बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ऋणीलाई धमाधम ब्याज बढेको म्यासेज पठाउँदै बैंकहरु

शुक्रबार, १३ माघ २०७९, १४ : १८
शुक्रबार, १३ माघ २०७९

काठमाडौँ । माघ १ गतेदेखि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएपनि ऋणको ब्याजदर भने बढेको छ । यति बेला वाणिज्य बैंकहरुले ऋणीहरूलाई धमाधम ऋणको ब्याज बढेको भनेर मोबाइलमा एसएमएस पठाइरहेका छन् । नयाँ सरकार गठन भएसँगै अर्थमन्त्री विष्णु पौडेलले निक्षेपको ब्याजदर १० प्रतिशतले घटाएका थिए । तत्कालीन समयमा कायम ब्याजदरलाई १०० प्रतिशत मान्दा ब्याजदर १० प्रतिशतले घटेको थियो । यसअनुसार, पुस २९ गतेसम्म १२.३३ प्रतिशत रहेको निक्षेपको ब्याज १.३३ प्रतिशतले घटेर ११ प्रतिशत कायम भएको छ ।

यस्तो अवस्थामा ऋणीहरूले आफ्ना सामाजिक सञ्जालमार्फत ऋणको ब्याज बढेको भनेर बैंकहरुले सूचना पठाइरहेको बताइरहेका छन् । ऋणी रविकिरण अधिकारीले फेसबुकमार्फत बैंकले पठाएको सूचना सार्वजकि गर्दै माघदेखि ब्याजदर झनै बढेको जानकारी गराएका छन् ।

उनले फेसबुकमा बैंकले माघदेखि लागू भएको नयाँ बेसरेट र त्यसबापत मासिकरुपमा तिर्नुपर्ने किस्ता समेत सेयर गरेका छन् । यस्तै, उनले बैंकहरुलाई लुटेराको संज्ञा समेत दिएका छन् । बैंकले पठाएको सूचनामा नयाँ बेसरेट ९.४५ प्रतिशत पुगेसँगै मासिक ब्याज १४.७ प्रतिशत पुगेको उल्लेख छ ।

यसका साथै, अर्का ऋणी आनन्दकुमार श्रेष्ठले समेत सामाजिक सञ्जालमार्फत बैंकले पठाएको नयाँ सूचना सार्वजनिक गर्दा झनै समस्यामा परेको बताएका छन् । यस्तै, उनले पछिल्लो १ वर्षको अवधिमा ब्याजदर ४ प्रतिशतले बढेको समेत जानकारी दिएका छन् । एक वर्ष अघि बैंकको ब्याजदर ८.७६ प्रतिशत रहेकामा यति बेला १२.२ प्रतिशत पुगेको समेत उनको भनाइ छ ।

ठिक १ वर्ष अघि बैंकको बेसरेट ६.०१ प्रतिशत कायम थियो । जुन, यति बेला बढेर ९.४५ प्रतिशत पुगेको छ । उनले लेखेका छन्, ‘सामान्य व्यापारीले २० प्रतिशतभन्दा बढी नाफा लिए कालोबजारी ऐन लाग्छ । तर, बैंकले जति नाफा आर्जन गरे पनि यस्तो ऐन किन नलागेको होला ?’

नेपाल बैंकर्स एसोसिएशन (एनबीए)का अध्यक्ष सुनिल केसीले भने माघदेखि निक्षेपको ब्याजदर घटेपनि ऋणको ब्याज वैशाखदेखिमात्र घट्ने बताए । उनले दोस्रो त्रैमासमा लागू भएको बेस रेट र स्प्रेडदरअनुसार तेस्रो त्रैमासमा ब्याजदर कायम हुने बताए । उनले तेस्रो त्रैमासमा कायम हुने बेस रेट र स्प्रेडदर चौथो त्रैमासमा लागू हुँदा वैशाखदेखि ऋणको ब्याज पनि घट्ने बताए ।

‘यति बेला कात्तिकदेखि पुससम्म लागू भएको बेस रेट र स्प्रेडदरबाट कायम हुने ब्याजदर लागू भइरहेको छ । यस्तै, साउनदेखि असोजसम्म कायम बेस रेट र स्प्रेडदरअनुसारको ब्याज कात्तिकदेखि पुससम् लागू भएको थियो,’ उनले भने, ‘माघदेखि चैतसम्मको बेस रेट र स्प्रेडदरअनुसार वैशाखदेखि ब्याज घट्नेछ ।’ 

केसीले केन्द्रीय बैंकको ब्याजदरसम्बन्धी व्यवस्थाअनुसार नै ऋणीहरूलाई कर्जाको ब्याज बढेको म्यासेज गइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप