बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

सभामुखमा एमालेभित्रै प्रतिस्पर्धा, उपसभामुखमा राप्रपा र रास्वपाबीच रस्साकस्सी

मङ्गलबार, २६ पुस २०७९, ०६ : ४९
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता साझेदारीका क्रममा प्रधानमन्त्री र सभामुख आलोपालो गर्ने सहमति भइसकेको छ । सोही अनुसार प्रचण्ड प्रधानमन्त्री भएपछि सभामुख एमालेबाट हुने भएको छ । तर, एमालेबाट सभामुख को हुने भन्ने विषयमा अझै टुङ्गो लाग्न सकेको छैन ।

यस्तै उपसभामुखमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरेका छन् । अहिलेसम्म उपसभामुख पद कसले पाउने भन्ने पनि गठबन्धनभित्र टुंगो लागिसकेको छैन ।

एमालेले सभामुख पाउने भएपछि पार्टीभित्र आकांक्षीहरु लविङमा लागेका छन् । अध्यक्ष ओलीले सभामुख बन्न सुवास नेम्वाङलाई प्रस्ताव गरेका थिए । नेम्वाङले राष्ट्रपतिमा जाने इच्छा देखाएपछि ओलीले अहिलेसम्म अन्य कुनै नेतालाई सभामुखका लागि प्रस्ताव गरेका छैनन् ।

सभामुख बन्न एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य विद्या भट्टराईले इच्छा देखाएका छन् । पार्टीका उपमहासचिव गुरुङले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री समेत भइसकेकाले सभामुख बन्न योग्य रहेको बताउने गरेका हुन् ।

पार्टीको सिनियर नेतासमेत भएकाले सभामुख बन्दा राम्रो हुने गुरुङको भनाइ छ । ‘मेरो सभामुखमा दाबी रहन्छ । पार्टीको सिनियर नेतापनि हुँ । जिम्मेवारी पाए काम गर्न सक्छु भन्ने छ’ गुरुङले भने, ‘आफ्नो के मा दाबी छ त्यसैमा भन्ने हो । मेरो सभामुखमा दाबी छ ।’

यस्तै रुपन्देही–१ बाट निर्वाचित पार्टी सचिव छविलाल विश्वकर्माले पनि सभामुखमा दाबी गरेका छन् । यसअघि सांसद र मन्त्री भइसकेकाले सभामुख पद पाएमा कुशलतापूर्वक भूमिका निर्वाह गर्न सक्ने भन्दै उनले आफ्नो पक्षमा नेताहरुसमक्ष लविङ गर्न थालेका हुन् ।

यस्तै महिलाबाट विद्या भट्टराईले सभामुखमा दाबी गरेकी छन् । यद्यपि उनको दाबी पार्टीभित्र सशक्त हुन सकेको छैन । पार्टी सचिव टोपबहादुर रायमाझीलाई यसअघि नै ओलीले सभामुख बन्न आग्रह गरेको उनी निकट एक नेताले बताए । तर, रायमाझी मन्त्री बन्ने दौडमा भएकाले सभामुख नबन्ने ती नेताको भनाइ छ ।

सभामुख पदका लागि एमालेभित्र तीव्र लविङ भइरहे पनि पार्टीमा त्यस विषयमा छलफल नभएको केन्द्रीय सदस्य विष्णु रिजालले बताए । ‘सभामुखको चुनाव माघ ७ गतेसम्म गरिसक्ने तयारी छ । अहिले विश्वासको मत लिने, त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने काम हुन्छ,’ रिजालले भने, ‘त्यसपछि मात्रै पार्टीबाट सभामुखमा को जाने भन्ने विषयमा छलफल भएर निर्णय हुन सक्छ ।’

पार्टी अध्यक्षले सभामुखमा कसैलाई बचन नदिएकाले अहिले नै भन्न गाह्रो रहेको रिजालले बताए । यस्तै उपसभामुखमा राप्रपा र रास्वपाले दाबी गरेका छन् । सात प्रदेशको भागबण्डामा राप्रपाले एक सभामुख पाएको छ भने रास्वपाको प्रदेशमा प्रतिनिधित्व छैन । प्रदेशमा राप्रपा र रास्वपाले चित्त बुझ्दो भागबण्डा नपाएकाले दुबै दलले उपसभामुख छोड्न मानेका छैनन् ।

राप्रपाले प्रदेशमा एउटामात्र भए पनि सभामुख पाएकाले संघीय संसदको उपसभामुख रास्वपाले लिन सक्ने देखिएको छ । तर, राप्रपाले उपसभामुख पद सजिलै छोड्ने अवस्था देखिएको छैन । उता रास्वपाले उपभामुख पाएमा सोविता गौतमलाई बनाउने तयारी गरेको छ ।

कानुन विषयमा जानकार भएकाले गौतमलाई उपभामुख बनाए प्रभावकारी हुने नेताहरुको बुझाइ छ । तर, प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सभामुख एमालेले लिने सहमति भए पनि उपसभामुख कसले लिने भन्ने विषयमा टुंगो लागिनसकेको बताइन् ।

‘अब प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ । त्यसपछि सहमतिमा मन्त्रिपरिषद विस्तार हुन्छ । त्यस लगत्तै सभामुख र उपसभामुख दुबै टुंगो लाग्छ,’ दाहालले भने, ‘अहिले सभामुख र उपसभामुखको भागबण्डा र को हुने भन्ने विषयमा पात्रको फाइनल भएको छैन ।’ आगामी माघको पहिलो साताभित्र सभामुख र उपसभामुख टुंग्याइने दाहालले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप