शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

प्रचार मुख्यमन्त्रीको, बने प्रस्तावक !

बिहीबार, २१ पुस २०७९, ०६ : ५१
बिहीबार, २१ पुस २०७९

सुर्खेत । प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव नजिकिएको समयदेखि नै कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने चर्चामा थिए– राजीवविक्रम शाह र विनोद कुमार शाह ।

यी दुवै जना मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी समेत भए । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका राजीव जाजरकोट (ख) र नेकपा एमालेका प्रदेश अध्यक्षसमेत रहेका विनोद दैलेख क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भए । कांग्रेसबाट बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू नै मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने बताइरहँदा २८ मंसिरमा राजीवबिक्रमले सामाजिक सञ्चालमा कुनै पनि हालतमा दलको नेतामा आफ्नो दाबी रहने बताए । शाहको दाबीलाई धेरैले स्वाभाविक रुपमा पनि लिए ।

जीवनबहादुर शाहीको एक वर्षे सत्ता सञ्चालनपछि नेतृत्व परिवर्तनको आवाज उठिरहेको भन्दै शाहले आफ्नो दाबी कायम रहने दाबी गरे । ३ पुसमा शाहले संसदीय दलको नेतामा उम्मेदवारी सहित मुख्यमन्त्री जीवन शाहीलाई भने, ‘मलाई दलको नेतामा सहयोग र समर्थन गर्नुहुने विश्वास छ ।’

उनका प्रतिस्पर्धी मानिएका शाहीसँग उनले सार्वजनिक रुपमै दल नेताका लागि मत मागे । धेरैलाई लागेको थियो, उनी दलको नेतामा मैदानमा उत्रनेछन् । उनले आफ्नो प्रचारलाई व्यापक बनाइरहेका थिए । उसो त शाह–शाही दुवै कांग्रेसभित्र संस्थापन पक्षका मानिन्छन् । ८ पुसमा दल नेताका लागि उम्मेदवारी दर्ता गर्ने दिनमा भने शाह नै जीवन शाहीको प्रस्तावक बने । धेरैको अनुमान विपरीत राजीवले जीवनबहादुर शाहीलाई नै दलको नेताका रुपमा प्रस्ताव गरे ।

यता एमाले प्रदेश अध्यक्ष शाहको हकमा पनि ठिक त्यस्तै भयो । एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेललाई चुनौती दिएर उनको विरुद्धमा दलको नेतामा उम्मेदवारी दिने तयारी थालिरहेका शाह पुस १३ गते प्रदेश पार्टी कार्यालयमा भने कँडेलकै प्रस्तावक बने ।

शाहीले दिउँसो १ बजे पार्टी कार्यालयमा दलको नेताका लागि छलफल चल्नुभन्दा पहिलासम्म आफ्नो पक्षमा प्रचण्ड बहुमत रहेको दाबी गरिरहेका थिए । १० गते राष्ट्रिय राजनीतिमा समीकरण बदलिएर कर्णालीमा एमाले–माओवादीको सरकार बन्ने बाटो खुलेपछि शाह निकट नेताहरुले उनलाई मुख्यमन्त्रीका लागि अग्रिम शुभकामना समेत दिएका थिए ।

यतिमात्र होइन, शाहले चुनावका बेला आफूलाई कर्णालीको भावी मुख्यमन्त्रीका रुपमा प्रचारसमेत गरेका थिए । उनी निकट कार्यकर्ताले घरदैलो अभियानका क्रममा कर्णालीको भावी मुख्यमन्त्री भन्दै भोट मागेका थिए ।

मुख्यमन्त्रीका प्रचारक दुई शाह कसरी बने अर्काको प्रस्तावक ?
कांग्रेस नेता राजीव शाहले पनि चुनावको बेलामा आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रचार गरेको जाजरकोट कांग्रेसका नेताहरु बताउँछन् । शाह निर्वाचित भएर सुर्खेत आउनुअघि काठमाडौंमा कांगे्रसका शीर्ष नेतादेखि प्रदेशसभा सदस्यहरुसँग दलको नेताका लागि तीब्र ‘लबिङ’ गरिरहेका थिए । १४ सिट रहेको कांग्रेसभित्र संस्थापन इतर पक्षबाट दल नेताका लागि उम्मेदवारी थिएन । उनीहरुले दलको नेता सर्वसम्मत तरिकाले टुङ्ग्याउने बताइरहँदा संस्थापन पक्षकै नेता शाहको दाबीले कांग्रेसभित्र एक खालको तरङ्ग समेत ल्याएको थियो ।

शाह निकट स्रोतका अनुसार संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गर्ने दिनको बिहासम्म पनि शाह मनोनयन गर्ने तयारीमा थिए । यद्यपि त्यो बेलासम्म शाहको पक्षमा खुलेर लाग्ने सांसद भएनन् । त्यसपछि केही सांसदले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन पर्खिए । तर देउवा व्यस्त भएका कारण देउवा पत्नी आरजुसँग यसबारे चर्चाको प्रयास भयो । ‘तर आरजुले फोन रिसिभ नगरेपछि मनोनयन दर्ता गर्ने समय बित्दै गयो,’ स्रोतले भन्यो, ‘प्रस्तावक, समर्थक नपाउने भएपछि उहाँ ब्याक हुनुप¥यो ।’

शाहलाई साथ दिने आश्वासन दिएका नेताहरु समेत उनले जित्ने सक्ने संकेत नदेखिएको भन्दै खुलेर उनको पक्षमा उभिन मानेका थिएनन् । उनलाई सपोर्ट गर्ने बचन दिएका ३ जना सांसदमध्येका एक जना सांसदले भने, ‘शाहज्यूले आफ्नै समूहका सांसदबाट साथ नपाएपछि ब्याक हुनुको विकल्प थिएन ।’ अन्तिममा कुनै पनि सांसदको साथ नपाउने भएपछि जीवनलाई नै दलको नेता स्वीकार्न उनी बाध्य भएको कांग्रेस नेताहरु बताउँछन् ।

यद्यपि शाह भने केन्द्रबाटै दलको नेता बन्ने दौडबाट पटि हट्न आदेश आएपछि आदेशको पालना गरेको बताउँछन् । शाहले त्यो भन्दा पहिला ‘म सधैँ ब्याक हुन्छ भन्ने ठानेका होलान्, यो पटक म कुनै हालतमा ब्याक हुन्न’ भन्ने गरेका थिए ।

यता एमाले नेता शाहको हकमा पनि त्यस्तै भयो । ०५१ सालमा सांसद हुँदै गर्दा एमाले प्रवेश गरेका विनोदले ०५६ साल यता टिकट पाएका थिएनन् । किनकि उनी राजाको शासनकालमा एक पटक राजाको कोटाबाट मन्त्री बनेका थिए । पार्टीले विश्वास नगरेर लामो समय संसदीय राजनीतिमा निष्कृय बनेका शाहलाई दलको नेता बन्नका लागि बालकोटले नै रोकेको एमालेका एक नेताले बताए । निर्वाचित भइसकेपछि शाह दलको नेताको तयारीका लागि काठमाडौंं हानिएका थिए । त्यहाँ उनले पार्टीका महासचिव शंकर पोखरेल, अध्यक्ष केपी ओली समक्षसमेत कुरा राखेका थिए । यद्यपि ओली र पोखरेलबाटै प्रदेशमा तत्कालका लागि कँडेलको विकल्प नरहेको कुरा सुनेपछि शाह सुर्खेत फर्किएका थिए ।

कर्णालीमा एमालेका १० सांसद छन् । दलको नेता बन्नका लागि कम्तीमा ६ जनाको समर्थन आवश्यक पर्दछ । तर शाहले आफ्नो पक्षामा बहुमत हुँदाहुँदै पनि पार्टी ‘हाईकमाण्ड’को निर्देशनपछि कँडेललाई समर्थन गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप