शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
सामाजिक सञ्जाल

वीरेन्द्रनगरको भाइरल १३ लाखको बाघको कथा

मङ्गलबार, १९ पुस २०७९, १४ : २०
मङ्गलबार, १९ पुस २०७९

सुर्खेत । आइतबारदेखि सामाजिक सञ्जालमा दुईवटा बाघको मूर्तिको कोलाज गरिएको तस्बिर भाइरल बनिरहेको छ । उक्त मूर्तिको मूल्य र बनावटलाई लिएर सामाजिक सञ्जालभरि चर्चा भइरहेको हो । सो तस्बिर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को भैरव सामुदायिक वनभित्र रहेको ‘सहिद पार्क’ को हो । 

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताले १३ लाख मूल्यको बाघको मूर्ति भनेर चर्चा गरिरहेका छन् । उक्त बाघको मूर्तिको तथ्य भने फरक रहेको भैरव सामुदायिक वनका अध्यक्ष एवं वीरेन्द्रनगर नगरपालिका–४ का वडा सदस्य अम्मरबहादुर कार्की बताउँछन् । कार्कीले सामाजिक सञ्जालमा गलत तथ्यलाई भाइरल बनाइएको टिप्पणी गरेका छन् । 

भाइरल दुई वटा बाघमध्ये सानो (दायाँपट्टी) बाघ वीरेन्द्रनगरको फलाँटे भन्ने ठाउँमा एक जना कालिगडले ४० हजार रुपैयाँमा बनाएका हुन् । ‘उनले आफैले म बनाउँछु भनेपछि वन समितिले उनलाई बनाउने जिम्मा दिएको थियो । यद्यपि उनले बनाएको बाघको मूर्ति त्यत्ति राम्रो भएन,’ उनले भने ।

वन समितिका अध्यक्ष कार्कीका अनुसार ती कालिगडले ढुङ्गा जोडेर सो मूर्ति भएका थिए । ‘तर पार्कमा राखिएको ४–५ महिनामै भाँचियो । ती कालिगडले पुनः मर्मत गरे पनि दुई महिनामै भाँचियो,’ उनले भने, ‘त्यत्ति राम्रो नभएपछि ३५ हजार मात्रै भुक्तानी गरिएको हो ।’ 

‘१३ लाख भनेर भाइरल गराइयो, त्यत्रो रकमले त यहाँ पार्कको स्तोरन्नतिमा ठुलो टेवा पुग्थ्यो नि,’ उनले भने ।  

अर्को दायाँ पट्टीको अलि मोटो खाले नयाँ बाघको मूर्तिसँगै एउटा कन्या (एक युवती) को मूर्तिको मूल्य १ लाख ११ हजार हो । ‘पुरानो मूर्ति भाँचिएपछि अलि राम्रो बाघको मूर्ति बनाउनु पर्‍यो र कर्णालीकै भेषमा झल्किने खालको एक जना युवतीको मूर्ति बनाउने निर्णय भयो । काँक्रेविहार र वीरेन्द्रनगरकै लाटीकोइलीको शिव मन्दिर बनाउने ललितपुरका कालिगडहरूसँग मूर्ति बनाउने विषयमा सम्पर्क भयो,’ अध्यक्ष कार्की भन्छन्, ‘पछि उहाँहरूले ६ हजार घटाएपछि हामीले दुई वटा मूर्तिको १ लाख ५ हजार भुक्तानी गरेका छौँ । कन्या र बाघ दुवैको मूर्ति एउटै ढुङ्गाबाट बनेका हुन् । उक्त ढुङ्गा वीरेन्द्रनगरकै लाटिकोईलीको हो ।’ 

यद्यपि सामाजिक सञ्जालमा भने बाघको मूर्तिलाई मात्रै भाइरल बनाइएकोमा कार्कीको गुनासो छ । अध्यक्ष कार्कीले सम्बन्धित निकायलाई नसोधेर नै जथाभाबी रूपमा गलत सूचना सम्प्रेषण गरेको भन्दै आक्रोश पोखे । ‘१३ लाख भनेर भाइरल गराइयो, त्यत्रो रकमले त यहाँ पार्कको स्तोरन्नतिमा ठुलो टेवा पुग्थ्यो नि,’ उनले भने ।  

उनका अनुसार मूर्ति सहिद पार्क अवलोकनमा आउने पर्यटकहरूबाट उठेको टिकटको पैसाबाट बनाइएको हो  । पार्कमा प्रवेश गर्नका लागि प्रति व्यक्तिले रु.२० तिर्नुपर्छ । अवलोकन गर्न आउनेहरूले ‘जंगलको बीचमा बाघ लगायतका जङ्गली जनावरहरूको मूर्ति बनाएको भए पनि हुन्थ्यो’ भन्ने सुझाव दिएपछि सो मूर्ति बनाइएको बताए । 

sadid parka

टिकटकले गर्दा बनेको नयाँ पर्यटकीय गन्तव्य 

वीरेन्द्रनगरको उत्तरतर्फ पर्ने सहिद पार्क टिकटकका कारण चर्चामा आएको हो । कोरोनाकालमै एकाएक चर्चामा आएको उक्त स्थान आन्तरिक पर्यटकहरूको प्रमुख रोजाइ बन्न सफल भयो । 

यो पार्कको अवलोकन नगरेकाहरू विरलै होलान्, सहिद पार्कको क्याप्सन लेख्दै टिकटक बनाउनेहरूको जमात बढेपछि अहिले यो पार्क आन्तरिक पर्यटकहरूको गन्तव्यस्थल बन्न पुगेको अध्यक्ष कार्की बताउँछन् । पार्कभित्र एउटा सहिद स्तम्भ, एउटा पोखरी छ, जसको बनावट र त्यो पोखरी भित्रको पानीको फोहराहरुसँग आन्तरिक पर्यटकहरू रमाउने गरेका छन् । 

पार्कको दायाँ तर्फ एउटा पिङ देखिन्छ । दायाँ दक्षिणतर्फ रुखहरू छन् । रुखको बीचमा बस्ने ठाउँको व्यवस्था गरिएको छ र बालबालिकाहरू खेल्ने ठाउँ बनाइएको छ । यो पार्क प्रेमिल जोडीहरूको लागि ‘डेटिङ’ स्थल पनि बनिरहेको छ । 

‘शनिबारको दिन सरकारी कर्मचारीदेखि संघसंस्थामा मान्छेहरू समेत आफ्नो जोडी बाँधेर अवलोकन गर्न आउँछन्,’ पार्कमा टिकेट काट्ने गरेका गुरुप्रसाद चालिसे भन्छन् । 

कसरी बन्यो सहिद पार्क ? 

यो पार्क कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा ज्यान गुमाउनेहरुको नाममा बनाइएको हो । भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कार्कीका अनुसार आन्दोलनमा सोही वडामा दुई जनाले (गोपाल रजवार, टिकाराम गौतिक) ज्यान गमाएका थिए । समितिको साधारण सभाबाट नै सहिदहरूको नाममा ‘सहिद पार्क’ बनाउने काम भएको हो । 

भंगेरी चौर (अहिले पार्कस्थल) मा विगतमा आवधिक बस्ती थियो । त्यसपछि जिल्ला भू–संरक्षण कार्यालयले नर्सरी स्थापना गरेको थियो । त्यसको अवधि सकिएपछि खाली भएकाले ठाउँलाई पार्कमा रूपान्तरण गरेको उनले बताए । 

यो पार्कमा कर्णाली प्रदेश सरकारले झण्डै साढे ३ करोड सम्मको लगानी गरेको छ । सहिद पार्क स्थापनाका लागि सुरुमा २ करोड रकम विनियोजन गरिएको थियो । ०७६ भदौ महिनादेखि पार्क निर्माणको काम थालनी गरेर ०७७ भित्रै सहिद स्तम्भ, पोखरी र अन्य संरचनाहरू निर्माण गरिएको थियो । 

त्यही रकमबाट पार्कको वरिपरि पर्खाल लगाउने काम पनि गरिएको थियो । गत आवमा ५० लाख रकम विनियोजन गरिएको थियो । त्यसबाट शौचालय लगायतका केही कामहरू भए ।  

अहिले थप १ करोडको टेण्डर आह्वान गर्ने तयारी भइरहेको छ । त्यसबाट थप शौचालय निर्माण, वनस्पति उद्यान लगायतका कामहरू हुने छन् ।

कार्कीले पार्कसँगै वनस्पति उद्यान पनि बनाइने जानकारी दिए । साथै पार्कभित्र अब एउटा ‘लभ’ को चित्र, चिल्ड्रेन पार्क बनाउने काम भइरहेको छ। 

तस्बिर सामाजिक सञ्जाल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप