बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसले बनायो विपक्षी मोर्चा, राष्ट्रपतिमा माओवादीको साथ पाउने आश

बिहीबार, ०५ माघ २०७९, २० : ५८
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । संसदको ठूलो दल नेपाली कांग्रेसले दोस्रो दल नेकपा एमालेलाई दखल दिने नीति लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा प्रतिस्पर्धा गर्याे । सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार सभामुखमा एमालेका देवराज घिमिरेविरुद्ध विपक्षी मोर्चा बनाएर कांग्रेस प्रतिस्पर्धामा आयो ।

बिहीबार भएको सभामुखको निर्वाचनमा कांग्रेसले देवराजविरुद्ध ईश्वरीदेवी न्यौपानेलाई मैदानमा उतार्यो । चुनाव ताकाको सहयात्री माओवादी केन्द्रलाई बोकेर नयाँ समीकरण बनाएपछि एमालेविरुद्ध कांग्रेसले आक्रोशित सुनिन्छ ।

एमालेविरुद्धको मार्चामा कांग्रेस सभामुखमा रणनीतिक रुपमा सफल भएन । परिणाम एमालेको पक्षमा आएको छ । एमालेका सांसद घिमिरे सभामुखमा निर्वाचित भएका छन् । प्रतिनिधिसभा बैठकमा उपस्थित २६८ जनामध्ये १६७ जनाको मत पाएर घिमिरे सभामुख बन्न सफल भए । एक जना सांसद तटस्थ बसे ।

सात दलीय सत्ता गठबन्धन र तीन जना स्वतन्त्र सांसदको मत घिमिरेले पाउँदा न्यौपानेलाई कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले साथ दिएका दिए । सभामुखको निर्वाचनबाट कांग्रेसको नेतृत्वमा चार दलीय विपक्षी मोर्चा बनेको छ । शनिबार हुने उपसभामुखको निर्वाचनमा पनि विपक्षी मोर्चाले उम्मेदवार खडा गर्ने नेताहरु बताउँछन् ।

सभामुखमा कांग्रेसले उम्मेदवारी दिएकाले विपक्षी गठबन्धनबाट एकीकृत समाजवादीले उपसभामुखमा उम्मेदवार दिने बुझिएको छ । सात दलीय गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिने छ । विपक्षी मोर्चाले उपसभामुखमा पनि परिणाम हात पार्ने सम्भावना न्युन छ । यही माघभित्र हुने राष्ट्रपति निर्वाचनसम्म सत्तासीन माओवादीको साथ पाउने विपक्षी मोर्चाको आशा छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने बताएका छन् । ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ’, शर्माको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाएअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुने शर्माको दाबी थियो ।

बिहीबार संसद भवनबाट पनि शर्माले जनताले सरकार र शीतलनिवासको नेतृत्वको अपेक्षा गरेर नै कांग्रेसलाई पहिलो दल बनाएको बताए । उनले भने, ‘अहिले हाम्रो सरकारमा जाने ध्यान छैन । तर, सबैभन्दा ठुलो दल भएकाले सभामुख, प्रधानमन्त्री या राष्ट्रपतिमा उम्मेदवारी दिने र बन्नेतर्फ लाग्नु सत्ताभित्रको साझेदारीको रुपमा बुझ्नुहुँदैन ।’

राष्ट्रपतिको निर्वाचनमा परिणाम हासिल गर्नेगरी तयारी लाग्न शर्माका भनाइ छ । यस्तै कांग्रेस सांसद प्रदीप पौडेलले भने कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार दिने भन्दै आजैदेखि समर्थन जुटाउने प्रयास लाग्ने बताए । ‘नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ । आजसम्मको परिस्थिति हेर्दा सहमति हुने सम्भावना देखिँदैन । तर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका निम्ति समर्थन जुटाउने प्रयास चाहिँ आजैदेखि गर्छौं,’ उनले भने ।

यस्तै कांग्रेस सांसद चन्द्र भण्डारीले सभामुख चुनावमा मिसन सफल नभए पनि राष्ट्रपतिको चुनावमा सफल हुने बताए । ‘हामी चार वटा पार्टी गठबन्धनमा भएका थियौं । सरकार बनाउने बेलामा त्यो टुट्यो,’ उनले भने, ‘आफ्नो पक्षको गठबन्धन टुटेपछि अर्को पक्षको गठबन्धन टुटाउन लागिरहन्छ, त्यो निरन्तर प्रक्रिया हो । मिसन सभामुख थियो, त्यो भएन । अब मिसन राष्ट्रपतिमा हुन्छ ।’

यता कांग्रेस संसदीय दलका मुख्यसचेतक रमेश लेखकले विपक्षी दलहरुसँग छलफल गरेर एकतावद्ध बनेर आगामी रणनीति तय गर्ने बताए । ‘आज नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा चार पार्टी एकै ठाउँमा छौं । करिब करिब हिजोको गठबन्धन कायम राखेका छौं,’ उनले भने ।

उनका अनुसार संविधानतः दलभन्दा माथि रहेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा प्रधानमन्त्री प्रचण्डबाट सर्वदलीय बैठकमा आएको राष्ट्रिय सहमतिको प्रस्तावलाई कांग्रेसले सकारात्मक रुपमा लिएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको प्रस्तावको प्रतिवादमा उत्रिएपछि विपक्षी मोर्चा बनाएर सभामुख र उपसभामुखमा प्रतिस्पर्धा रोजेको कांग्रेसका नेताहरुको भनाइ छ । अघिल्लो संसदमा सभामुखका दुईवटै निर्वाचनमा संसदमा सभामुखको भूमिका निष्पक्ष हुनुपर्ने भएकाले दलीय आधारमा प्रतिस्पर्धा गर्दा राम्रो सन्देश नजाने तर्क कांग्रेसले गरेको थियो । सोही आधारमा त्यतिबेला उम्मेदवार नउठाएको कांग्रेसले अहिले प्रतिस्पर्धाको नीति लिएको छ ।

विश्वासको मत दिनुअघि राष्ट्रपतिमा सहयोग गर्ने प्रचण्डको संकेतले कांग्रेसले आश मारेको छैन । प्रधानमन्त्री प्रचण्डले आज पनि राष्ट्रपति र उपराष्ट्रपतिबारे समझदारीको कोसिस भइरहेको बताएका छन् । राष्ट्रपतिमा चाहिँ के हुन्छ नि भन्ने प्रश्नमा उनले भने, ‘राष्ट्रपतिको कुरा अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मेरो पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं ।’

तर एमाले ओलीले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारमा मात्र राष्ट्रिय सहमति हुनुपर्ने टिप्पणी गरेका छन् । ‘नेकपा एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ । त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ, हाम्रो सहमति पनि त्यही हो,’ उनले सञ्चारकर्मीसँग भने ।

कांग्रेसले गठबन्धन भत्काउँछौं, हाम्रो उम्मेदवार राष्ट्रपति हुन्छ भनेको छ नि भन्ने प्रश्नमा ओलीले हाँस्दै ‘ठीकै छ’ भने । एमालेबाट राष्ट्रपतिको उम्मेदवार को ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा ओलीले ‘पछि भनौंला’ भन्ने जवाफ दिएका छन् । ओली मंगलबारको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्रीको राष्ट्रिय सहमतिको प्रस्तावको प्रतिवादमा उत्रिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप