बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित  : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा

बुधबार, १८ माघ २०७९, २२ : २४
बुधबार, १८ माघ २०७९

रुपन्देही । लुम्बिनी प्रदेशको एक राष्ट्रिय सभा सदस्य पदका लागि माघ २५ गते हुने उपनिर्वाचनमा तीन दलका तीन जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

कांग्रेस, एमाले र केन्द्रमा सत्ता गठबन्धनसँग जोडिएको नागरिक उन्मुक्ति पार्टीले समेत राष्ट्रिय सभा सदस्य पदका लागि आफ्नो छुट्टै उम्मेदवार उठाएपछि तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो । एमालेबाट रोल्पाका कुमार दसौदी, नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्य चुनावी  मैदानमा छन् । तीनैजना उम्मेदवारले आआफ्नै ढङ्गले प्रचारप्रसार तथा मत तान्ने प्रयास गरिरहेका छन् ।

सत्ता गठबन्धनका दुई जना उम्मेदवार बनेपछि नेपाली काँग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यलाई चलखेल गर्न सहज भएको चर्चा बढेको छ भने प्रदेश सरकारलाई समर्थन गरेको उन्मुक्ति निर्वाचनपछि सरकारबाट बाहिरिने निश्चित भएको छ । नागरिक उन्मुक्ति पार्टी लुम्बिनीका संसदीय दलका नेता धर्मबहादुर चौधरीले उम्मेदवारी कायम रहने बताए । उनले भने, ‘हाम्रो उम्मेदवारी कायम रहन्छ ।’ 

कसको मत कति ? 

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख–उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ मतदाता छन् ।  

निर्वाचन कार्यालयका अनुसार २१८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ८७ प्रदेशसभा सदस्यहरू मतदाता रहन्छन् । पालिका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मत भार ४८ कायम गरिएको छ ।  

यस हिसाबमा यो प्रदेशमा सबै भन्दा धेरै मत नेपाली काँग्रेसको छ । त्यसपछि एमालेको छ । नागरिक उन्मुक्ति पार्टीको मत तुलनात्मक रूपमा निकै कम छ । प्रदेशमा नेपाली काँग्रेसका २७ सांसद र ९२ पालिका जनप्रतिनिधि हुँदा कुल मत भार २ हजार ९५२ हुन्छ  । 

एमालेसँग स्थानीय तह र प्रदेशतर्फ गरी कूल २ हजार ५९८ मत भार छ । तर नागरिक उन्मुक्तिको १९२ मत मात्रै  छ । एमालेका उम्मेदवारको माओवादी प्रस्तावक र राप्रपा समर्थक रहेको छ । माओवादीसँग १० जना प्रदेश सांसद र ४० जना स्थानीय जनप्रतिनिधि हुँदा १ हजार १६६ मत भार हुन्छ । यस्तै राप्रपाको मत भार २४६ रहेको छ । त्यस आधारमा अंकगाणितमा एमालेका उम्मेदवार अगाडि देखिन्छन् । 

त्यसबाहेक जनता समाजवादी पार्टीको २५२, लोकतान्त्रिक समाजवादी पार्टीको २१६, जनमत पार्टीको १४४, राष्ट्रिय जनमोर्चाको १२०, एकीकृत समाजवादीको ४८, जनता प्रगतिशील पार्टीको ३६ र स्वतन्त्र २ सांसदको मत भार ९६ छ ।

एमाले ढुक्क,कांग्रेस चलखेलको प्रयासमा 

तुलनात्मक रूपमा मतभारमा एमाले अगाडी भएपछि एमालेका उम्मेदवार आफ्नो जितमा ढुक्क जस्तै देखिन्छन् । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले नागरिक उन्मुक्ति पार्टीले मत नदिएपनि आफ्नो उम्मेदवार जित्नेमा ढुक्क रहेको बताउँछन् ।

‘यद्यपि हामी मतदानका दिनसम्म उहाँहरूसँग छलफलमै छौ तर जित्नको लागि हामीलाई एमाले,माओवादी, राप्रपाको मत नै काफी छ’, अध्यक्ष कँडेलको भनाइ छ ।

यता नेपाली कांग्रेसका उम्मेदवार माधव प्रसाद आर्चायले मतदाताहरूसँग भेटघाट फोन सम्पर्क गरिरहेको बताए । उनले रातोपाटीसँग भने, ‘नेपालगन्जमा पनि साथीहरू भेटघाट र मतदाताहरूसँग फोन सम्पर्क गरिरहनु भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप