शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
सरकार

सस्तो लोकप्रियतामा रमाउँदै सरकारका मन्त्रीहरू

आइतबार, ०८ माघ २०७९, ०६ : ३३
आइतबार, ०८ माघ २०७९

स्वास्थ्य मन्त्री र राज्यमन्त्रीले एउटै कार्यक्रममा सँगै रिबन काटेको एउटा फोटो सामाजिक सञ्जालमा यतिबेला चर्चामा रहेको छ । 

बिहीबार बिहान वीर अस्पतालले सुरु गर्न लागेको क्याथ ल्याब सेवाको उद्घाटन कार्यक्रम थियो । सो ल्याबको उद्घाटन गर्नका लागि स्वास्थ्य मन्त्री पदम गिरीलाई डाकिएको थियो, सो सेवा मन्त्री गिरीबाट उद्घाटन गरिएको भनेर बोर्ड पनि टाँसिएको थियो । तर स्वास्थ्य राज्यमन्त्री डा.तोशिमा कार्कीले पनि उद्घाटन गर्ने रहर गरेपछि ढोकामा २ वटा रिबन बाँधियो । माथिल्लो भागको रिबन मन्त्री गिरीले काटे भने तल्लो भागमा राखिएको  रिबन राज्यमन्त्री कार्कीले काटेर उद्घाटन गर्ने काम गरियो । 

पुराना दल र पुराना नेताले गर्ने कार्यशैलीको विरोध गर्दै उदाएका नयाँ दलका सांसदले पनि उही पुरानै शैलीको उद्घाटनको तरिका अपनाएपछि राज्यमन्त्री कार्कीको आलोचना सुरु भएको हो । 

नयाँ सरकार गठन भएको एक महिना नपुग्दै सरकारका मन्त्रीहरू काम भन्दा चर्चाको पछि दगुर्न थालेका छन् । दीर्घकालीन परिणाम दिने काम सुरु गर्नुभन्दा पनि सस्तो लोकप्रियताको पछाडि मन्त्रीहरू कुदिरहेका हुन् । 

प्रधानमन्त्रीदेखि सरकारका मन्त्रीहरू अनुगमन तथा अन्य चर्चामा आउने गतिविधिमा लाग्ने ‘स्टन्ट’ मा व्यस्थ हुन थालेको भन्दै सर्वसाधारण चिन्ता व्यक्त गरिरहेका छन् । यसरी सबैभन्दा धेरै ‘स्टन्ट’ गर्नेमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने देखिएका छन् । उनले मन्त्रालय सम्हालेदेखि नै चर्चाका कमाउने खालका कामकाज गरिरहेका छन् । 

पिर्के सलामी नदिने, पाए नछोड्ने ! 

मन्त्री पदमा निर्वाचित भएपछि गृहमन्त्री लामिछानेले मन्त्री क्वाटर पुल्चोक प्रवेशका क्रममा फिर्के सलामी हटाएर सलामी लिए । पुस १४ गते मन्त्री क्वाटर छिरेका उनले पिर्कामाथि नचढी सलामी लिए । सामाजिक सञ्जालमा उनले ठुलै काम गरे जसरी प्रशंसा गरियो । तर केही दिनपछि प्रहरीको मुख्यालय भ्रमणका क्रममा उनले पिर्कामाथि सलामी लिएपछि उनको आलोचना सुरु भएको थियो । 

आफ्नो कार्यक्षेत्रभन्दा बाहिर अनुगमन 

उपप्रधान तथा गृहमन्त्री भएलगतै लामिछानेले पहिलो अनुगमन राहदानी विभागमा गरे । राहदानी विभाग परराष्ट्र मन्त्रालय अन्तरगत पर्छ न कि गृह मन्त्रालय मातहत । उनले मन्त्रालयको क्षेत्राधिकार बाहिर गएर कर्मचारीहरूलाई लाइन व्यवस्थित गर्न, काम प्रभावकारी रूपमा गर्न निर्देशन समेत दिएका थिए । 

यस्तै मन्त्री लामिछानेले चर्चामा आउने गरेको अर्को काम हो आफूलाई राखिएको विशेष सोफा हटाउन लगाएर अरू प्रहरीका पदाधिकारी बसे सरहको सोफामा बसेका थिए । यो विषय पनि विभिन्न अनलाइन मिडियामा समाचार बनेको थियो । 

यस्तै मन्त्री लामिछानेले गृहमन्त्रालयको हलमा भएको भूकम्प सुरक्षा सम्बन्धी कार्यक्रम तयारीबारेको छलफलका क्रममा सो हलमापनि आपतकालीन अवस्थामा निस्कने अर्को ढोका बनाउन दिएको निर्देशन पनि समाचार बनेको थियो । यस्तै पुस २८ गते चितवन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रीले भिआइपी कक्ष प्रयोग गरेर विमान चढ्ने गरे पनि उनी बसमा उभिएर विमान चढ्न गएका थिए । बसमा सिट खाली रहँदा रहँदै पनि उनी उभिएर यात्रा गरेको फोटा सामाजिक सञ्जालमा चर्चामा रहेको थियो ।

मन्त्री लामिछानेले कुनै ‘स्टन्ट’ नगरेको बरु रवाफ नदेखाऔँ भन्ने अभिप्रायले सामान्य अभ्यास मात्रै गरेको उनका प्रेस सल्लाहकार नवराज पाण्डेले बताए । मन्त्री लामिछानेले दीर्घकालीन प्रभाव पार्ने खालको काम पनि गरिरहेको उल्लेख गर्दै भने–‘उहाँले स्पष्ट रूपमा प्रहरीको सरुवा बढुवाका लागि भनसुन नचल्ने भन्दै त्यसका लागि निश्चित मापदण्डका आधारमा काम गर्ने भनेर कार्य योजना अघि बढाइसक्नु भएको छ । सरुवा बढुवामा निश्चित मापदण्ड हुने र त्यसको कार्यान्वयन संगठनले नै गर्ने भनेर काम सुरु गर्नुभएको छ । मन्त्रालयको अरू काम पनि यसरी नै अघि बढेको छ । कसले कुन काम कति देख्छ भन्ने कुराले पनि यसमा अर्थ राख्दो रहेछ । यी कुन कुरा कसले भन्यो भन्ने कुराले पनि अर्थ राख्ने हुन्छ । उहाँले परम्परागत अभ्यासहरूलाई बिस्तारै सुधार्दै लान खोज्नुभएको हो । मिडिया स्टन्ट भन्ने कुरा यसमा केही छैन ।’ 

उपप्रधानमन्त्री श्रेष्ठ पनि अनुगमनको दौडमा 

गृहमन्त्री लामिछाने मात्र हैन अर्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले पनि अनुगमन गर्ने कामलाई रुचाएका छन् । गत पुस २९ गते उनले काठमाडौँको लाजिम्पाट, सोह्रखुट्टे तथा ललितपुरको जावलाखेल र भैँसेपाटी क्षेत्रमा सडक अनुगमन गरेर अनुगमन गर्ने कामको सुरुवात गरेका थिए । त्यसयता उनले सडक अनुगमन गर्ने र निर्देशन दिने क्रममा तीव्रता दिएका छन् । 

उनले उपत्यका भित्रमात्र नभई उपत्यका बाहिरका सडकको पनि अनुगमन गरे । गत माघ १ गते गोरखाको आँबुखैरेनी पुगेर मुग्लिङ–पोखरा सडक खण्डको निर्माणमा भइरहेको प्रगतिको अवस्थाबारे आयोजना प्रमुख, ठेकेदार र परामर्शदाता टोलीसँग छलफल गरेका थिए । सो क्रममा उनले सडक निर्माणको काम छिटो सक्न निर्देशन समेत दिएका थिए । 

यस्तै गत माघ ३ गते उनले भरतपुर चितवनमा पुगेर सडक तथा विकास आयोजनाहरुको अनुगमन गर्दै ती योजनाहरूको काम छिटो गर्न निर्देशन दिए । 

सुदन किराँतीको चन्दा बाकस

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँरातीले थालेको नयाँ कामको कतिपयले राम्रो काम भन्दै स्वागत गरेका छन् भने कतिपयले उनले पनि चर्चा पाउने मेलो गरेको भनेर टिप्पणी गर्नेहरू छन् । 

मन्त्री किराँतीले आफू मन्त्री भएपछि खादा–माला लगाएर सम्मान नगर्न आग्रह गर्दै सम्मान गर्न चाहे मन्त्रालयको दान पेटिकामा दान गर्न भन्दै मन्त्रालयमा चन्दा बाकस राखेका छन् । मन्त्री किराँतीले राखेको सिसाको पारदर्शी चन्दा बाकसमा एक हजार र पाँच सय दरका नोटहरू देखिएका छन् । उनले सो रकम दुर्गम क्षेत्रको विकासका लागि खर्च गर्ने बताएका छन् । तर मन्त्री भएको व्यक्तिले यसरी चन्दा मागेर विकास गर्छु भन्नु मजाक गरेको वा चर्चामा आउने काम गरेको भन्दै सामाजिक सञ्जालहरूमा टिप्पणी भइरहेको छ । सुदन किराँतीका स्वकीय सचिव हेमन्त राई मन्त्रीले नयाँ संस्कृतिको सुरु गरेकोले आलोचना वा समर्थन हुनु स्वाभाविक भएको टिप्पणी गरे । मन्त्रीले राखेको दानपेटिकामा हालसम्म कति दान भयो अहिलेसम्म नगनेको र एक दुई दिनपछि गनेर सार्वजनिक गर्ने कुरा भइरहेको स्वकीय सचिव राईले बताए । एकजना मन्त्रीले कति खादा माला लगाइरहनु भनेर नयाँ संस्कृतिको विकास गर्न खोजेको उनले बताए । एक्सनमा गएपछि त्यसको रियाक्सन आउने, कुनै सकारात्मक हुने कुनै नकारात्मक हुने बताउँदै मन्त्रीले ‘स्टन्ट’ नगरेको राईको दाबी छ । त्यसरी दान पात्रबाट उठेको रकम सामाजिक काममा लगाउने सोचाई रहेको उनले बताए ।  माघ ३ गतेबाट मन्त्रिपरिषद् ठुलो आकारमा विस्तार भएकोले नवनियुक्त अन्य मन्त्रीहरूले कसरी काम गर्छन् त्यो भने हेर्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप