५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
सारांश
- ५० वर्ष वा सोभन्दा बढी उमेरका दम्पतीबीच सम्बन्धविच्छेदलाई 'ग्रे डिभोर्स' भनिन्छ र एसियामा यसको सङ्ख्या बढ्दै गएको छ।
- महिलाहरूले लामो समयदेखि लैङ्गिक विभेद, आर्थिक कठिनाइ र सामाजिक दबाबको सामना गरेपछि अहिले परिस्थिति बदलिएको छ।
- कानुनी सुधार र आर्थिक स्वतन्त्रताको खोजीले महिलाहरूलाई सम्बन्धविच्छेद गर्न प्रेरित गरेको छ, जसलाई उनीहरूले जीवनको नयाँ अध्यायको रूपमा हेर्छन्।
जापानकी इको टोयामाले श्रीमान्सँग सम्बन्धविच्छेद गर्न ३२ वर्ष कुरिन्। उनका अनुसार, वैवाहिक जीवनभर उनले घरको सबै काम गरिन्, दुई सन्तान हुर्काइन् र आर्थिक रूपमा पनि परिवारलाई सहयोग गरिन्।
तर उनका श्रीमान् सामाजिक सम्बन्धदेखि व्यावसायिक महत्त्वाकाङ्क्षासम्म सबै कुरा नियन्त्रण गर्न खोज्थे, जसका कारण उनी आफूलाई कैदीजस्तै र अत्यन्त दुःखी महसुस गर्थिन्। त्यसका बाबजुद पनि उनले दुई छोराको भविष्यका लागि सम्बन्धलाई निरन्तरता दिइन्।
तर, उनी ६० वर्ष पुगेपछि परिस्थिति बदलियो। उनका दुवै छोरा वयस्क भइसकेका थिए भने श्रीमान् पनि स्वस्थ नै थिए। उनी त्यति वृद्ध पनि भइसकेका थिएनन्, जसको हेरचाह गर्नैपर्ने अवस्था होस्। टोयामाका लागि यो जीवनको एउटा दुर्लभ अवसर थियो, जसलाई उनले गुमाइनन्।

‘सम्बन्धविच्छेदपछि म केवल खुसी थिएँ। त्यो नै मेरो एक मात्र भावना थियो,’ उनले भनिन्, ‘म यति धेरै खुसी थिएँ कि जताततै दौडिरहन मन लाग्थ्यो।’
- ‘ग्रे डिभोर्स’ अर्थात् ‘तिलचामले सम्बन्धविच्छेद’ को बढ्दो प्रवृत्ति
टोयामाजस्ता कथाहरू अहिले विश्वभर बढ्दै गएका छन्। ५० वर्ष वा त्यसभन्दा माथिका दम्पतीबीच हुने सम्बन्धविच्छेदलाई ‘ग्रे डिभोर्स’ अर्थात् ‘तिलचामले सम्बन्धविच्छेद’ भनिन्छ। यसको सङ्ख्या हरेक वर्ष बढिरहेको छ। यो प्रवृत्ति अमेरिकालगायत अन्य देशहरूमा पनि देखिएको छ। तर, एसियामा यसको विशेष महत्त्व छ, किनभने यहाँका मानिसहरूको औसत आयु लामो छ।
दक्षिण कोरिया, जापान, हङकङ, ताइवान र चीनजस्ता मुलुकहरू अहिले घट्दो जन्मदर र बढ्दो वृद्ध जनसङ्ख्याका कारण जनसाङ्ख्यिकीय सङ्कटसँग जुधिरहेका छन्। ग्रे डिभोर्सको वृद्धि विशेष गरी महिलाहरूबाट प्रेरित भएको देखिन्छ। परम्परागत एसियाली समाजमा महिलाले लामो समयदेखि लैङ्गिक विभेद, कानुनी तथा आर्थिक कठिनाइ र सामाजिक दबाबको सामना गर्नुपरेको थियो। अहिले भने परिस्थिति बदलिँदै गएको छ।
उदाहरणका लागि, जापानमा सन् २०२४ मा दशकौँ लामो वैवाहिक सम्बन्धपछि सम्बन्धविच्छेद गर्ने दम्पतीमध्ये महिलाले दर्ता गराएको सम्बन्धविच्छेदको सङ्ख्या पुरुषको तुलनामा दोब्बर थियो।
विशेषज्ञहरूका अनुसार यसले आगामी दशकमा एसियाको वृद्ध जनसङ्ख्याको स्वरूप नै परिवर्तन गर्न सक्छ। धेरै वृद्धहरू एक्लै बस्ने र सामाजिक सुरक्षामा बढी निर्भर हुने सम्भावना बढ्नेछ। तर अर्कोतर्फ, उनीहरू आफ्नै निर्णयमा जीवन बिताउन थप सक्षम पनि बन्नेछन्।
- सम्बन्धविच्छेद कहिल्यै सहज थिएन
सन् १९६० र १९७० को दशकमा हुर्किएका महिलाहरूका लागि सम्बन्धविच्छेद निकै दुर्लभ विषय थियो। त्यति बेला सम्बन्धविच्छेदलाई समाजले आलोचना र तिरस्कारसँग जोड्थ्यो। अमेरिकाको क्यान्ससस्थित वासबर्न विश्वविद्यालयका समाजशास्त्रका सहप्राध्यापक साङयुब पार्क भन्छन्, ‘त्यति बेला महिलाका लागि सम्बन्धविच्छेद गर्नु भनेको जीवन नै समाप्त हुनुजस्तै मानिन्थ्यो।’

तर, बिसौँ शताब्दीको उत्तरार्धदेखि महिलाहरू रोजगारी र उच्च शिक्षामा प्रवेश गर्न थालेपछि अवस्था परिवर्तन हुन थाल्यो। पार्कका अनुसार, विशेष गरी पछिल्लो दशकमा जेनेरेसन एक्स (सन् १९६५–१९८० बीच जन्मिएका) मानिसहरू ५० वर्षको उमेरमा प्रवेश गरेसँगै ग्रे डिभोर्स उल्लेखनीय रूपमा बढेको छ। यो पुस्ता विश्वव्यापीकरणको प्रभावमा हुर्किएको पहिलो एसियाली पुस्ता थियो। उनीहरूले अमेरिकी टेलिभिजन, चलचित्र र लोकप्रिय संस्कृतिमार्फत व्यक्तिगत स्वतन्त्रता र पारिवारिक कर्तव्यभन्दा व्यक्तिगत रोजाइलाई प्राथमिकता दिने मूल्यमान्यता सिके। यसले सम्बन्धविच्छेदप्रतिको धारणा पनि बदलिदियो।
- तथ्याङ्कले पनि देखाउँछ परिवर्तन
दक्षिण कोरियामा सन् २०२५ मा पहिलोपटक ३० वर्षभन्दा बढी समयदेखि वैवाहिक सम्बन्धमा रहेका दम्पतीको सम्बन्धविच्छेद सङ्ख्या, पाँच वर्षभन्दा कम समय विवाह भएका दम्पतीको सम्बन्धविच्छेदभन्दा बढी भयो। ताइवानमा पनि लामो समय वैवाहिक सम्बन्धमा रहेका दम्पतीबीच सम्बन्धविच्छेद बढिरहेको त्यहाँको सरकारी तथ्याङ्कले देखाउँछ। हङकङका धेरै कानुनी फर्महरूले पनि ग्रे डिभोर्समा उल्लेखनीय वृद्धि भएको बताएका छन्।
चीनमा पनि पछिल्लो ३० वर्षमा वृद्धवृद्धाबीच हुने सम्बन्धविच्छेद दोब्बर भएको छ। तर, यसको एउटा कारण वृद्ध जनसङ्ख्या बढ्नु पनि हो। वृद्धहरूको सङ्ख्या बढेसँगै उनीहरूबीच सम्बन्धविच्छेद पनि स्वाभाविक रूपमा बढ्छ। अर्कोतर्फ युवाहरूले कम विवाह गर्न थालेकाले उनीहरूबीचको सम्बन्धविच्छेद पनि कम भइरहेको छ।
- कानुनी सुधारले महिलालाई दिएको आधार
महिलाका लागि भएको कानुनी सुधारले पनि ठुलो परिवर्तन ल्याएको छ। दक्षिण कोरियाले सन् २०१४ मा सम्बन्धविच्छेद हुँदा भविष्यको पेन्सन र अवकाश भत्तासमेत सम्पत्ति विभाजनमा समावेश गर्न सकिने निर्णय गर्यो।
यसले घरको सम्पूर्ण जिम्मेवारी सम्हालेर श्रीमान्लाई काम गर्न सहयोग गरेकी गृहिणीलाई सम्बन्धविच्छेदपछि श्रीमान्को वृद्धावस्थाको पेन्सनको हिस्सा पाउने अधिकार दियो। जापानले पनि सन् २००७ मा यस्तै व्यवस्था लागु गरेको थियो।
यी व्यवस्था विशेष गरी एसियामा वृद्ध गरिबीको उच्च दरका कारण अत्यन्त महत्त्वपूर्ण मानिन्छन्। ओईसीडी (OECD) सदस्य राष्ट्रहरूमध्ये ६५ वर्षभन्दा माथिका नागरिकमा गरिबीको दर दक्षिण कोरियामा सबैभन्दा उच्च छ। हङकङमा पनि अवस्था उस्तै छ भने जापानको दर पनि विश्व औसतभन्दा माथि छ।
- आर्थिक स्वतन्त्रता अझै चुनौती
यद्यपि कानुनी सुधार भए पनि लैङ्गिक असमानता अझै कायम छ। टोयामा भन्छिन्, ‘महिलाले सम्बन्धविच्छेद गर्न नसक्नुको मुख्य कारण आर्थिक रूपमा आत्मनिर्भर हुन नसक्नु हो।’
उनका अनुसार जापानमा महिलाले कम पारिश्रमिक पाउँछन्। एकपटक पूर्णकालीन गृहिणी बनेपछि श्रीमान् छोडेर स्वतन्त्र जीवन सुरु गर्नु निकै कठिन हुन्छ।
‘मेरा दुई छोरा छन्। यदि छोरी भएको भए म उसलाई सधैँ भन्ने थिएँ- जे भए पनि आफ्नो जागिर कहिल्यै नछोड।’
- ‘जीवनको नयाँ अध्याय’
समाजशास्त्री पार्कका अनुसार एसियाको एउटा साझा विशेषता भनेको लामो आयु पनि हो। ‘जब मानिसको जीवनमा थप २०–३० वर्ष बाँकी हुन्छ, उनीहरूले जीवनको अन्तिम चरणलाई फरक ढङ्गले हेर्न थाल्छन्,’ उनले भने। उनका अनुसार अहिले धेरै मानिस असन्तुष्ट वैवाहिक सम्बन्धमा बसिरहनुभन्दा नयाँ जीवन रोज्न तयार छन्। उनी भन्छन्, ‘सम्बन्धविच्छेद अब असफलता होइन, यो एउटा नयाँ सुरुआत हो।’
हङकङकी ५० वर्षीया इमान लाउले पनि यही अनुभव गरिन्। उनले विवाहलाई केवल सँगै खाना खाने, सँगै समय बिताउने र सामान्य जीवन जिउने सम्बन्धका रूपमा बुझ्थिन्। श्रीमान्को वर्षौंसम्मको विश्वासघातपछि पनि उनले आफूमा नै दोष खोजिरहिन्। अन्ततः सम्बन्धविच्छेदको प्रस्ताव भने श्रीमान्ले नै गरे।
लाउका अनुसार त्यो क्षण उनको जीवनको सबैभन्दा ठुलो झट्का थियो। तर, त्यसपछि उनले आफूले आफ्ना साथी, रुचि र आफ्नै पहिचान गुमाइसकेको महसुस गरिन्।

सम्बन्धविच्छेदपछि उनले नयाँ जीवन सुरु गरिन्। नयाँ साथीहरू बनाइन्। पदयात्रा, पौडी, कायकिङ, स्नोर्केलिङ गर्न थालिन्। पियानो सिक्न थालिन् र ज्याज सङ्गीत मन पराउन थालिन्। युरोप भ्रमणपछि उनले आफ्ना यात्राका तस्बिरहरू घरको भित्तामा सजाइन्, जसलाई उनी ‘खुसीको भित्तो’ भन्ने गर्छिन्।
‘मलाई थाहा नै थिएन, एक्लैको जीवन यति सुन्दर हुन सक्छ,’ उनले भनिन्।
- ‘सबैभन्दा ठुलो कुरा– स्वतन्त्रता’
सम्बन्धविच्छेदपछि अहिले ६३ वर्षीया टोयामा पनि नयाँ जीवन बाँचिरहेकी छन्। उनी टिकटकमा लाइभ प्रसारण गर्छिन्, सन्देश एपमार्फत मानिसहरूलाई परामर्श दिन्छिन् र विवाह एजेन्सी तथा प्रत्यक्ष कार्यक्रम सञ्चालन गर्ने कम्पनी सुरु गर्ने योजनामा छिन्।
‘३२ वर्षसम्म मैले केही गर्न सकिनँ। अहिले भने मन लागेको सबै गर्न सक्छु,’ उनले भनिन्। उनका अनुसार सम्बन्धविच्छेदको प्रक्रिया सजिलो थिएन, तर अहिलेको कुनै पनि कठिनाइ पूर्वश्रीमान्सँग बिताएको चिन्ताभन्दा धेरै राम्रो छ।
‘सबैभन्दा ठुलो कुरा के हो भने– अहिले मसँग स्वतन्त्रता छ।’
- नयाँ पुस्ताको फरक दृष्टिकोण
दुवै महिलाले सम्बन्धविच्छेदको खबर सुनाउँदा मानिसहरूको प्रतिक्रिया पुस्ताअनुसार फरक भएको अनुभव गरेका छन्। टोयामालाई अधिकांशले सकारात्मक प्रतिक्रिया दिए। कतिपयले त उनको निर्णयप्रति ईर्ष्यासमेत व्यक्त गरे। तर लाउ भन्छिन्, ‘मेरो उमेरका साथीहरूले यसलाई परिवारमा कसैको मृत्यु भएजस्तै दुःखद विषय ठान्छन्। उनीहरू ‘मलाई दुःख लाग्यो’ मात्र भन्छन्।’
‘तर जेन–जी पुस्ताका युवाहरू भने मलाई बधाई दिन्छन्।’
- भविष्यमा के हुन्छ ?
समाजशास्त्री पार्कका अनुसार मिलेनिअल पुस्ता वृद्धावस्थामा पुगेपछि ग्रे डिभोर्सको वृद्धि केही स्थिर हुन सक्छ, किनभने उनीहरूको विवाह र सामाजिक परिवेश अघिल्लो पुस्ताभन्दा फरक थियो। तर, त्यो अवस्था आउन अझै करिब एक दशक लाग्ने भएकाले त्यसअघिसम्म ग्रे डिभोर्स बढिरहने सम्भावना छ।
लाउले भविष्यमा सम्बन्धविच्छेद गर्नेहरूलाई एउटा सन्देश दिन्छिन्, ‘एसियाली समाजमा सम्बन्धविच्छेदलाई अझै पनि असफलताको दाग वा निषेधित विषयजस्तो हेरिन्छ। तर त्यो सत्य होइन।’ उनले थपिन्, ‘यसलाई आफ्नो जीवन अझ उज्यालो, स्वतन्त्र र ऊर्जावान् बनाउने अर्को अवसरका रूपमा लिनुहोस्। त्यसका लागि केवल पहिलो कदम चाल्ने साहस चाहिन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण