कर्णाली सरकारको नेतृत्व माओवादीको भागमा परेपछि के भन्छन् एमाले सांसद ?
सुर्खेत । आइतबार सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले कर्णालीमा पहिलो चरणमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । तर नेकपा एमालेले माओवादीलाई साथ दिन्छ कि दिँदैन भन्ने खालका आशंका पनि उब्जिन थालेको देखिन्छ । प्रदेश प्रमुख तिलक परियारले बुधबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
आइतबारको निर्णय अनुसार एमालेको समर्थनमा माओवादीका राजकुमार शर्माले मुख्यमन्त्रीको दाबी पेस गर्नुपर्ने हुन्छ । तर नेकपा एमालेका नेता कार्यकर्ताहरुले भने बालकोटले कर्णालीलाई अन्याय गरिरहेको भन्दै आइतबारको निर्णयको विकल्प खोज्न आग्रह गरिरहेका छन् । कर्णाली प्रदेशसभाको समीकरण अनुसार एमालेले विद्रोह गरेर कांग्रेससँग मिलेर सरकार बनाउन सक्ने स्थिति पनि देखिन्छ । कांग्रेससँग १४ र एमालेसँग १० सिट छ । ४० सदस्यीय प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । तर एमालेका सांसदहरुले भने पार्टी केन्द्रले गरेको निर्णय स्वीकार गर्नु बाहेक विकल्प नरहेको बताएका छन् ।
रातोपाटीसँग प्रतिक्रिया दिँदै एमाले सांसद टेकराज पछाईले पार्टी केन्द्रले गरेको निर्णण अनुसार नै अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘भागबण्डाको कुरा त आयो, तर पार्टीको आधिकारिक निर्णय आएको छैन, यदि आएको खण्डमा पनि उक्त निर्णयलाई स्वीकार्नै पर्ने हुन्छ ।’ उनले अहिलेसम्म प्रदेशका नेताहरुबीच सरकार गठनबारे कुनै छलफल नभएको बताए । ‘केन्द्रबाट आधिकारिक निर्णय आएको खण्डमा प्रदेशमा छलफल होला,’ उनले भने ।
एमाले सांसद जीतबहादुर मल्लले पनि आइतबारकै निर्णय अनुसार अघि बढ्नुपर्ने स्थिति आए एमालेले त्यसलाई स्वीकार गर्नुपर्ने बताए । उनले भने, ‘विगतमा कर्णालीमा विद्रोहले नै माओवादी–एमालेबीच अर्कै खालको परिस्थिति सिर्जना भएको थियो, अहिले त्यस्तो हुनुहुँदैन, पार्टी केन्द्रको निर्णय अनुसार अघि बढ्छौँ, यद्यपि पार्टीको आधिकारिक लेटर आउन बाँकी नै छ ।’
यता एमाले प्रदेश अध्यक्षसमेत रहेका सांसद विनोद शाहले भने केन्द्रले कर्णालीलाई अन्याय गरेको बताए । ‘यद्यपि केन्द्रको निर्णय बेगर अर्को विकल्प खोज्ने भन्ने कुरा हुँदैन,’ उनले भने, ‘अन्याय गरेको कुरामा कुनै शंका छैन, तर देशमा गठबन्धन सरकार भएकाले जुन खालको निर्णय केन्द्रमा भयो, त्यसलाई च्यालेञ्ज गर्नु हुँदैन ।’ उनले एमालेले विद्रोह गरेर कांग्रेससँग मिलेर सरकार बनाउने कुरा तत्कालका लागि सोच्नै नसकिने बताए । सरकार बनाउनका लागि प्रदेशमा आजदेखि छलफल चल्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
-
एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
-
उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटमा, बोरा किन्न नसक्दा उत्पादित सिमेन्ट गोदाममै थन्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण