बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
प्रदेश सत्ता राजनीति

काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ

बिहीबार, ३२ असार २०८३, १३ : ५६
बिहीबार, ३२ असार २०८३

सारांश

  • गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता पञ्चराम गुरुङले काम गर्न यही सरकार सक्षम रहेको बताएका छन्।
  • गुरुङले संघीयतालाई भागबन्डा गर्ने माध्यम बनाइएकोमा दुःख व्यक्त गर्दै यसलाई सुधार गर्नुपर्नेमा जोड दिए।
  • उनले गण्डकी प्रदेशलाई नमुना प्रदेश बनाउने सोचका साथ सहकार्यका लागि आफूहरू सकारात्मक रहेको बताए।

पोखरा । नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन भत्किने अवस्थामा पुगेसँगै सातै प्रदेशको सत्ता समीकरण फेरिने चर्चा चलिरहेको छ । त्यसको असर गण्डकीमा पनि देखिन थालेको छ ।

दुवै दलका नेताहरु आफ्नो पक्षमा सरकार बनाउन आवश्यक सङ्ख्या जुटाउन आन्तरिक रणनीतिमा लागेका छन् । सुदूरपश्चिम प्रदेशबाट सुरु भएको राजनीतिक घटनाक्रमको प्रभाव अन्य प्रदेश हुँदै गण्डकी प्रदेशसम्म आइपुग्ने परिस्थिति बनेको छ ।

यसै सन्दर्भमा गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता पञ्चराम गुरुङसँग रातोपाटीले सङ्घीयताको प्रभावकारिता, नयाँ सत्ता समीकरण र वर्तमान सरकारको भूमिकाका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ, उक्त संवादको सम्पादित अंशः

सुदूरपश्चिमबाट सुरु भएको सत्ता समीकरण फेरबदलको बाछिटा गण्डकीसम्म पनि आउने परिस्थिति देखिएको छ । गण्डकीमा राप्रपाको जुन अस्तित्व छ, तपाईंले दलको नेतृत्व गर्दै गर्दा यो परिस्थितिलाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?

यो राजनीतिक जटिलता र समस्या आउँछ भनेर हामीले सुरुदेखि नै भन्दै आएका थियौँ । यो वास्तवमा भन्ने एउटा र गर्ने अर्को प्रवृत्तिका कारण सिर्जना भएको परिस्थिति हो, जसले गर्दा हामीले दुःख पाइरहेका छौँ । हामीले हिजोका दिनदेखि नै यस्ता जटिलता आउँछन्, यसलाई सुधार गरेर लैजानुपर्छ र संविधानलाई संशोधन तथा परिमार्जन गर्नुपर्छ भन्दै आएका थियौँ । यो कुरा अहिले तथ्यले प्रमाणित गरिसकेको छ ।

हिजो पनि यो खेल भइरहेको थियो, आज पनि भइरहेको छ र भविष्यमा पनि यस्तै जटिलता भइरहने देखिन्छ । यसले गर्दा जुन उद्देश्यले यो व्यवस्था ल्याइएको थियो, त्यो उद्देश्य प्राप्त गर्न कठिन भइरहेको छ ।

तपाईंले संविधान संशोधन र संघीयता कार्यान्वयनको विषय उठाउनुभयो । यो चाहिँ प्रतिनिधि सभा र संघ सरकारबाट अघि बढ्ला । गण्डकीको हकमा यो परिस्थितिको समाधानका लागि राप्रपाले कसरी निकास निकाल्नुपर्छ भन्ने सुझाव दिन्छ ?
राप्रपालाई धमिलो पानीमा माछा मार्ने पार्टीका रूपमा हेरिनु हुँदैन भन्ने पक्षमा हामी छौँ । देशको राजनीतिक गतिरोधको समाधानका लागि र सङ्घीयताको आर्थिक भार कम गर्नका लागि हाम्रो सोच अनुसार नै हामी अगाडि बढ्नुपर्छ ।

हिजोका दिनमा हामीले आफ्नो दलीय स्वार्थमात्रै हेरेको भए धेरै पहिले नै सरकार फेरबदलको खेलमा सहभागी हुन सक्थ्यौँ, तर संविधानले नै यी जटिलतालाई देखाएकाले अब कसरी हुन्छ निकासतर्फ जानुपर्छ । प्रदेशमा सहभागी हुँदै गर्दा पनि कसरी आर्थिक भार कम गर्ने र यसलाई परिणाममुखी बनाउने भन्ने विषयमा हामी गम्भीर छौँ ।

कांग्रेस र एमाले गठबन्धन तोडेर जाने अवस्था छ । गण्डकी प्रदेशमा राप्रपा निर्णायक शक्तिका रूपमा देखिएको छ । हिजोका दिनमा पनि राप्रपाकै समर्थनमा कांग्रेस नेतृत्वमा सरकार बनेको थियो र तपाईं आफैँ क्याबिनेटमा हुनुहुन्थ्यो । अब फेरि त्यस्तै परिस्थिति सिर्जना भयो भने तपाईंहरूको भूमिका के रहन्छ ?

पहिलो कुरा त हामी दलीय पद्धतिमा भएकाले पार्टीको निर्णय र निर्देशनलाई नै अनुसरण गर्छौँ । केन्द्रीय नेतृत्व तहबाट प्रदेशको सन्दर्भमा जुन किसिमको निर्णय वा निर्देशन आउँछ, त्यही अनुसार नै हामी आफ्नो कदम अगाडि बढाउनेछौँ । हामीले पनि दिनुपर्ने केही सुझाव छन्, त्यो केन्द्रमा पठाउछौँ । मलाई लाग्छ पार्टीले हाम्रो भावना विपरीत निर्णय गर्नेछैन । हामी सत्तामा जानेभन्दा बाँकी अवधिलाई विनाविवाद ल्याण्ड गर्ने भूमिकामा रहन्छौँ ।

नयाँ परिस्थिति विकास भएको पनि २४–२५ घण्टा भइसक्यो । यो विषयमा पार्टीभित्र छलफल सुरु भएको छ कि छैन ?
स्पष्ट रूपमा भन्नुपर्दा यस विषयमा अझै ठोस रूपमा छलफल भइसकेको अवस्था छैन । कार्यसमिति तहमा सामान्य रूपमा केही कुरा त आएका छन्, तर औपचारिक बैठक बस्न बाँकी नै छ । यस विषयमा सम्भवतः आज–भोलिभित्रै हामी बसेर छलफल गर्नेछौँ र आवश्यक निष्कर्षमा पुग्नेछौँ ।

परिस्थितिहरू जसरी निर्माण भइरहेका छन्, यसले संघीयताप्रति नै प्रश्न उठ्ने देखिन्छ । तपाईंको प्रतिक्रिया के छ ?
हामीले हिजोदेखि नै सङ्घीयतालाई भागबन्डा गरेर खाने भाँडो बनाइयो भन्दै आएका थियौँ । वास्तवमा यसको मूल मर्म यो होइन । तर हाम्रो देशमा यसलाई भागबन्डा गर्ने माध्यम बनाइयो, जुन दुःखद् कुरा हो । यो भागबन्डाको खेलले देशलाई घातक असर गर्छ भनेर हामीले पटक–पटक भन्यौँ, जुन अहिले प्रमाणित भइसकेको छ ।

यदि राजनीतिक दलहरू यसमा गम्भीर भएनन् भने भविष्यमा देश थप सङ्कटमा पर्नेछ । त्यसैले यसलाई द्वन्द्वमा लैजाने भन्दा पनि सबै दलहरू मिलेर सहकार्य र समन्वयबाट निकास निकाल्नुपर्छ । एउटाले अर्कालाई सिध्याउन खोज्ने प्रवृत्ति त्यागेर सबैको समन्वयबाट मात्रै देशले सही निकास पाउन सक्छ ।

गण्डकी प्रदेशकै कुरा गर्दा, सत्तारूढ दल नेपाली कांग्रेस र सहकार्य गरिरहेको एमालेका नेता वा सांसदहरूबाट तपाईंहरूसँग यस बिचमा कुनै छलफल वा कुराकानी भएको छ कि छैन ?
औपचारिक छलफल त भएको छैन, तर हिजो म व्यक्तिगत व्यस्तताका कारण केही समय सम्पर्क बाहिर रहँदा केही दलका साथीहरू र नेतृत्व तहबाट फोन आएका रहेछन् । मैले त्यतिबेला कुरा गर्न पाएको थिइनँ, अब म उहाँहरूसँग सम्पर्क गरेर कुरा बुझ्ने प्रयास गर्नेछु ।

भोलि कुनै निर्णयमा पुग्नुपरेमा तपाईंले केन्द्रीय नेतृत्वलाई कस्तो सुझाव दिनुहुन्छ र गण्डकी प्रदेशको सरकार कस्तो बनोस् भन्ने चाहनुहुन्छ ?
मैले हिजोदेखि नै भन्दै आएको छु, आलोपालो र सत्ता स्वार्थका लागि मात्र नभई साँच्चिकै गण्डकी प्रदेशलाई एउटा नमुना प्रदेश बनाउने सोचका साथ अगाडि बढ्नुपर्छ ।

हामीले प्रदेश सभामा आएर खासै उल्लेखनीय काम गर्न सकेका छैनौँ । सानातिना योजना वा खानेपानीका धारा बाँड्ने काम त भयो होला, तर दुरगामी महत्त्वका काम हुन सकेका छैनन् । त्यसैले प्रदेश सरकारले कम्तीमा एउटा उदाहरणीय काम गरोस्, जसले गर्दा जनताले सङ्घीयताको सकारात्मक महसुस गर्न सकुन् । यस्तो सहकार्यका लागि हामी जुनसुकै दलसँग पनि सकारात्मक छौँ ।

गण्डकी प्रदेशमा अहिलेकै क्याबिनेट सन्तुलित छ कि नयाँ बन्ने क्याबिनेटले थप प्रभावकारी काम गर्छ भन्ने लाग्छ ?
काम गर्ने हो भने पात्र परिवर्तन गरेरमात्र हुँदैन, काम गर्ने नियत सफा हुनुपर्छ । नियत सफा छ भने जो आए पनि काम हुन्छ । जहाँसम्म अहिलेको क्याबिनेटको कुरा छ, यसमा मलाई कुनै असन्तुष्टि छैन । वर्तमान मन्त्रीमण्डलका सबै सदस्य सक्षम र कार्यकुशल हुनुहुन्छ र उहाँहरू एउटा उद्देश्य लिएर आउनुभएको छ ।

त्यसैले यसलाई कमजोर भन्न मिल्दैन र वर्तमान क्याविनेटप्रति मेरो कुनै असन्तुष्टि छैन । काम नगर्ने हो भनेमात्रै क्याबिनेट फेर्नुपर्ने अवस्था आउँछ, तर अहिलेको क्याबिनेटले काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप