बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कृषि पेसामा राउटे समुदाय, डडेलधुराका लालसिंह राउटेले पाए उत्कृष्ट किसान पुरस्कार

बिहीबार, २१ पुस २०७९, २० : ३९
बिहीबार, २१ पुस २०७९

काठमाडौं । लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ । कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडले डडेलधुराका राउटे किसान लालसिंह राउटेलाई  उत्कृष्ट किसानका रूपमा पुरस्कृत गरेको हो । सिंहले डडेलधुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी जग्गामा खेती तथा पशुपालन गर्दै आएका छन् । 

“तीन वर्षदेखि बाख्रा र भैँसी पाल्दैछु, काठको काम पनि गर्छु । पहिले आम्दानीको स्रोत काठको ज्याला मजदुरी मात्र हुन्थ्यो । अहिले दुवै काम गर्न भ्याएको छु”, उनले भने । बत्तीस वर्षे सिंहले औपचारिक अध्ययन गर्न नपाए पनि पुर्ख्यौली सीप र कृषि पेसाले आम्दानीको स्रोत बढेको बताए । कृषिबाट धेरै आम्दानी नभए पनि दैनिकी सहज बनेको उनको भनाइ छ । उनले यही पेशाबाट पाँच जनाको परिवार चलाउँदै आएका छन् ।

पुरस्कार ग्रहण गर्न काठमाडौं आएका उनले काठमाडौं पहिलोपटक भ्रमण गरेकोसमेत बताए । “पुरस्कार पाएको छु । आफ्नो देशको ९पुरानो० राजधानी हेर्ने अवसरसमेत जु¥यो । सिंहदरबार हेर्न पाउँदा खुसी लागेको छ”, उनले भने ।

बाल्यकालमा भारतको शिमलासम्म पुगेको बताउने सिंहलाई आफ्नो देशको पुरानो राजधानी हेर्न पाउँदा तीन दिनको बसाइ धेरै छोटो लागेको बताए । “पशुपतिनाथ मन्दिरसम्म दर्शन गर्न मन थियो । तर समय अभावका कारण फर्किँदैछु । फेरि दोस्रोपटक काठमाडौँ घुम्न आउनेछु ।” बाख्रापालन, तरकारी खेती र गहुँ उत्पादनबाट धेरै आम्दानी नभए पनि दैनिकी राम्रो गुज्रेको उनको भनाइ छ । 

डडेलधुरा कटलाका शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरेन्द्र विष्टले सिंहलाई काठमाडौँसम्म आउन सहजीकरण गर्नुभयो । “राउटे समुदाय कार्यक्रममा आउन असहज महसुस गर्छ । अरुजस्तै उनले पनि आउन मान्नुभएको थिएन । उहाँलाई काठमाडौँ सहर घुम्न पाइन्छ भनेपछि आउनुभयो”, विष्टले भने ।

काठका काममा ज्याला मजदुरी गर्ने राउटे समुदायमा आम्दानीका लागि कृषि पेसाप्रति आकर्षण बढ्दै गएको हो । सिंहसँगै डडेलधुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा कृषिमा आबद्ध ६७ जना सहकारीमा जोडिएका छन् । तर थोरै राउटे किसान मात्र निर्वाहमुखी व्यावसायिक कृषिमा आबद्ध छन् ।

राउटे समुदायका कतिपय युवा रोजगारका लागि भारत जाने र कतिपय सरकारी भत्तामा निर्भर भएको उनले बताए । उनले भने, “भत्ता आउँछ भन्दै त्यसमै भर पर्ने धेरै हुनुहुन्छ । जसले गर्दा उहाँहरूलाई सृजनशील बनाउन सकिएको छैन । व्यवसाय र रोजगारीप्रति उहाँहरूको सहभागिता बढाउन सकिएको छैन ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप