बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अशोक राईका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिनबाट रोकियो जसपा

बुधबार, ०४ माघ २०७९, १२ : ०३
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारलाई दिएको समर्थन फिर्ता लिनबाट तत्कालका लागि रोकिएको छ ।  संघीय परिषद् अध्यक्ष अशोक राईको अडानका कारण पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिनबाट रोकिएको हो । 
मंगलबार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले पार्टी सरकारमा सहभागी नभएको विषयमा ब्रिफिङ गरेका थिए । अध्यक्ष यादवको कुरा सुनेपछि अधिकांश सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने सुझाव दिएका थिए ।

सत्ता साझेदार दलले जसपालाई अपमानजन व्यवहार गरेको कारण त्यहाँ बस्न नहुने धारणा अधिकांश सांसदको थियो । बैठकमा सहभागी एक सांसदले भने, ‘हाम्रो पार्टीका अध्यक्ष उपेन्द्र यादवको कुरा सुन्दा त सरकारलाई एकछिन पनि समर्थन दिइरहनु हुँदैन जस्तो लागेको थियो । तर अर्का अध्यक्ष अशोक राईले सरकारलाई दिएको समर्थन फिर्ता लिन हतार गर्नुहुँदैन, दुई चार दिन हेरौं भनेपछि मात्र रोकिएको हो ।’
अध्यक्ष यादवले सत्ता साझेदार दलको बैठकमा सबै पदमा प्याकेजमै सहमति गरेर बाँडफाँट गर्नुपर्ने धारणा राखेका थिए । तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतमा सहमति भइसकेको भन्दै थप छलफल गर्न नसकिने बताएका थिए । 

 यस्तै मन्त्रालयका भागबण्डा पनि भइसकेकाले जसपालाई दुई वटा दिन सकिने बताएका थिए । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष अ‍ोलीले बसेर सबै टुग्यांइसकेपछि अन्य दललाई साक्षीको रुपमा मात्र सत्ता साझेदार दलको बैठकमा बोलाएको रहेको कुरा अध्यक्ष यादवले पार्टीको बैठकमा राखेका थिए ।

यादवले बैठकमा आफ्नो कुराको कुनै सुनुवाइ नभएको पनि बताएका थिए ।  संसदीय दलको बैठक आज पनि बस्दैछ । सो बैठकबाट थप केही निर्णय आउन सक्ने नेताहरुको भनाइ छ । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले हिजोको बैठकमा सांसदहरुले आफ्नो कुरा राखेको र आज त्यसको बारेमा थप छलफल हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप