शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन करोडको लगानीमा पोखरामा ‘रोयल दिदीबहिनी किचन’

सहकारी मोडलको उत्कृष्ट होटल व्यवसाय
शनिबार, २१ माघ २०७९, १६ : २४
शनिबार, २१ माघ २०७९

कास्की । उत्कृष्ट महिला उद्यमशीलताको नमुनाका रूपमा पर्यटकीय नगरी पोखरामा १२९ जना महिलाको सक्रियतामा ‘रोयल दिदीबहिनी किचन’ सञ्चालनमा रहेको छ । विभिन्न पेसा व्यसायमा आबद्ध दिदीबहिनीहरू, लाहुरेका श्रीमती, डाक्टर, इन्जिनियर तथा पाइलटका श्रीमतीसमेतको सहभागितामा कास्कीको पोखरा महानगरपालिका–१०, बुद्धचोकमा सहकारी मोडलमा रोयल किचन रेस्टुरेन्ट सञ्चालनमा रहेको हो । रेस्टुरेन्ट सहकारी मोडलमै भए पनि महिला दिदीबहिनीले यसलाई छुट्टै कम्पनी खडा गरेर होटल व्यवसाय सञ्चालन गरिरहेका छन् । 

रेस्टुरेन्ट वि.सं. २०७५ सालमा ९९ जना महिलाको सहभागितामा सुरु गरिएको हो । हाल सो कम्पनीको सेयर सदस्य बढेर १२९ जना पुगेको छ भने कम्पनीको कुल सेयर पुँजी ३ करोड २२ लाख ५० हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको चलअचल सम्पत्ति २ करोड ८ लाख २५ हजार रुपैयाँ रहेको छ ।

प्रारम्भिक चरणमा ९९ जना महिलाको सहभागितामा होटल, रेस्टुरेन्टको व्यवसाय सुरु गरिए पनि पछिल्लो सयम व्यवसायप्रति बढ्दो आकर्षणसँगै व्यवसायसमेत विस्तार गर्नुपरेकाले थप ३० जना दिदीबहिनीलाई कम्पनीमा समेटिएको रोयल दिदीबहिनी किचेनका अध्यक्ष तथा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रुद्धकुमारी गुरुङ (मैना)ले जानकारी दिइन् । 

royal kitchen

‘रोयल बचत तथा ऋण सहकारीले पोखरा महानगरपालिकाभित्र उत्कृष्ट काम गर्दैगर्दा व्यावसायिक रूपमा समेत संस्थाले केही गर्नुपर्छ भन्ने लागिरहेको थियो । यसै सिलसिलामा पोखरा पर्यटकीय नगरीसमेत भएकाले होटल, पर्यटन व्यवसाय नै गर्दा उपुक्त हुन्छ भन्ने लाग्यो र रेस्टुरेन्ट खोल्यौँ,’ अध्यक्ष गुरुङले भनिन्, ‘महिला दिदीबहिनीले काम गर्ने भएपछि सहकारीले समेत सहयोग गर्ने भयो, अनि व्यवसाय सुरु गर्‍यौँ ।’

पोखरा बुद्ध चोक छेउमै अढाई तलाको बिल्डिङ लिएर व्यवसाय सुरु गरेका दिदीबहिनीले व्यवसाय थप विस्तार गर्दैछन् । रोयल किचन रेस्टुरेन्टको भुइँतलामा करिब ५० जना अट्ने स्पेस रहेको छ भने पहिलो तलामा ३ वटा बैठक कक्षसहितको ५० जना क्षमताकै खाना कक्ष, गार्डेनमा २५ जनाको क्षमता स्पेस र सँगै २०० जनासम्म अट्ने आधुनिक सभाहल रहेको छ ।

Royal kitchen8

आजभोलि दैनिक ६–७ वटासम्म कार्यक्रम आउने रेस्टुरेन्टको स्पेस हलको अभावमा थप व्यवसाय लिन नसकिएको भन्दै अध्यक्ष गुरुङले रेस्टुरेन्टसँगैको थप स्पेस खरिद गर्न लागिएको बताइन् । 

‘आजभोलि एकैदिन ६–७ वटा कार्यक्रमका लागि बुकिङ आइरहेको छ तर हामीसँग एउटा मात्र सभाहल भएकाले कार्यक्रम लिन सकिरहेका छैनौँ । आएका बुकिङहरूलाई पालो गरेर हल दिनुपरिरहेको छ । यसैको अभावलाई महसुस गर्दै थप स्पेस लिन लागेका छौँ’ गुरुङले भनिन् । 

कोभिड–१९ को महामारी सुरु हुनुभन्दा केही समयअघि मात्र सुरु भएको व्यवसायले अहिले राम्रो व्यापार गरिरहेको छ ।

उसो त गत आर्थिक वर्ष २०७८/७९ मा मात्र कम्पनीले १ करोड ४८ लाख ५० हजार रुपियाँ बराबरको व्यापार गरेको उनको भनाइ छ । हाल कम्पनीले प्रत्यक्ष रूपमा १६ जना कर्मचारीहरूलाई रोजगारी दिइरहेको छ भने परोक्ष रूपमा सयौँलाई सहयोग गरिरहेको छ । 

‘टेस्ट अफ पोखरा, बेस्ट अफ पोखरा’को रणनीति

रेस्टुरेन्टले समग्र पोखराको चिनारीसँगै व्यवसायलाई थप ब्रान्डिङ गर्ने रणनीति अनुरूप ‘टेस्ट अफ पोखरा बेस्ट अफ पोखरा’को नारा अघि सारेको छ । रोयल दिदीबहिनी किचनको स्वादलाई र गुणस्तरलाई स्थापित गर्ने अभिप्रायले यो नारा अघि सारिएको अध्यक्ष गुरुङको भनाइ छ । 

‘व्यवसायमा गुणस्तरीय सेवाले मात्र पुग्दैन, त्यसको ब्रान्डिङको पनि आवश्यक पर्ने हुँदा कम्पनीले यसलाई ध्यान दिएको छ । महिला सशक्तीकरणसँगै रेस्टुरेन्टको व्यवसाय विस्तारमा हामीले केहीँ रणनीतिहरू अपनाएका छौँ । हाम्रा सेयर सदस्यहरूले कम्तीमा महिनामा एक दिन सपरिवार रेस्टुरेन्टमा खाना खानुपर्ने हुन्छ । तर सेयर सदस्य परिवारलाई रेस्टुरेन्टमा विशेष छुटको व्यवस्था गरिएको छ । यस्तै अन्य कार्यक्रमसमेत रेस्टुरेन्टमा बढीभन्दा बढी ल्याउन विशेष छुटको व्यवस्था गरेका छौँ,’ उनले भनिन् ।

यस्तै रेस्टुरेन्टको व्यवसाय विस्तारका लागि मासिक रूपमा च्यारिटी डिनरको कार्यक्रमका साथसाथै लेडिज नाइट, तम्बोला नाइट, बीबीक्यू नाइट, कपल नाइट, गुड फ्राइडे, दिदीबहिनी मेला, पारिवारिक भोजजस्ता नामबाट कार्यक्रमसमेत सञ्चालन गर्ने योजना कम्पनीले बनाएको छ ।

Royal kitchen1

व्यवसायसँगै सामाजिक कार्यमा पनि

उसो त रोयल दिदीबहिनी किचन होटल व्यवसायसँगै सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय रहेको छ । कम्पनीले मातृसंस्था पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा गर्दैआएको सामाजिक कार्यको अलवा आफ्नै पहलमा ३९ हजार ९२३ रुपैयाँ बराबरको ‘रोयल दिदीबहिनी शैक्षिक अक्षय कोष’ समेत खडा गरेको छ । जसले गरिब, असहाय तथा अपाङ्ग बालबालिकाको पठनपाठनमा सहयोग गर्नेगर्छ । उक्त कोषमा स्वैच्छिक रूपमा योगदान बढ्दै गएको र यसले भविष्यमा सामाजिक काम गर्न थप सहयोग पुग्ने अध्यक्ष गुरुङको भनाइ छ । 

साथै कम्पनीले संस्थामा आबद्ध ४४ जना दिदीबहिनी र पोखरा रोयल सहकारीको सहयोगमा सामाजिक उत्तरदायित्व बहन गर्दै कास्की जिल्लाको उत्तरी भेगमा अवस्थित थाक, मेलबोट र सविस्थित बहार प्रावि, सिल्दु प्रावि र बालपदक आधारभूत विद्यालयका ६५ जना जेहेनदार विद्यार्थीहरूलाई न्यानो कपडा र स्टेसनरी सामग्रीसमेत प्रदान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप