शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

अत्यासलाग्दो वैदेशिक व्यापार : दैनिक ४ अर्ब ३५ करोडको आयात, ४४ करोडको निर्यात

मङ्गलबार, १० माघ २०७९, ०७ : ०१
मङ्गलबार, १० माघ २०७९

सरकारले आयात घटाउने लक्ष्यसहित विभिन्न उपाय अवलम्बन गरेपनि नेपाल उपभोग्य बजारकोरुपमा विकासित हुँदै गएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपाल विश्वभर उत्पादित वस्तुको उपभोग्य बजारकारुपमा मात्रै विकसित भइरहेको हो ।

सरकारले चालू आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिती जोगाउने लक्ष्यसहित विभिन्न वस्तुको आयात पूर्णरुपमा रोकेको थियो । यस्तै, नेपाल राष्ट्र बैंकले समेत वस्तुको आयात घटाउने लक्ष्यसहित एलसी खोल्दा शतप्रतिशत नगद मार्जिक राख्नुपर्ने व्यवस्था गरेको थियो । जसले विदेशबाट विलासिताका वस्तु, सवारी, १५० सीसीभन्दा माथिका मोटरसाइकल, तास, खेलौनाको आयात प्रभावित बनेको थियो ।

यस्तै, निर्माण सामग्रीको आयात समेत प्रभावित बनेको थियो । यससँगै, चालू आर्थिक वर्षको ६ महिना (साउन–पुस)सम्मको अवधिमा नेपालको आयात २०.६८ प्रतिशतले घटेको छ । गत वर्ष ६ महिनामा ९ खर्ब ९९ अर्बभन्दा बढीको आयात भएकोमा चालू वर्ष ७ खर्ब ९२ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ । 

सरकारले आयात घटाउन लिएको प्रतिबन्धको नीति र केन्द्रीय बैंकले लिएको एलसीमा शतप्रतिशत नगद मार्जिनको नीतिले आयात केही नियन्त्रण गरेपनि अझै विकराल स्थिती छ । भन्सारको तथ्यांकअनुसार हाल प्रतिमहिना १ खर्ब ३० अर्ब रुपैयाँभन्दा पनि बढीको आयात भइरहेको छ ।
दैनिक ४ अर्ब ४५ करोडको आयात
भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्बको आयात भएको छ । यस ६महिनाको अवधिमा कूल १८२ दिन छन् । साउन, भदौ र असोजमा समान ३१/३१, कात्तिकमा ३०, मंसिरमा २९ र पुसमा ३० गरी कूल १८२ दिन पुुग्छ ।

यसअनुसार चालू वर्षको ६ महिनामा भएको कूल आयात ७ खर्ब ९२ अर्ब रुपैयाँलाई १८२ दिनले भाग गर्दा औसतमा दैनिक ४ खर्ब ३५ करोड रुपैयाँको आयात भएको देखिन्छ । यद्यपी, गत आर्थिक वर्षको ६ महिनाको अवधिको आयात गर्दा दैनिक साढे ५ अर्बभन्दा बढीको वस्तु आयात भएको थियो ।

चालू आर्थिक वर्षमा खनिज तेल (पेट्रोलियम पदार्थ)को आयातमा १ खर्ब ६४ अर्ब ८० करोड ८३ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, तरकारीको आयातमा १७ र फलफुल लगायतको आयातमा ८ अर्ब रुपैयाँ बाहिरिएको छ । यसैगरी, फर्मासिटिकल्को आयातमा २२ अर्ब, प्लाष्टिकजन्य वस्तुको आयातमा ३० अर्ब, फलाम र स्टिलजन्य वस्तुको आयातमा ७७ अर्ब रुपैयाँ बाहिरिएको छ ।

यसका साथै, यस अवधिमा मेसिनरीको आयात गर्दा ४८ अर्ब, विभिन्न विद्युतीय मेसिनको आयातमा ५१ अर्ब र क्यामेरा, स्क्यानर मेसिन लगायतको आयातमा १२ अर्ब रुपैयाँ बाहिरिएको विभागले जनाएको छ ।
दैनिक ४४ करोडको निर्यात
नेपालमा प्रतिदिन ४ अर्ब ३५ करोड रुपैयाँको आयात हुँदा निर्यातभने कछुवा गतिमा देखिएको छ । विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालबाट भएको निर्यातलाई केलाउँदा यस्तो देखिएको हो । विभागका अनुसार यस अवधिमा नेपालबाट ८० अर्ब ८० करोड रुपैयाँको निर्यात भएको छ ।

यसअनुसार ६ महिनाको १८२ दिनले नेपालको कूल निर्यातलाई भाग गर्दा दैनिक ४४ करोड ३९ लाख रुपैयाँको निर्यात भइरहेको देखिन्छ । जबकी, निर्यातको तुलनामा आयात झण्डै ४ अर्ब रुपैयाँ प्रतिदिनले बढी छ । गत वर्षको यही अवधिमा नेपालबाट दैनिक ६५ करोड ३० लाख रुपैयाँको निर्यात भएको थियो ।

६ महिनाको अवधिमा नेपालबाट ७ अर्ब रुपैयाँको कफि र चिया निर्यात भएको छ । यस्तै, २१ अर्ब रुपैयाँको खानेतेलको निर्यात हुँदा १ अर्ब रुपैयाँको फर्मासिटिकल्सको समेत निर्यात भएको छ । यसबाहेक, उनी तथा फेल्ट र कपडाको निर्यात भएको तथ्यांमा देखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप