भारतसित सीमा जोडिएका सुदूरपश्चिमका पाँच नाकामा कोरोना परीक्षण
सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ । यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारत, चीनलगायत छिमेकीमुलुकमा कोरोनाको नयाँ भेरिएण्ट ओमिक्रोनको सङ्क्रमण फैलिइरहेकोप्रति सतर्कता अपनाउँदै यहाँ भारतबाट स्वदेश फर्किने नेपाली नागरिकको नियमित नाकामा परीक्षण हुने गरेको स्वास्थ्य निर्देशनालयका महामारी सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
“छिमेकी मुलुकमा नयाँ खालको भेरिएण्ट फैलिएसँगै हामीले पनि सङ्क्रमण जाँचलाई सीमानाकामा तीव्र गतिमा हेरिरहेका छौँ”, जोशीले भने, “नयाँ भेरिएण्ट फैलिन सक्नेप्रति सबै सचेत हुनुपर्छ ।” उनले कैलालीको त्रिनगर भन्सार र खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाकामा कोरोना परीक्षण हुने गरेको बताए । “सबै नाकामा दक्ष स्वास्थ्यकर्मीको टोली परीक्षणमा कोरोनाको पहिलो कहरबाटै खटिएको छ”, उनले भने, “नयाँ सङ्क्रमण आउनसक्ने विषयमा प्रदेश सरकार पनि सर्तकता र महामारी न्यूनीकरणका लागि काम अघि बढाइरहेको छ ।”
मुलुकमै कोरोना खोप अभाव रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि खोप अभाव रहेको छ । “बुष्टर डोज ६÷६ महिनामा लगाउनुपर्छ”, जोशीले भने, “पछिल्लो समय नयाँ खरिद प्रक्रियामा खोप रहेकाले सबैतिर अभाव रहे पनि चाँडै आउनेछ ।” त्यसैगरी कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा महामारीका बेला आश्रय दिन होल्डिङ सेन्टरसमेत तयारी अवस्थामा राखिएका छन् । “खोप आउनासाथ पुनः खोप अभियान सञ्चालन हुन्छ”, उनले भने, “त्यसका साथै नागरिक पनि महामारीबाट बच्न स्वयम् पनि सचेत हुनुपर्छ ।”
कोरोना सङ्क्रमणबाट सुदूरपश्चिममा हालसम्म छ सय ३५ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । यहाँ छ लाख १९ हजार तीन सय ७३ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो समय यहाँ कोरोना सङ्क्रमण देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण