सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
विमान दुर्घटना

बीमा कम्पनीमार्फत विमानका यात्रु र क्याबिन क्रुका आफन्तले कति रकम पाउँछन् ?

सोमबार, ०२ माघ २०७९, १४ : ३६
सोमबार, ०२ माघ २०७९

पोखरामा हिजो आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेर ७२ जनाले ज्यान गुमाएका छन् । यतिको एटीआर–७२ विमान दुर्घटनामा पर्दा ६८ जना यात्रुसहित ४ जना क्याबिन क्रुले समेत ज्यान गुमाएका छन् ।

यससँगै, उक्त विमान दुर्घटनामा परेर ज्यान गुमाउने यात्रु, परिचारिका र पाइलटको बीमा बापतको रकम भुक्तानीको प्रक्रिया अघि बढेको छ । यति एयरलाइन्सले हिमालयन एभरेस्ट इन्सूरेन्समा बीमा गरेको थियो । कम्पनीले दुर्घटनामा परेको उक्त विमान हिमालयन एभरेस्ट इन्सूरेन्समा बीमा गरेको कम्पनीका प्रबन्ध कार्यकारी प्रमुख कमल गौतमले जानकारी दिएका छन् ।

उनले रातोपाटीसँग भने, ‘कम्पनीले विमानको बीमा हिमालयन एभरेस्टमा गरेको थियो । बीमा सम्झौताअनुसार जहाजको दुर्घटना भएसँगै बीमा भुक्तानी प्रक्रिया अघि बढाइएको छ ।’ गौतमले एयरलाइन्स कम्पनीहरूले आफ्ना एयरक्राफ्टको बीमा गरेको हुने र सोही बीमाले यात्रु समेत कभर गर्ने जानकारी दिए ।

एयरलाइन्स कम्पनीले बीमा कम्पनीमा यात्र, परिचालिका र पाइलटको छुट्टाछुट्टै बीमा गराएका हुन्छन् । गौतमका अनुसार विमान दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुको बीमा प्रतिव्यक्ती २० हजार अमेरिकी डलर हुन्छ । यसअनुसार दुर्घटनामा ज्यान गुमाउने यात्रुका आफन्तले प्रतियात्रु २० हजार डलर पाउनेछन् । 

यस्तै, विमान परिचालिकाले ४० हजार अमेरिकी डलर र पाइलटले १ लाख डलर पाउने गौतमले बताए । यसअनुसार यतिले ६८ जना यात्रुको बीमा बापत १३ लाख ६० हजार डलर भुक्तानी गर्नुपर्ने छ । यस्तै, २ जना परिचालिकाको बीमा बापत ८० हजार अमेरिकी डलर र पाइलटको बीमा बापत २ लाख डलर भुक्तानी गर्नुपर्ने हुन्छ । यसअनुसार बीमा कम्पनीले यात्रु, क्याबिन क्रुु र विमानको समेत गरी करोडौंको भुक्तानी गर्नुपर्ने देखिएको छ ।

बीमा कम्पनीहरूले बीमा गरेपछि अन्तर्राष्ट्रिय रि–इन्स्योरेन्स कम्पनीहरुमा जोखिमको बीमा गराउँछन् । सोहीअनुसार दुर्घटना लगत्तै सिंगापुरबाट सर्भेयर आउने र सर्भेयरको प्रतिवेदनअनुसार के–कति भुक्तानी गर्ने विषय खुल्ने बीमा कम्पनीको भनाइ छ । बीमा कम्पनीले यात्रु र क्याबिन क्रुसँगै विमानको बीमा रकम समेत भुक्तानी गर्नुपर्छ ।

 

सर्भेयरको सर्भेपछि भुक्तानी प्रक्रिया अघि बढाउने कम्पनीको योजना रहेपनि कति दिनमा भुक्तानी हुने भन्ने विषय अहिले टुंगो लागिनसकेको बीमा कम्पनीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप