शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको प्रश्न– हामीले सधैँ आन्दोलनमात्रै गर्नुपर्ने हो ?

सोमबार, २५ पुस २०७९, २० : १५
सोमबार, २५ पुस २०७९

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा मेडिकल शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको दैनिकी हिजोआज फरक देखिन्छ । पढाईप्रति केन्द्रित हुनुपर्ने उनीहरू अचेल जिन्दाबाद र मुर्दाबादको नारा लगाउन बाध्य छन् ।

आफूमाथि भइरहेको अन्याय तथा मेडिकल शिक्षाभित्रका विकृति तथा विसंगतिका विरूद्धमा उनीहरू आन्दोलन गर्दै आएका छन् । उनीहरूले विभिन्न माग राखेर डीनको कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय लगायतमा तालाबन्दी गर्दै आएका छन् । तालाबन्दी गर्दै आएका विद्यार्थीहरूमाथि प्रहरीले हस्तक्षेप गर्दै आएको छ ।

एमबीबीएस दोस्रो वर्षमा अध्ययरत विद्यार्थीहरू, शुल्क बढाएको विरोध गरिरहेका विद्यार्थीहरू तथा बेरिअर प्रणालीका विरुद्धमा आन्दोलन गरिरहेका विद्यार्थीहरूले डीनको कार्यालयमा तालाबन्दी गर्दै आएका छन् । उनीहरूले डीन प्रा. डा. दिव्या सिंह आईओएमको नेतृत्व गर्न असफल भइसकेको भन्दै राजीनामा माग गरिरहेका छन् ।

उनीहरूको पहिलो माग भनेको दोस्रो वर्ष उत्तीर्ण भएका तर, प्रथम वर्षको परीक्षा दिन बाँकी रहेका विद्यार्थीहरूलाई तेस्रो वर्षको कक्षामा उपस्थिति गराउनुपर्ने छ । आईओएमले दोस्रो वर्ष उत्तीर्ण भएका तर, प्रथम वर्षको परीक्षा दिन बाँकी रहेका विद्यार्थीहरूलाई तेस्रो वर्षमा प्रवेश नदिने बताएको छ । विद्यार्थीहरू त्यसकै विरुद्धमा आन्दोलन गर्दै आएका हुन् । 

त्यस्तै, दोस्रो मागको रूपमा बेरिअरमा परेका विद्यार्थीहरू आन्दोलनमा छन् । उनीहरूले दोस्रो वर्षको नियमित वा पुरक परीक्षामा सामेल गराउनुपर्ने माग गरेका छन् । कलेज तथा आईओएमले नयाँ नयाँ नियम ल्याउँदा विद्यार्थीहरू मानसिक पीडामा पर्ने भन्दै उक्त कार्यसमेत बन्द गर्न उनीहरूको माग छ ।

सन् २०१८ ब्याज तथा २०१९ ब्याजका एमबीबीएस तथा बीडीएसका विद्यार्थीहरूले दोस्रो वर्ष उत्तीर्ण गरेको र प्रथम वर्षको नियमित परीक्षा दिएसँगै पुरक परीक्षाका लागि तयारी गरिरहेको विद्यार्थीहरूको भनाइ छ ।

नियमानुसार दोस्रो वर्षको परीक्षामा अनुत्तीर्ण भएमा एक वर्ष तयारी गरेरमात्र तेस्रो वर्षमा जानुपर्ने नियम थियो । प्रथम वर्षको हकमा दोस्रो वर्षको पुरक परीक्षा दिए लगत्तै आउने प्रथम वर्षको परीक्षा दिएपछि तेस्रो वर्षको कक्षा उपस्थिति भई नियमित परीक्षा दिन पाउने नियम थियो । तर, विद्यार्थीहरूलाई उनीहरू भर्ना भएको दुई वर्षपछि २०७८ पुस १८ गते प्रकाशित नियमानुसार उनीहरूलाई अध्ययन गर्न नै बञ्चित गराइएको पीडित विद्यार्थीहरूको भनाइ छ ।

उनीहरू कोरोना महामारी तथा मेडिकल कलेजले लिने गरेको चर्को शुल्कका विरुद्ध आन्दोलन गर्दै गर्दा पठनपाठनमा समस्या परेको थियो । आफूहरूलाई डीन कार्यालयले अभिभावकीय जिम्मेवारी निर्वाह गरेर सहजीकरण गर्नुपर्नेमा विद्यार्थीहरूलाई अवैज्ञानिक नियम लागू गरी पीडित थप मर्कामा पार्ने काम भएको उनीहरूको भनाइ छ ।

विद्यार्थी भर्ना भएको दुई वर्षपछि बनाइएको नियम नयाँ भर्ना भएका विद्याथीहरूमा लागु हुनुको साटो पहिल्यै विभिन्न कारणले पीडित भएका विद्यार्थीहरूमाथि समेत लाद्न खोजिएको उनीहरूको आरोप छ ।पीडित विद्यार्थीका समस्या समाधान गर्नुको साटो उल्टै धम्की दिने, उनीहरूका समस्या सुन्नै नखोज्ने, आफ्नो जिम्मेवारीबाट भाग्ने जस्ता कार्य गर्दै आएको गुनासो विद्यार्थीहरुले गरेका छन् ।

आईओएमले नियमित परीक्षाको नतिजा आएको ६ हप्ताभित्रमा पुरक परीक्षाको समय तोक्नुपर्ने नियम छ । तर, आईओएमले ६ महिनासम्म लम्ब्याउँदै आएको छ । जसले गर्दा पीडित विद्यार्थीहरूको हाजिरी ८ महिना नपुगेकै कारण विद्यार्थीहरूको एक वर्ष खेर जाने अवस्था आएको उनीहरूको भनाइ छ ।

विद्यार्थीहरूले ८ पुसमा डीनको कार्यालयलाई २४ घण्टे अल्टिमटम दिएका थिए । तर, मागका विषयमा कुनै सुनुवाइ नभएपछि उनीहरूले गत सोमबारदेखि आन्दोलन थालेका थिए । आन्दोलन गर्दै आएका विद्यार्थीहरूमाथि प्रहरीले धरपकड गर्दै आएको छ । डीनको कार्यालयमा चर्को शुल्क वृद्धिको विरोधको क्रममा प्रदर्शन गर्ने क्रममा सुरज मेहेतालाई प्रहरीले पक्राउ गरेको थियो ।

कलेज र विद्यार्थीलाई कारबाही गर्ने धम्की

सम्बन्धित कलेजले समस्याबारे कुनै सुनुवाइ नगरेपछि विद्यार्थीहरू डीनको कार्यालय गए । आफ्नो अभिभावकको रूपमा समस्या समाधानका लागि पहल गर्ने आशामा रहेका विद्यार्थीहरूलाई डीनको कार्यालयले उल्टै आचरणको कारबाही गर्ने धम्की दियो । त्यतिमात्र नभई प्रहरी प्रशासन बोलाएर उनीहरूलाई पक्राउ गर्न समेत लगायो ।

विद्यार्थीहरू दिनहुँ आएर विरोध प्रदर्शन गर्न थालेपछि डीनको कार्यालयले विद्यार्थी पढ्ने कलेज र विद्यार्थीलाई कारबाही गर्ने चेतावनीसहितको पत्र पठाएको छ । आफ्नो कलेजमा पढ्ने विद्यार्थीलाई सम्झाएर कुनै समस्या भए कलेजमार्फत आउन डीनको कार्यालयले भनेको हो । डीन कार्यालयका प्रशासन प्रमुख कृष्णहरि आचार्यले एक पत्र लेख्दै सम्बन्धित कलेजहरूलाई र विद्यार्थीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

यसरी कार्यालयमा आएर धर्ना दिने, तालाबन्दी गर्ने जस्ता कार्य गरेको पाइएमा विद्यार्थीहरूलाई आचरण सम्बन्धी व्यवस्था बमोजिम कारबाही गर्ने चेतावनी डीन कार्यालयले दिएको छ । त्यस्तै आगामी दिनमा समेत यस्ता कार्य दोहोरिएको खण्डमा सम्बन्धित कलेजहरूलाई समेत त्रिवि नियमानुसार कारबाही गर्ने डीन कार्यालयको चेतावनी छ ।

s1s 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप