शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

संसद भवन परिसरमा सांसदहरुको प्रतिक्रियाः कसले के भने ?

सोमबार, २५ पुस २०७९, १६ : ००
सोमबार, २५ पुस २०७९

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले पार्टीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । 
सोमवार प्रतिनिधि सभाको बैठक अघि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले काँग्रेसले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षको भुमिका खेल्ने बताएका हुन् । उनले जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर संसदमार्फत् सरकारलाई निर्देशन दिने पनि बताए । 
उनले संसदलाई वास्तविक रुपमा जनप्रतिनिधिको संस्थाको रुपमा विकसित गर्न आफूहरुको भूमिका हुने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले राप्रपाले राष्ट्रियता, सुशासन, विकास र सेवा प्रवाहको विषयलाई संसदमा सशक्त ढंगले उठाउने बताए । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरीले सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताइन् । उनले भनिन्, ‘विश्वासको मत पक्कै पनि दिनेछौँ । हामीले प्रधानमन्त्रीजीलाई राष्ट्रपतिसमक्ष समर्थन गरेर गइसकेपछि हामीले प्रधानमन्त्रीजीलाई विश्वासको मत दिनेछौँ ।’

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले आफूहरुले शिक्षा, स्वास्थ्य, रोजगारी र किसानका मुद्दालाई प्राथमिकतामा राखेर संसदमा प्रश्तुत हुने बताए । उनले देशलाई दुई वर्षभित्र पूर्ण साक्षर बनाउने र विद्यार्थीहरुलाई सर्वसुलभ शिक्षा दिलाउनुपर्ने बताए ।  डा. राउतले नागरिक उन्मुक्ति पार्टीसँग आफूहरुको धेरै एजेण्डा मिल्ने भएकाले कार्यगत एकता गरेको उल्लेख गरे । 

स्वतन्त्र रुपमा निर्वाचित सांसद अमरेशकुमार सिंहले आफूले संसदमा सुशासनको कुरा उठाउने बताए । उनले अर्थतन्त्र कमजोर भएकाले अर्थतन्त्रलाई सुचारु गर्ने सम्बन्धमा पनि संसदमार्फत झक्झकाउने बताए । 
नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले नीति निर्माणको तहमा देखिएका समस्या समाधानका लागि आफ्नो भूमिका हुने बताए । उनले देशको विकास र समृद्धिका लागि भएका नीतिगत समस्याहरुको गाँठो फुकाउन आफू क्रियाशिल हुने बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप