शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

गण्डकीमा सभामुख र उपसभामुख बन्न दौडधुप

बिहीबार, २८ पुस २०७९, १३ : १६
बिहीबार, २८ पुस २०७९

पोखरा । प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार गण्डकीमा माघ ३ गते भित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । 

गण्डकीमा सत्ता गठबन्धनबाट माओवादीबाट सभामुख र उपसभामुख एमालेबाट हुने निश्चित भइसकेको छ । यो सँगै सभामुख र उपसभामुख बन्न नेताहरू दौडधुपमा लागेको छन् । निर्वाचन हुन अब केही दिन मात्र बाँकी हुँदा माओवादीले सभामुख र एमालेले उपसभामुख कसैलाई तोकेको छैन । 

यसकारण सांसदहरू सभामुख र उपसभामुख बन्न लबिङ सुरु गरेका छन् । सभामुखमा माओवादीबाट कृष्ण धिताल र सुशीला सिम्खडा दौडमा छन् । तर, माओवादीका दलका नेता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले यस विषयमा पार्टीमा छलफल नभएको जिकिर गरे । उनले बिहीबार बेलुकासम्म संसदीय दलको बैठक बसेर सभामुखको उम्मेदवार टुङ्गोमा पुर्‍याउने सुनाए । ‘अहिलेसम्म को हुने भन्ने टुङ्गोमा पुगेका छैनौँ । यद्यपि एक दुई जना साथीहरूले इच्छा देखाइरहनुभएको छ । उहाँहरू मध्येबाट पार्टीमा छलफल हुन्छ सोही अनुसार बिहीबार बेलुकासम्म नाम टुङ्गिन्छ,’ नेता चुमानले भने ।  

‘मेरो व्यक्तिगत इच्छा भन्दा पनि पार्टीले निर्णय गर्छ । मेरो त्यहीमा सहमति हुन्छ । मेरो अहिले यो वा त्यो पद भन्ने छैन,’ धितालले भने । 

स्रोतका अनुसार नेताहरूले गण्डकीको सभामुखमा कृष्ण धिताललाई बनाउनुपर्ने जोड गरिरहेका छन् । तर, धितालले सभामुखभन्दा पनि मन्त्रीको आकाङ्क्षा देखाएकाले थप छलफलमा माओवादी नेताहरू जुटेका हुन् । ‘माओवादी एक सांसदका अनुसार धितालले आफूले सभामुख भन्दा पनि मन्त्री पाउनुपर्छ भनेर केन्द्रीय नेतासँग लबिङ गर्नुभएको छ । तर, हामीहरूले उहाँलाई सभामुखकै भूमिका निभाउनुपर्ने जोड गरिरहेका हौँ,’ ती सांसदले भने ।

धिताललाई माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सभामुख बन्न सुझाव दिएको पार्टी स्रोत बताउँछ । ‘पार्टी अध्यक्ष पनि गोरखाबाट चुनाव लड्नुभएको यस कारण गोरखाबाट सभामुख बनाउनुपर्छ भन्ने उहाँको जोड छ । उहाँले सभामुखभन्दा मन्त्रीमा इच्छा देखाएकाले हामी टुङ्गोमा पुग्न नसकेका हौँ,’ उनले भने ।  

एमाले नेता तथा गण्डकीका सचिव धनञ्जय दवाडीले माओवादीले महिला वा पुरुष भनेर टुङ्ग्याएपछि मात्र पार्टीको बैठकले निर्णय गर्ने बताए ।

धितालले पनि आफू मन्त्री बन्ने चाहेको सङ्केत गरे । यद्यपि धितालले पार्टीले गरेको निर्णय नै अन्तिम हुने बताउँछन् । ‘मेरो व्यक्तिगत इच्छा भन्दा पनि पार्टीले निर्णय गर्छ । मेरो त्यहीमा सहमति हुन्छ । मेरो अहिले यो वा त्यो पद भन्ने छैन,’ धितालले भने ।  यता सुशीला सिम्खडा पनि सभामुख बन्न सकारात्मक छिन् । उनले पनि आफूलाई पार्टीले जुन पदका लागि योग्य सम्झन्छ साही अनुसार अगाडि बढ्ने बताउँदै आएकी हुन् ।  

यता एमालेलाई पनि माओवादीले सभामुख नटुङ्ग्याउँदा उपसभामुख टुङ्ग्याउन मुस्किल परेको हो । सभामुख वा प्रदेश उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संवैधानिक व्यवस्था हुँदा एमालेबाट महिला वा पुरुष कसलाई पठाउने अलमल भएको छ । 

एमाले नेता तथा गण्डकीका सचिव धनञ्जय दवाडीले माओवादीले महिला वा पुरुष भनेर टुङ्ग्याएपछि मात्र पार्टीको बैठकले निर्णय गर्ने बताए । ‘पहिलो कुरा त सत्ता गठबन्धनमा एमालेले उपसभामुख पाउने सहमति भएको छ । सोही अनुसार पहिले माओवादीले सभामुख टुङ्ग्याउन पर्ने हुन्छ । उहाँहरूले निर्णय गर्ने बित्तिकै हाम्रो प्रक्रियामा अगाडि बढ्छौँ,’ दवाडीले भने ।

 संविधानमा पनि उपसभामुख फरक फरक दलको प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था छ । स्रोतका अनुसार एमालेबाट उपसभामुखमा महिला भन्दा पुरुष सांसदले बढी इच्छा देखाइरहेका छन् । यद्यपि पुरुषले पाउने चान्स कम छ । पुरुषतर्फ भीम कार्की र गोविन्द नेपालीले इच्छा देखाइरहेको छन् भने, महिलातर्फ पद्मा जिसीले आकाङ्क्षी देखाएका एमाले एक नेताले बताए । ‘पुरुष भए कास्कीबाट भीम कार्कीको प्रबल सम्भावना छ भने महिला भए सर्वसम्मत पद्मा जिसी हुनुहुन्छ,’ ती नेताले भने । मुख्यमन्त्री खगराज अधिकारी पनि उपसभामुख कास्कीबाट बनाउन चाहन्छन् । कास्कीले मुख्यमन्त्री पाएपछि मन्त्री पाउने सम्भावना निकै कम हुँदा उपसभामुख कास्कीबाट बनाउने अधिकारीको भित्री चाहना छ । यस कारण अधिकारीले पुरुष भए कार्कीलाई बनाउन इच्छा देखाएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप