ, त्यसैले मत बदर भएर जाने हो कि भन्ने चिन्ता छ, डिलाशैनी–१ का जानकी रानाले भन्नुभयो । मतदान गर्ने विषयमा आजसम्म सिकाउन कोही आएका छैनन् उहाँले भन्नुभयो “कसरी मतदान गर्ने थाहा नहुँदा अन्योल भएको छ ।” राजनीतिक दलका नेताहरुले भोट मात्रै माग्न आउने तर मतदान गर्ने तरिकाका बारेमा सिकाउने नगरेको स्थानीय उद्धवप्रसाद भट्टले बताए । उनले बताए “ग्रामीण क्षेत्रका महिलालाई मतदानका विषयमा जानकारी नगराए धेरै मत बदरमा जाने सम्भावना छ ।” दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मत हाल्न आतुर भएपनि मतदान कसरी गर्ने भन्ने विषयमा आफू अनभिज्ञ रहेको स्थानीय लक्ष्मी द्यारले बताउनुभयो । यता जिल्ला निर्वाचन कार्यालय बैतडीले जेठ ५ गतेदेखि गाउँगाउँमा मतदाता शिक्षा स्वयम्सेवक खटाइसकेको जनाएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले सबैको घरदैलोमा मतदाता शिक्षा स्वयम्सेवक एकैदिन पुग्न नसक्ने भएकाले विस्तारै सबैको घरदैलोमा पुग्ने बताए । मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न १८७ जना मतदाता शिक्षा स्वयम्सेवकलाई परिचालन गरेका छाँै, उनले भने“बदर मत घटाउने उद्देश्यका साथ जिल्लाभरिनै स्वयम्सेवक खटाएका हौँ ।” यस्तै, राजनीतिक दलहरुले पनि घरदैलो कार्यक्रमसँगै मतदाता शिक्षा पनि सँगसँगै गरिरहेको जनाएका छन् । राप्रपाका तर्फबाट दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा वडा अध्यक्षका उम्मेदवार हेमराज गिरीले घरदैलोसँगै मतदाता शिक्षाको पनि ज्ञान दिइरहेको बताए । उनले भने “पहिलो चरणको निर्वाचनबाट पाठ सिकेकाले अहिले प्राथमिकताका साथ मतदाता शिक्षालाई पनि जोड दिएका छौँ ।” यस्तै, नेपाली काँग्रेसका जिल्ला सचिव तथा सुर्नया गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार वीरबहादुर विष्टले स्वस्तिक छाप तथा नमुना मतपत्र बनाएर मतदातालाई नमुना मतदान गराइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप