बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

गृहमन्त्री रविलाई सिधा प्रश्न : शान्तिपूर्ण आन्दोलन गर्ने जहरसिंहपौवा बासीको घुमेर–उडेर नाकको डाँडी भाँच्न पाइन्छ ?

पेस्तोल ताक्ने, चुल्ठोमा समाएर घिसार्ने काम भयो : स्थानीय
शनिबार, २३ पुस २०७९, ११ : ४८
शनिबार, २३ पुस २०७९

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाको जहरसिंह पौवाको बोझिनी क्षेत्र एक सातादेखि अशान्त छ । सो स्थानमा बन्न लागेको अपर तामाकोसी प्रसारण लाइनको सबस्टेशन अन्यत्र सार्न माग गर्दै स्थानीयले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी प्रशासनले दमन गरिरहेको छ । प्रहरीले स्थानीयमाथि पेस्तोल ताक्ने, महिलाको चुल्ठोमा समातेर पछार्ने जस्ता दमन गरेको हो । प्रहरीले गरेका दमनका फोटो भिडियो यति बेला सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भइरहेका छन् । 

हालका गृहमन्त्री त्यतिबेलाका सञ्चारकर्मी रवि लामिछाने सञ्चारकर्मी नै भएको भए जहरसिंह पौवाको प्रहरी दमन देख्दा के गर्थे होलान् ? पक्कै पनि टिभीको सानदार सेटमा उनी मच्ची–मच्ची भनिरहेका हुन्थे होलान् –‘गृहमन्त्री ज्यू, यही हो तपाईंले आफ्नो इन्स्पेक्टर, डिएसपी लेभलको प्रहरी अधिकृतलाई सिकाएको पाठ ? यही हो तपाईंले दिएको आदेश ? जनताका घर–घरमा गएर महिलाको चुल्ठो समाएर फनक्क घुमाएर आँगनमा पछारेर लात्ताले हान्ने तालिम पनि तपाइले नै दिनुभएको हो कि ? कालो ब्यानरमा सेतो अक्षर लेखेर हाम्रो भूमिमा हाम्रो आधिकार देऊ भनेर निमुखा जनता बोल्दैमा इन्स्पेक्टर, डिएसीले पेस्तोल निकालेर ताक्ने, पुरुष प्रहरी अधिकृतले नै महिलाको चुल्ठोमा समातेर आँगनमा पछार्ने यो कस्तो लोकतन्त्र हो गृहमन्त्री ज्यू ? तपाईंसँग जवाफ छ यसको ? शान्तिपूर्ण रूपमा बिना हतियार विरोध प्रदर्शन गर्ने निर्दोष जनताको कन्चटमा पेस्तोल राख्न तपाईंको प्रहरीलाई कसले दियो अधिकार ?’ सायद उनको कार्यक्रमको इन्ट्रो यस्तो हुन्थ्यो होला । 

लामिछाने अहिले यस्ता समाचार भन्दैनन् बरु उनले ठूलै आवाजमा हाँच्छ्यु गरे भने त्यो समाचार बन्ने अवस्थामा पुगेका छन् । जहरसिंह पौवामा एक सातादेखि भइरहेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएपछि त्यहाँका स्थानीयले गृहमन्त्रीको राजीनामा समेत मागेका छन् । 

स्थानीयले गरेको आन्दोलनको तेस्रो दिन स्थानीयबासीमाथि बौद्ध प्रहरी कार्यालयका एक प्रहरी निरीक्षकले कम्मरबाट पेस्तोल निकालेर ताकेको फोटो तथा भिडियोमाथि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । साथै विरोध प्रदर्शन गर्ने स्थानीयको घरको आँगनमा पुगेर पुरुष प्रहरीले महिलाको चुल्ठोमा समातेर पछारेको भिडियोमाथि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । एक १२ वर्षका बालक प्रहरीले हानेको लात्ती र मुक्काका कारण घाइते अवस्थामा रहेको आन्दोलन संर्घष समितिका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । अपर तामाकोसी जलविद्युत आयोजनाको सबस्टेशन बनाउने स्थल जहरसिंह पौवामा सातौँ दिन पनि स्थानीय शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा छन् । उनीहरूले उठाएका माग सम्बोधन गर्नका लागि हालसम्म कुनै पहल भएको छैन । स्थानीयले प्रहरी दमनविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत दिएका छन् । 

aandolan 3

के हो जहरसिंह पौवामा भइरहेको आन्दोलनको कारण ? 

दोलखाको माथिल्लो तामाकोसी आयोजनाबाट उत्पादन हुने ४५६ मेगावाट विद्युत् वितरण गर्नका लागि काठमाडौँको जहरसिंह पौवासम्म प्रसारण लाइन ल्याएर सबस्टेशन बनाउने तयारी छ । जुन सबस्टेशनमा एउटा प्रसारण लाइन तामाकोशीबाट आउने, अर्को एमसिसिको प्रसारण लाइन नुवाकोटको रातमाटेतिर जाने र फेरी अर्को प्रसारण लाइन काठमाडौँतर्फ गरी ३ तिर प्रसारण लाइन जाँदा गाउँमा बस्ने अवस्था नहुने स्थानीयको गुनासो छ । 

andolan 4

प्रसारण लाइन र सबस्टेशन बनाउन जहरसिंह पौवाको बोझिनी भन्ने स्थलमा गाउँको बिचमा रहेको खेतीयोग्य समतल जग्गा रहेको क्षेत्रको करिब २ सय रोपनी भूभाग अधिग्रहण गरिएको छ । तर स्थानीयले सो जग्गा अधिग्रहण नगरिएको बरु धम्क्याएर दबाबपूर्ण ढङ्गले हडपिएको दाबी गर्दै आइरहेका छन् । उनीहरूले सो स्थलबाट आयोजनालाई यसअघि सर्वे गरिएको काभ्रेको मण्डनदेउपुर १ हलेदेमा सार्न माग गर्दै विद्युत् प्रसारण लाइन र सबस्टेशनले हडपेको जग्गाको रक्षाका लागि स्थानीय आन्दोलित बनेको राष्ट्रिय सिमान्तकरण विरुद्ध अभियानका प्रवक्ता आर के तामाङले बताए । 

तामाकोसी कोरिडोरबाट आउने विद्युत्लाई स्टोर गर्नका लागि सुरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सबस्टेशन राख्ने भनेर नेपाल विद्युत् प्राधिकरणले सर्वे गरेको स्थानीय बताउँछन् । सबस्टेशन बनाउनका लागि एसियाली विकास बैंकले लगानी गरेको हो । सुरुमा काभ्रेको मण्डन देउपुरका जनतासँग प्राधिकरणले इआए पनि गरेको र त्यहाँका स्थानीयले घरनजिकै  सबस्टेशन राख्दा प्रतिकूल प्रभाव पर्ने बुझेपछि उनीहरूले विरोध गरेका थिए । त्यसपछि विद्युत् प्राधिकरण त्यो ठाउँमा सबस्टेशन बनाउने कुराबाट पछि हटेको थियो । तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने स्थानीयको यो कुरालाई नकार्छन् । मण्डनदेउपुरमा प्रसारण लाइनको टावर राख्ने कुरामा विवाद भए पनि सो कुरा मिलेर टावर राख्ने काम भइसकेको बताउँछन् । 

स्थानीयले सो क्षेत्रमा शान्तिपूर्ण रूपमा विरोध जनाइरहेका बेला ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी र दङ्गा प्रहरी परिचालन गरिएको छ ।

मण्डन देउपुरमा विरोध भएपछि जहरसिंह पौवामा उपयुक्त जग्गा देखेर प्राधिकरणले भूमाफियासँग मिलेर बोझिनी क्षेत्रको जग्गा अधिग्रहण गर्न सुरु गरेको आरके तामाङ बताउँछन् । तामाङले भने–‘त्यो ठाउँ ठिक हुने देखेपछि प्राधिकरणले जग्गाको अवस्था बुझ्यो । जग्गा पहिले बिर्ताको रूपमा रहेको र पछि स्थानीयको स्वामित्वमा गएको देखेपछि प्राधिकरणले सो जग्गामा चलखेल गरेको थियो ।’

तामाङ अगाडि भन्छन्–‘सुरुमा सो जग्गा आनन्द शमशेर राणाको बिर्ताको रूपमा थियो । बिर्ता प्रथा २०२१ सालमा उन्मुलन भए पनि स्थानीयको स्वामित्वमा गएको जग्गालाई फेरी बिर्ताको जग्गा हो भनेर रोक्का राख्ने काम भयो । दुई वर्षसम्म जग्गा रोक्का गरियो तर त्यसबापतको पैसा दिइएन । विद्युत् प्राधिकरणलाई विक्री गरे मात्र पैसा दिइन्छ भनेर स्थानीयसँग सर्त राखियो । त्यसपछि कौडीको भाउमा स्थानीयको जग्गा जबरजस्ती उठाउने काम भयो । सैनिक लगाउँछु, डोजर ल्याएर घर पेल्छु भनेर उनीहरूलाई पैसा लिन बाध्य पारियो । जग्गा लिइसकेपछि मात्रै त्यहाँ विद्युत् सबस्टेशन बनाउने भनेर डोजरले खार्न थालेपछि स्थानीय जनताले त्यसको विरोध गर्न थाले ।’ 

aandolan

जहरसिंह पौवाको बोझिनीको सानो उपत्यकाजस्तो ठाउँमा सबस्टेशन राख्न खोजिएको छ, त्यहाँबाट तिनतिर ४०० केभीको हाइटेन्सन लाइन फैलिनेछ । एकातिर तामाकोशीबाट आउने हाइटेन्सन लाइन, अर्को नुवाकोटको रातमाटे जाने एमसीसी परियोजनाको लाइन र अर्को काठमाडौँ उपत्यका ल्याउने गरी ३ तिर हाइटेन्सन लाइन जाने भएपछि त्यो गाउँ नै पुरै विस्थापित हुने अवस्था आएको छ । सबस्टेशन लाइन बनाउनका लागि थप जग्गा अधिग्रहण समेत खोजिएको छ भने टावर र हाइटेन्सन लाइनका कारण त्यहाँको गाउँ नै उठिबास लाग्ने भएका कारण स्थानीय जनता आफ्नो बस्ती जोगाउनका लागि विरोधमा उत्रिएको तामाङले बताए ।  

एक जना १२ वर्षका बालकमाथि बुट र लात्ती हानेर घाइते बनाइएको अपर तामाकोसी जलविद्युत पीडित सङ्घर्ष समितिका अध्यक्ष रञ्जित तामाङले रातोपाटीलाई बताए ।  

स्थानीयले सो क्षेत्रमा शान्तिपूर्ण रूपमा विरोध जनाइरहेका बेला ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी र दङ्गा प्रहरी परिचालन गरिएको छ । प्रहरीको घेराभित्र सबस्टेशन राख्नका लागि अधिग्रहण गरिएको र व्यक्तिको निजी जग्गामा समेत सर्वे गर्दै हिँडेपछि स्थानीय थप आक्रोशित भएको उनले बताए ।  जहाँ जहाँ सर्वे टोली पुग्छ त्यहीँ त्यहीँ पुगेर स्थानीयले कालो ब्यानर प्रदर्शन गरिरहेका छन् । 

आर के तामाङले भने–‘कसैको खेतमा, कसैको बारीमा, कसैको गोठमा, कसैको घरको आँगनमा सर्वे गर्न गएपछि स्थानीयवासी विरोधमा उत्रिनु स्वाभाविक हो । त्यसपछि त्यहाँ झडप हुने, विवाद हुने अवस्था आइरहेको छ । पहिलो दिन ३ जना पक्राउ परेका थिए, दोस्रो दिन ३ जना घाइते भएका थिए भने तेस्रो दिन एक जनालाई पक्राउ गरेर लगेको थियो । चौथो दिनको विरोधमा ३ जना पक्राउ गरेर लगेको थियो भने पाँचौँ दिनको प्रदर्शनमा ४ जना घाइते भएका छन् ।’ 

एक जना १२ वर्षका बालकमाथि बुट र लात्ती हानेर घाइते बनाइएको अपर तामाकोसी जलविद्युत पीडित सङ्घर्ष समितिका अध्यक्ष रञ्जित तामाङले रातोपाटीलाई बताए ।  

काठमाडौँका प्रजिअ उपाध्याय भन्छन्–‘प्रदर्शनमा बल प्रयोग गरिएको छ भने अविलम्ब रोक्न लगाउँछु’

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जहरसिंह पौवामा भइरहेको प्रदर्शनमा धरपकड गरिएको भए तत्काल रोक्न निर्देशन दिने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै प्रजिअ उपाध्यायले विद्युत प्राधिकरणले सुरक्षा मागेको आधारमा सुरक्षाकर्मी पठाएको बताउँदै प्रदर्शनमा दमन भएको आफूलाई जानकारी नभएको उल्लेख गर्दै त्यस्तो भएमा तत्काल प्रहरीलाई रोक्न निर्देशन दिने बताए । 

455x-ghyanshyam_UPADHYAY

उनले भने–‘त्यस ठाउँमा काम गर्न विद्युत प्राधिकरणले सुरक्षा मागेको छ । त्यहाँ सुरक्षा उपलब्ध गराउनु भन्ने प्रधानमन्त्री कार्यालयको संयोजकत्वको बैठकको निर्देशन छ । त्यस अनुसार सुरक्षाकर्मी पठाइएको हो । म तत्काल त्यहाँको एसएसपी साबलाई तुरुन्त यसबारेमा ख्याल गर्नुस् भनिहाल्छु । मलाई पहिले यो जानकारी आएको थिएन, म तत्काल यसबारेमा भन्छु ।’ 

सो क्षेत्रमा प्रदर्शन भएको छ र त्यसमा अनावश्यक धरपकड भएको भए तत्काल रोक्न लगाउने जानकारी दिए । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रक्रिया अनुसार सो क्षेत्रको जग्गा अधिग्रहण गरेर स्थानीय भने अनुसारको मुआब्जा दिएको दाबी गर्दै सबस्टेशन सार्न माग गर्दै आन्दोलन गर्नुको कुनै अर्थ रहेको बताएका छन् ।

कुलमान घिसिङसँग विगतमा भएका छलफलमा पनि कुरा मिलेन

तामाकोसी जलविद्युत पीडित सङ्घर्ष समिति र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग विगतमा धेरै पटक छलफल भए पनि सहमति जुट्न सकेन । काठमाडौँ क्षेत्र नम्बर २ का सांसद, शंखरापुर नगरपालिकाका मेयर लगायतका विभिन्न पक्षसँग छलफलको वातावरण सिर्जना गराएको तर सहमति हुने अवस्था नरहेको तामाङले बताए । 

aandolan 1

उनले भने–‘स्थानीय जनताले सो बस्ती क्षेत्रबाट विद्युत् सबस्टेशन हटाउनुपर्‍यो भन्ने माग गरिरहेका छन् । सो ठाउँमा सबस्टेशन राख्ने कुरामा स्थानीयसँग अनुमति पनि नलिएको र सार्वजनिक सुनुवाइको कार्यक्रम पनि राखिएको छैन । ईआइए पनि गरिएको छैन । हाम्रो ठाउँबाट सो परियोजना हटाएर अर्को ठाउँमा लैजानुपर्‍यो भनेर स्थानीयले माग गरेका छन् । कुलमानले स्थानीयलाई म तिमीहरूलाई जागिर दिन्छु, त्यहाँबाट पेटी ठेक्का दिन्छु, टावरका लागि को को काम गर्न चाहन्छ काम दिने, बालुवाको ठेक्का कसले लिने सो सबै व्यवस्था गरिदिन्छु भनेर फकाइरहेका छन् ।’

घिसिङले आर्थिक प्रलोभन दिने गरे पनि स्थानीय आफ्नो बस्ती नरहने भए पनि त्यसमा सहमत नभएको आरके तामाङको भनाई छ । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भन्छन् : भने जति पैसा दिएका छौँ, आन्दोलन गर्नुको अर्थ छैन 

यता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रक्रिया अनुसार सो क्षेत्रको जग्गा अधिग्रहण गरेर स्थानीय भने अनुसारको मुआब्जा दिएको दाबी गर्दै सबस्टेशन सार्न माग गर्दै आन्दोलन गर्नुको कुनै अर्थ रहेको बताएका छन् । सो स्थानमा सबस्टेशन बनाउनेबारे सार्वजनिक सुनुवाइ समेत गरेको दाबी गर्दै घिसिङले स्थानीयले गरेको माग अनुसार अन्यत्र सबस्टेशन सार्ने अवस्था नरहेको बताए । 

रातोपाटीसँग कुरा गर्दै घिसिङले भने–‘त्यहाँ स्थानीयलाई गर्नुपर्ने सबै काम हामीले गरेका छौँ । त्यहाँ काम बन्द भएको करिब ३ वर्ष भयो । त्यो आयोजनाका लागि जति जग्गा परेको छ सबै जग्गाधनीले पैसा लिइसक्नुभएको छ ।’ सो क्षेत्रमा बाहिरका मान्छे र वडाध्यक्षले विरोध प्रदर्शन गराएको कार्यकारी निर्देशक घिसिङले दाबी गरे । तामाकोसी, खिम्ति, बाह्रबिसेबाट ४०० केभी प्रसारण सो क्षेत्रमा ल्याउन लागेको बताउँदै सो क्षेत्रमा ठुलो सबस्टेशन बनाउने उल्लेख गरे । सो क्षेत्रमा सबस्टेशन नबनाएर काठमाडौँमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउने बताए । ३ वर्षदेखि काम गर्न नपाएको र ठेकेदारले किनेको सामान फाल्नुपर्ने अवस्था आएको बताए । 

घिसिङले भने–‘हामीले उहाँहरूले भोगचलन गरेको आधारमा र आफ्नो नाममा नभएको जग्गाको पनि ९५ प्रतिशत मुआब्जा दिएका छौँ । पटक पटक हामीले सार्वजनिक सुनुवाइ समेत गरेका छौँ । ५५ करोड पैसा हामीले बाँडिसकेका छौँ । सबैले पैसा लिइसक्नुभएको छ ।’

उनले सो स्थानबाट सवटेशन अन्य स्थानमा सार्ने कुनै विकल्प नभएको बताए । 

प्रहरी दमन रोक्न सरकारलाई शंखरापुर नगरपालिकाको ध्यानाकर्षण पत्र  

काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ जहरसिंहपौवाको बोझिनीमा स्थानीयले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै नगरपालिकाले सरकारको ध्यानकर्षण गराएको छ । 

शुक्रवार शंखरापुर नगरप्रमुख रमेश नापितले प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, लप्सेफेदी–चाँगुनारायण सबस्टेशन निर्माण आयोजनालाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र लेखेका छन् । 

नापितले शंखरापुर नगरपालिका वडा नं. ३ बोझेनीमा भइरहेको शान्तिपूर्ण प्रदर्शनमा हतियार देखाएर तर्साउने, अवाञ्छित बल प्रयोग गर्नु निन्दनीय भएको बताएका छन् । ध्यानाकर्षण पत्रमा मेयर नापितले भनेका छन्–‘उक्त आयोजनाका सम्बन्धमा स्थानीय जनताहरूबाट विभिन्न माग तथा दाबी राखी विगत केही दिन देखि शान्तिपूर्ण रूपमा भइरहेको प्रदर्शनमा प्रहरी प्रशासनबाट अवाञ्छित बल प्रयोग गर्ने, हात हतियार देखाई तर्साउने, धरपकड तथा घाइते हुने गरी अति बल प्रयोग भइरहेको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

323783008_492786409659255_154750927919190805_n (1)

सम्पत्तिको हक, स्वतन्त्रताको हक जस्ता मौलिक हक एवम् मानव अधिकारको संरक्षण र संवर्द्धन गर्ने राज्यको दायित्वको मर्म र भावनाको प्रतिकुल तथा लोकतन्त्र र विधिको शासन एवम् नागरिक सर्वोच्चताको मर्मलाई नै गिज्याइरहेको उक्त कार्य निन्दनीय छ ।’

मेयर नापितले राज्य अभिभावक रहेको बताउँदै नागरिकले आफ्नो अभिभावबाट संरक्षकत्वको अपेक्षा राखी शान्तिपूर्ण रूपमा गरिएको प्रदर्शनमा प्रहरी दमनले स्थिति थप अराजकता र नियन्त्रण बाहिर गई गम्भीर दुर्घटना निम्ताउन सक्नेतर्फ सचेत गराउँदै यस्ता गतिविधिले आयोजना निर्माणमा थप अन्योल बढेर जान सक्नेतर्फ सचेत गराएका छन् । 

उनले अहिलेको अवस्थालाई विचार गरी स्थानीय जनताहरूबाट भइरहेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमनलाई तत्काल बन्द गरी आपसी संवादको माध्यमबाट स्थानीयहरूका जायज मागको सम्बोधन हुने गरी तत्काल समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । 

जनतालाई प्रहरी लगाएर नर्तसाऔ ः तरुण दल 

यस्तै सवस्टेसन हटाउन माग गर्दै आएका स्थानीयमाथि प्रहरी प्रशासन लगाएर तर्साउने काम भएको भन्दै नेपाल तरुण दल काठमाडौँ क्षेत्र नम्बर २ ले आपत्ति जनाएको छ । तरुण दलका क्षेत्रीय अध्यक्ष पुरुषोत्तम चौलागाईंले शुक्रबार विज्ञप्ति जारी गर्दै विगतदेखि नै मानव वस्तिको बीचमा सबस्टेशन नराख्न आन्दोलन गर्दै आएकोमा जनताको मागलाई वेवास्ता गर्दै विगत केही दिन देखि सोझा सिदा जनतामाथि प्रहरीले पेस्तोल तेर्साउदै धरपकड गर्नु निन्दनीय भएको बताएका छन् । उनले प्रहरीले मानवअधिकार विरोधी कार्य गरेको भन्दै त्यसप्रति गम्भीर आपत्ति र ध्यानाकर्षण भएको जनाएका छन् ।

चौलागाईले सो ठाउँमा विकासको नाममा जनतालाई सुकुम्बासी  बनाउने  कार्य तत्काल बन्द गरी उक्त ठाउँबाट सबस्टेशन जनता को माग बमोजिम अन्यत्र सार्न माग गरेका छन् । उनले सो क्षेत्रका जनताले गरिरहेको शान्तिपूर्ण  विरोधमा नेपाल तरूण दल काठमाडौ क्षेत्र न २ को पूर्णरुपमा साथ र समर्थन रहेको पनि प्रतिवद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप