शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको काम सधैँ विवादमा

बुधबार, २० पुस २०७९, १० : १४
बुधबार, २० पुस २०७९

कर्णाली प्रदेशको कान्छो मन्त्रालयका रूपमा रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका मन्त्रीदेखि कर्मचारीसम्म काममा नभई गफमा विश्वास राख्ने गरेका छन् । कहिले कार्यविधि नभएको त कहिले कर्मचारी नभएको भन्दै अनेक काममा उल्झन थापिरहने मन्त्रालयमध्येमा यो मन्त्रालयको नाम एक नम्बरमा आउँछ ।

जिल्लामा गएको बजेट कार्यान्वयनभन्दा पनि आफू निकटलाई कसरी काम दिन सकिन्छ भनेर मन्त्रीभन्दा बढी कर्मचारीहरू सक्रिय हुने गरेको पाइएको छ । पूर्व जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले पद बहाली गरेको महिना दिनमै सिँचाइ र खानेपानीतर्फको १० करोड रुपैयाँ वितरण गरी योजना आयोगमा पठाएको थियो । 

त्यो वितरणमा कर्मचारीभन्दा मन्त्रीकै बढी हालीमुहाली भएकाले त्यो योजना असफल बनाउन मन्त्रालयका सिनियर कर्मचारी लागेका थिए । मन्त्रालयमा भएको हरेक सूचना ,जानकारी महालवाला मन्त्रीभन्दा अगाडी मुख्यमन्त्री कार्यालयमा पुर्याउन खप्पिस कर्मचारी कर्मचारीहरू मन्त्रीको हरेक गतिविधि निगरानी गर्ने काममा समय बढी खर्चिने गरेका थिए । मन्त्री सिंह मन्त्रालयबाट बाहिरिने बित्तिकै नयाँ आएका मन्त्री रातो कामीलाई समेत छायामा पारेर अहिलेका मन्त्रीको काम के नै छ र भन्दै खिल्ली उडाउनेसम्मको काम कर्मचारीबाटै भएको बजारमा चर्चा थियो । 

भत्ता कहाँबाट आउँछ भन्नेमा मात्र ध्यान राख्ने, तर मन्त्रालयको विकास खर्च बढाउनतर्फ ध्यान नदिने कर्मचारीका कारण प्रदेशको जलस्रोत मन्त्रालय बेलाबेला आलोचनामा पर्ने गरेको छ । कर्णालीका सबै जिल्लामा समानुपातिक रूपमा कार्यक्रम दिनेभन्दा पनि आफ्नो जिल्लामा बढी कसरी र के गरेर पठाउन सकिन्छ त्यही विधि मात्र अवलम्बन गर्ने गरेको आरोप लाग्दै आएको छ । 

मन्त्रीको सचिवालयबाट पठाएको र दिइएको निर्देशन मुखले मात्र हुन्छ भन्ने तर व्यवहारमा लागू नगर्दा काम प्रभावकारी हुन नसकेका हुन् । तत्कालीन मन्त्री गणेशप्रसाद सिंह हुँदा १० जिल्लामा डिपिआर गर्ने भनी पठाएको योजनाका विषयमा सरोकारवाला कार्यालयमा बुझ्न आउँदा योजना नै आएको छैन भन्दै फिर्ता पठाउने गरिएको गुनासोसमेत आएको छ । कर्मचारीको अभाव देखाएर प्रत्येक जिल्लामा पठाएका विकासे कार्यक्रमको डिपिआर अनुकूलका व्यक्तिलाई दिन भएभरको बल प्रयोग हुने गरेको छ । अहिलेका मन्त्री रातो कामी आएको चार महिनासम्म केही कामसमेत गर्न नपाएको उनको सचिवालयले बताएको छ । 

कर्णालीमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने आकलन गरेका जलस्रोत मन्त्रालयका माथिल्लो ओहोदाका कर्मचारीले मन्त्री कामी र मन्त्री सिंहले निर्णय गरेर पठाएका योजनासमेत मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भए नभएका कुरा लगाएर रोक्ने काममा सक्रिय रहेको आरोप लाग्दै आएको छ । बजेट निर्माणदेखि अन्य कुरामा विभागीय मन्त्रीभन्दा मुख्यमन्त्रीका कुरा बढी सुनेर काम गर्दा विभागीय मन्त्री छायामा पर्ने गरेका थिए । 

कर्णाली सरकारको ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयनमा ढिलाइ पनि एक हो । कार्यविधि निर्माण नगरिँदा चालू आर्थिक वर्षको कार्यक्रम अलपत्र परेको हो । यो कार्यक्रमका लागि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि दश करोड बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालन हुँदै आएको उक्त कार्यक्रम यो वर्षदेखि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय मातहतमा लगिएको छ । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छुट्टै कार्यविधि बनाएर कार्य सञ्चालन गरेको थियो । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय मातहत आएपछि सोहीअनुरूपको कार्यविधि निर्माण गरेर मुख्यमन्त्री कार्यालयमा पठाए पनि त्यसलाई फाइनल रूप नदिँदा समस्या हुँदै आएको छ ।  

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप