बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाका मन्त्री भक्ति सिटौलालाई प्रश्न–अब प्रदेश भत्काउने कि बनाउने ?

मङ्गलबार, २६ पुस २०७९, २० : ०५
मङ्गलबार, २६ पुस २०७९

विराटनगर । गत पुस ११ गते प्रदेश १ का नवनियुक्त सांसदहरुको शपथ ग्रहण समारोहका क्रममा राप्रपाका सांसद भक्तिप्रसाद सिटौलाले प्रदेशमा आएर प्रदेश नै भत्काउने बताए । उनले त्यतिमात्रै नभएर ‘मन्त्री भएर पनि प्रदेश सरकार, प्रदेशसभा खारेज गर्न भूमिका खेल्ने हो, त्यसका लागि पनि तलब खानुपर्ने भयो’ पनि भने ।

अहिले उनै सांसद सिटौला प्रदेश १ को मन्त्री बनेका छन् । उनको मन्त्रालय भने तोकिएको छैन । प्रदेशसभाको दोस्रो बैठकका क्रममा संसद सचिवालयमा भेटिएका उनलाई सञ्चारकर्मीले सोधे, ‘मन्त्री त हुनुभयो, अब प्रदेश भत्काउने कि बनाउने ?’

उक्त प्रश्नको जवाफमा उनले भने, ‘सेवा प्रवाहमा चुस्त दुरुस्त बनाउने हो, जनताको काम गर्ने हो, प्रदेश त खारेज गर्ने हाम्रो एजेण्डा हो ।’

प्रदेश मन्त्रालय चाहिँ बिगार्ने कि नबिगार्ने भन्ने प्रश्नमा उनले भने, ‘बिगार्नुभन्दा पनि यसको आवश्यकता नभएको प्रस्ट छ । यो प्रमाणित गर्न लाग्छौं । जनतालाई सेवा सुविधा दिन त लाग्छौं नि ।’

प्रदेश नै खारेज गर्ने, बिगार्ने भन्नुहुन्छ अनि सरकारी गाडीमा झण्डा हल्लाएर हिँड्न नैतिकताले दिन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी संविधान मानिरहेका छौं । सेवा सुविधा भनेको संविधानभित्र रहेर नै लिन्छौं । तर, हाम्रो एजेण्डा भनेको प्रदेश खारेज गर्ने नै हो । नैतिकताको विषय भनेको तपाईसँग छुट्टै बसेर बहस गरौंला ।’

उनले आफ्नो मन्त्रालय कुन भन्ने दुई तीन दिनमा टुंगो लाग्ने बताए । आफूले मन्त्रालयको जिम्मा लिएर काम गर्दा सेवा सुविधामा चुस्तता ल्याउने र सुशासन कायम गर्ने पनि उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रदेश १ राप्रपा संसदीय दलका नेता समेत रहेका उनले प्रदेशसभा सदस्यको शपथ ग्रहणपछि गत पुस ११ गते सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ‘घरभित्रै पसेर घर भत्काउन सकिने’ बताएका थिए । उनले आफूहरु प्रदेश भत्काउन लाग्ने पनि बताएका थिए ।

‘हामीले प्रदेशसभा जरुरत छैन भनेका छौं । प्रदेशसभाले नेपाली जनतालाई आर्थिक भारमात्रै थपेको छ । आज विदेशसँग ऋण लिएर आएर प्रदेशसभाका सदस्यहरुलाई तलबभत्ता खुवाउनु परेको छ । यो वाहियत हो,’ उनले भने, ‘केन्द्र सरकारले स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ भन्ने हामी प्रमुख रुपमा उठाउँछौं । भत्ता खानेमा म पनि पर्छु । तर स्वभावैले बिगार्न लाग्दा पनि भोको पेट त हुँदैन । घर भत्काउन पनि भोको भत्काउन सकिँदैन नि त ?’

सिटौलाले भनेका थिए, ‘बाहिरबाट कराएर घर भत्काउ भनेर हुँदैन रहेछ । प्रदेशसभामा भाग लिएको पनि त्यहीका लागि हो । हामी चुनाव लड्दा नै प्रदेश खारेजको मुद्दा लिएर चुनाव लडेका हौं । हाम्रो उपस्थिति नहुँदा प्रदेशसभा भंग हुने वा हाम्रो भोटले प्रदेशसभा खारेज हुने गरी नभएको कारण हामी भाग लिएर एजेण्डा उठाउँछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप