शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी असारमा

आइतबार, १७ पुस २०७९, १२ : २३
आइतबार, १७ पुस २०७९

काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण २०२३ को २२ देखि २५ जुन ( २०८० असार ७ देखि १०) सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ ।

वासिङ्टन डिसी, महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैटौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ ।

चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र फिल्महरू महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । 

वासिङ्टन डिसी, मेरिल्यान्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साह नगर्न ‘डीएमभीक्लोजअप’ अन्तर्गत चलचित्रहरू प्रदर्शन हुनेछन् । स्थापनाकालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका चलचित्रहरू यो वर्ष पनि समावेश हुने जनाइएको छ । 

‘कोरोना महामारीपछि गत बर्ष अनलाइन र केही भौतिक रूपमा आयोजना भएको चलचित्र महोत्सव यो वर्ष भौतिक रूपमा नै आयोजना गर्न उत्साहित भएका छौँ । यसले सम्पूर्ण दर्शक तथा सहभागीहरूमा मनोरञ्जन र ज्ञान आदान प्रदानको फरक अनुभूति गराउनेछ’, महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले भने । 

अन्तर्राष्ट्रिय चलचित्रकर्मीको समितिले आवेदन परेका मध्येबाट उत्कृष्ट चलचित्रहरू प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत आयोजना हुनेछन् । चलचित्र प्रदर्शन पछि निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने समेत आयोजकले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप