सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
विमान दुर्घटना

एटीआर–७२ दुर्घटना :  दुर्घटनास्थल भन्दा डेढ किलोमिटर तल महिलाको शव फेला

थप शरीरको टुक्रा पनि भेटियो
मङ्गलबार, ०३ माघ २०७९, २० : २६
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । पोखराको सेतीको खोँचमा यती एयरलाइन्स प्रा.लिको ९–एन एएनसी एटीआर–७२ विमान दुर्घटनास्थल नजिकै थप एक जनाको शव भेटिएको छ । करिब डेढ किलोमिटर तल सेती किनारमा एक जना महिलाको शव भेटिएको हो ।

सो शव जहाज दुर्घटनामा परेको वा नपरेको बारे यकिन नभएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । ‘थप एक जना महिलाको शव भेटिएको छ’ एसपी केसी भन्छन्–‘विमान दुर्घटनामा मृत्यु भएको वा खोलाले बगाएर ल्याएको भन्नेबारे भेरिफाई गर्दैछौँ ।’

सशस्त्र प्रहरीका खोज तथा उद्धारकर्मीहरुले एउटा शवको टाउको र खुट्टा फेला पारेका छन् । थप भेटिएको शरीरको भागलाई गण्डकी अस्पतालमा राखिएको छ ।  विमानमा चालक दलका सदस्य सहित ७२ जना सवार थिए ।

सेतीको खोँचबाट सङ्कलन गरिएका मध्ये ३ वटा शवको आंशिक भाग मात्रै भेटिएको छ । ६९ वटा शवको पुरै भाग भेटिए पनि सबैको सनाखत हुन सकेको छैन । टुक्रा अवस्थामा फेला परेको शवलाई डिएनए परीक्षण गर्न काठमाडौँ पठाउने एसपी केसीले बताए ।

चिकित्सकहरूले नाङ्गो आँखाले पहिचान गर्न नसकेका ४८ शवलाई काठमाडौँमा ल्याइएको छ । काठमाडौँमा ल्याएका सबै शव पोस्टमार्टम गर्ने तयारी छ ।

गण्डकी अस्पतालमा २२ जनाको शव पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम गरिएका मध्ये २० वटा शव परिवारलाई हस्तान्तरण गरिएको एसपी केसीले जानकारी दिए । ‘दुई परिवारले भोलि लान्छौँ भनेका छन्’ एसपी केसी भन्छन्–‘पोस्टमार्टम गरेको एउटा शव परिवारको आग्रहमा काठमाडौँ पठाएका छौँ ।’

मंगलबारको खोज तथा उद्धार स्थगित गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले बुधवार फेरी खोजी कार्य जारी राखिने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप