बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सीएनआई कोसी एक्स्पोलाई ऐतिहासिक बनाउन तयारी तीव्र

आइतबार, ०८ माघ २०७९, २१ : ५७
आइतबार, ०८ माघ २०७९

विराटनगर । मोरङ–सुनसरी औद्योगिक क्षेत्रका पाँचवटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ मा सहयोग गरेका छन् । विराटनगर महानगरपालिकासहित औद्योगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिकाले आफ्नो पालिकाका घरेलु तथा साना उद्यमी तथा महिला उद्यमीहरुको प्रोत्साहनका लागि एक्स्पोको प्रवद्र्धनमा सहयोग गरेका हुन् ।

आफ्नो उत्पादनको प्रवद्र्धन गर्न उचित अवसर नपाएका त्यस्ता उद्यमीहरुलाई एक्स्पोमा स्टल राख्नका लागि पालिकाले निर्वाह गरेको भूमिका र सहयोग महत्वपूर्ण बनेको हो । स्थानीय पालिकाहरुले नै उद्यमीहरुको प्रोत्साहनका लागि उत्साहजनक गरेपछि उद्यमीहरुले एक्स्पोमा आफ्ना उत्पादनहरुको प्रचार प्रसार र बजार निर्माणको अवसर पाउने भएका हुन् ।

पाँचवटा पालिकाबाट छनौट भएर आउने घरेलु तथा महिला उद्यमीहरुले कम्तिमा पाँचवटा र बढिमा १० वटासम्म स्टलहरु एक्स्पोमा निःशुल्क रुपमा प्राप्त गर्ने जनाइएको छ । जसका कारण उनीहरुले आफ्नो उद्यमलाई बजारको पहुँचसम्म पुर्याउन सहज हुने भएको हो ।

नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगर–२ शंकरपुर मैदानमा एक्स्पोको तयारीलाई तिब्रता दिइएको छ । परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले स्थानीय तहले उत्साहजनक रुपमा एक्स्पोको प्रवद्र्धनका लागि सहभागिता जनाएको बताए ।

जसका कारण अत्यन्तै पछाडि रहेका साना, लघु तथा महिलाहरुले सञ्चालन गरेका उद्यमलाई उपभोक्ताहरुमाझ चिनाउनका लागि अवसर प्राप्त भएको उनले बताए । अध्यक्ष घिमिरेले खुल्ला बजारमा साना उद्यमीहरुको समेत पहुँच हुनुपर्ने मान्यता अनुसार पाँचवटा स्थानीय तहमार्फत उनीहरुको सहभागिता सुनिश्चित भएको जानकारी दिए ।

उनले एक्स्पोलाई भव्यता प्रदान गर्न हरेक क्षेत्रबाट तयारी अघि बढिरहेको जानकारी दिए । यसअघि ३ सय ५० वटा स्टल रहने गरी तयारी अघि बढाइए पनि स्टलहरुको माग अत्याधिक भएका कारण एक्स्पोमा कुल स्टलको संख्या ४ सय नाघिसकेको अध्यक्ष घिमिरेले दाबी गरे । एक्स्पोलाई ऐतिहासिक बनाउनका लागि सवै क्षेत्रसँग समन्वय भइरहेको पनि बताए । 

एक्स्पो अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी तयारी गरिएको एक्स्पोका सहसंयोजक गिरीजा सारडाले बताइन् । उनले अधिकांश स्टलहरु बुकिङ भइसकेको पनि जानकारी दिइन् । एक्स्पोमा स्वदेशी तथा विदेशी उत्पादन र वस्तुहरुको अवलोकन तथा खरिद गर्न सकिनेछ । माघ २८ गतेसम्म १० दिन एक्स्पो लाग्नेछ । 

मुलुक आर्थिक रुपमा विषम अवस्थामा रहेको बेलामा आर्थिक गतिविधिलाई चलायमान बनाउन र उद्योग व्यवसायलाई बचाइराख्नका लागि एक्स्पो महत्वपूर्ण हुने जनाइएको छ ।  सीएनआई प्रदेश १ ले स्थापनाकै पहिलो बर्षमा उत्साहजनक रुपमा एक्स्पो आयोजना गर्ने गरी तयारी गरिएको उनले बताइन् । त्यसका लागि कुनैपनि कसर बा“की नराख्ने पनि सहसंयोजक सारडाले जानकारी दिइन् ।

प्रदेश १ को ऐतिहासिक, राजनीतिक र आर्थिक शहर विराटनगरमा हुने एक्स्पाले प्रदेश १ कै सर्वोच्च शिखर सगरमाथाबाट आर्थिक समृद्धिको सुरुवात गर्ने सन्देश प्रवाह गर्ने आयोजकको दाबी छ ।   एक्स्पोमा प्रदर्शनी तथा विक्रीका लागि राखिने वस्तु तथा सेवाहरुको प्रकृति अनुसार अलग–अलग पेभिलियन रहने जनाइएको छ । औद्योगिक उत्पादन, अटोमोबाइल, कृषि उत्पादन लगायतका हरेक वस्तुका लागि अलग पेभिलियन हुने एक्स्पोका संयोजक राजेन्द्र राठीले बताए । 

परिसंघले एक्स्पोलाई ऐतिहासिक बनाउन यसअघि नै विराटनगर र काठमाडौंबाट तयारी गरिरहेको जनाएको छ । अध्यक्ष घिमिरेसहितको टोलीले काठमाडौंमा समेत एक्स्पोको प्रवद्र्धनका लागि सीएनआईका पदाधिकारीहरुसहितका सरोकारवाला निकायहरूबीच छलफल गरेको थियो ।

एक्स्पोमा नेपाल बाहेक भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत अन्य मुलुकहरुबाट विशेष उत्पादनहरुको प्रदर्शनी र विक्रीका लागि स्टलहरु रहने जनाइएको छ । त्यसका साथै हरेक दिन नयाँ नयाँ कलाकारहरुको सांगीतिक र साँस्कृतिक प्रस्तुति सहितको विशेष कार्यक्रम आयोजना हुने सिएनआई प्रदेश १ ले जनाएको छ ।

यसैबीच एक्स्पो लाई रोचक र ज्ञानवद्र्धक बनाउने उदेश्यका साथ सौर्यमण्डलको अनुभव दिलाउन ‘प्लानेटेरियम’ राखिने भएको छ । विभिन्न उमेर समूहका अवलोकनकर्ताहरुलाई लक्षित गर्दै सौर्यमण्डल अवलोकन गर्न पाइने व्यवस्था मिलाउन लागिएको एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले जानकारी दिइन् । 

एक्स्पोमा नेपालकै चर्चित ब्याण्डहरुले प्रस्तुतिसमेत दिने भएका छन् । गायक सविन राई तथा उनको फारोह ब्याण्ड र राजु लामाको मंगोलियन हर्ट ब्याण्डले दर्शकहरु तताउने भएका हुन् । सविन र राजुबाहेक पनि थप चर्चित कलाकारहरु एक्स्पोमा प्रस्तुति दिनका अनुबन्धित भइसकेका छन् । एक्स्पो आयोजक समितिका अनुसार हालसम्म एकदेव लिम्बु, नितेश जंग कुँवर र उनको ब्याण्ड, समिर श्रेष्ठ, आशिष गुभाजुको अकोष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ ब्याण्डको प्रस्तुति रहने निश्चित भइसकेको छ ।

एक्स्पोलाई भव्य बनाउने उदेश्यका साथ हरेक दिन चर्चित कलाकारहरुले स्टेजमा गीत संगीतका माध्यमबाट दर्शकहरुलाई मनोञ्जन प्रदान गर्ने सीएनआई प्रदेश १ का महानिर्देशक विजयहरि शर्माले बताए ।

मोरङ व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ मोरङ, विराट नर्सिङ कलेज, चिकित्सक संघ, हिसान, प्याब्सन, नेपाल नर्सिङ एशोसिएशन, अटोमोबाइल्स एसोसिएशन, इन्स्योर परियोजना, स्वीस कन्ट्याक्ट, एनवीक्यूएस लगायतका संघसंस्था तथा निकायहरुले एक्स्पो सफल बनाउनका लागि सहकार्य गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप