शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

साइबेरिएन चरा, नवराज र गरिबी

शनिबार, २१ माघ २०७९, १६ : ०६
शनिबार, २१ माघ २०७९

उताका चराचरहरू जाडो छल्न भनी यताको बालुवा तटमा आए 
यताका चरारचरीहरू गरिबी छल्न भनी बालुवाखानी पलायन भए
फरक यति हो साबेरियन चरा हेर्न स्वदेशमा लर्काे लाग्दा
यताका कैयौँ चराचरी मध्यपूर्व खाडीमा कहिल्यै नफर्कने गरी गए 
................

निमुखा जन अरबको बालुवाखानीमा बेतनका लागि पिल्सिँदा
सन्तती र बाउआमाको खातिर ५० डिग्रीको तातोमा झिल्सिँदा
झसङ्ग हुन्छन् देखेर नवराज (खान्दानको पैरवी, लुवाइ र खुवाइले
रातो–तातो अनुहार भो खाडी जाँदा लाएको ऋणले किल्चिँदा
................

यताका चराचरी दुई गाँस खान र एकसरो लाउन सङ्घर्ष गर्दा
खाडीको ऋण तिर्न नसकी तातो घाममा उफ ! अकालमा मर्दा
नवराजहरू सत्तामा लुछाचुँडी गर्दै तेरो मेरो भनी लाप्पा खेल्दै छन्
जनजीविका हेर्दैन, हेर्छन् मात्र आफ्नै कोठा, झ्याल–ढोकाको पर्दा
................
कठै यताका चराचरीले देखेको सपना सात सालदेखिको अधुरो
ठम्याएनन् नवराजहरूले गरिब, निमुखा, दुःखीको पीरको चुरो
तान्दैछन्, च्यात्दैछन नवराजहरू उही चरारचरीको उम्रेको पखेटा 
चढे राजकीय सत्तामा नव–नवराजहरू  समाई निमुखाको जुरो

बैतेश्वोर–४, दोलखा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरोज दाहाल
सरोज दाहाल
लेखकबाट थप