पैसा लिएर उम्मेदवार बनाएको खुलेपछि एमाले मोरङमा विवाद
आइतबार, २८ जेठ २०७४, १६ : ५१
मोरङ, जेठ २८ –स्थानीय तहको उम्मेदवार चयनमा मोरंगमा एमालेका नेताहरुले पैसा लिएर उम्मेदवारी दिएको खुलेपछि खैलाबैला मच्चिएको छ । एमाले मोरंगका अध्यक्ष तथा बिराटनगर महानगरका उम्मेदवार बनेका बिनोद ढकाल समर्थक एमाले मोरंगका सह इन्चार्ज रुपनारायण श्रेष्ठले पैसा लिएर नगर र गाउँपालिकाहरुमा उम्मेदवार सिफारिस गरेको भन्दै केन्द्रमा उजुरी परेपछि एमाले मोरंगमा खैलाबैला मच्चिएको हो ।
योसँगै सहइन्चार्ज श्रेष्ठबिरुद्ध केन्द्रीय कार्यालयमा उजुरी परेको समेत परेको छ । उक्त्त उजुरी उपर सचिव भीम आर्चायले चासो दिएर रुपनारायणसँग स्पिष्टिकरण सोधेको बताइएको छ । स्पष्टिकरणको जवाफमा रुप नारायणले आफुले अध्यक्ष बिनोद ढकालकै निर्देशनमा उम्मेदबार सिफारिस गरेको बताएका थिए । उक्त्त कुरा खुलेपछि ढकाल समुहले एक हप्ता पहिले रुपनारायणलाई एक दिन नियन्त्रणमा राखेर स्पिष्टिकरण सच्याउन लगाएका थिए ।
गुट र पैसाको बिबादले गर्दा उम्मेदबार बिनै हुदै आएको घरदैलो बिराटनगर महानगरमा एक्कासी रोकिन पुगेको थियो । अध्यक्ष केपी ओली गुटकै भएको कारण सबै कुरा मिलाएर अध्यक्ष ढकालले महानगरको मेयरमा उम्मेदवारीको टिकट लिएका छन् । तर गुटबन्दिको मारले तै चुप मै चुप अवस्थामा रहेका एमाले कार्यकर्ताहरुले मनैले बिनोद ढकाललाई सहयोग गर्ने नचाहेको बताइएको छ ।
पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं मोरङ सह–इञ्चार्ज रुपनारायण श्रेष्ठले वडा र गाउँ÷नगरपालिकाका उम्मेदवारसँग १ लाखदेखि ५ लाख रुपैयाँसम्म असुल गरेको उजुरी पार्टी केन्द्रीय कार्यालयमा गरेको कार्यकर्ताहरुले बताएका छन् । विराटनगरका विभिन्न वडा र अन्य स्थानीय तहका उम्मेदवारसँग रकम असुलेको आरोपमा श्रेष्ठविरुद्ध डेढ दर्जन बढि उजुरी परेको बताइएको छ ।
एमाले अध्यक्ष केपी ओली निकट मानिएका श्रेष्ठविरुद्ध उजुरी परेपछि त्यसको छानविन गर्न एमालेले पार्टीका प्रदेश कमिटि सहसंयोजक शेरधन राईको संयोजकत्वमा एक समिति बनाएको स्रोतले जनाएको छ । राई केही दिनअघि बिराटनगर आएर घटना अध्यन गरि मिलापत्र गराएर फर्किएका थिए ।
‘श्रेष्ठले रकम असुलेको पुष्टि भयो, उनको विरुद्ध केन्द्रमा पनि उजुरी परेको छ । तर, चुनाब अगाडि त्यसबारे पार्टीले केही गर्दैन’ नाम उल्लेख नगर्ने सर्तमा एमालेका एक जिल्ला तहका नेताले भने । श्रेष्ठले उम्मेदवारसँग रकम असुलेको विवाद आएपछि विराटनगरसहित जिल्लामा केही दिन एमालेको चुनाबी अभियान प्रभावित भएको थियो ।
विवादपछि अहिले श्रेष्ठ एमालेको चुनाबी गतिबिधिमा देखिएका छैनन् । अनेरास्ववियुको राजनीतिबाट पार्टी राजनीतिमा होमिएका श्रेष्ठ एमालेभित्र सँधै आर्थिक विवादमा पर्ने गरेका छन् । विद्यार्थी नेतृत्वमै छँदा उनले अबैध रुपमा आर्थिक संकलन गरी काठमाडौंमा महल खडा गरेको आरोप लागेको थियो । यद्यपी रकम असुलीमा श्रेष्ठ मात्र नभएर एमालेका जिल्ला तहको नेतृत्व नै संलग्न रहेको आरोप कार्यकर्ताहरुले लगाएका छन् ।
श्रेष्ठले उम्मेदवारसँग रकम असुलेकोसँगै उम्मेदवार चयनमा केपी ओली समूहले मनोमानी गरेको भन्दै एमालेभित्र विवाद देखिएको छ । पार्टीका प्रदेश समिति सदस्य एवं मोरङ क्षेत्र नं ८ का एमाले सांसद चन्द्रबहादुर गुरुङले आफूलाई सामान्य जानकारीसमेत नदिई सुन्दरहरैंचा नगरपालिकाको उम्मेदवार चयन गरेको भन्दै नेता माधबकुमार नेपाललाई उजुरी गरेका छन् । गुरुङले सुन्दरहरैंचामा गलत मानिसलाई मेयरको उम्मेदवार बनाउन लागेको उजुरी दिएका हुन् ।
उनले नेकपा एमालेका मोरङ जिल्ला सदस्य राजकुमार ओझालाई सुन्दरहरैंचाको मेयरमा उठाउनुपर्ने माग गरेका छन् । तर, ओली समूहका केदार गुरागाईलाई मेयरको उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको छ । मोरङ जिल्लामा केपी ओली पक्षले एकलौटी ढंगले पुराना एवं त्यागी कार्यकर्तालाई पाखा लगाउँदै पैसावालहरुलाई टिकट बाँडिरहेको सांसद गुरुङले नेता नेपालसँग गुनासो पोखेको बताइएको छ । गुरुङको गुनासोमा नेता नेपालले केन्द्र र स्थायी कमिटीमा आफूहरु अल्पमतमा परेकाले केही गर्न नसकिएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण