बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
नेतृत्वमा जाने दौड

बढ्यो महासंघको चुनावी सरगर्मी, आन्तरिक रणनीति बनाउँदै ४ आकांक्षी

बिहीबार, २६ माघ २०७९, १४ : ००
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । देशभरका उद्योगी/व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघमा भावी अध्यक्ष बन्ने दौडधुप सुरु भएको छ । व्यवसायीबीच यही चैत २८ र २९ मा हुने महासंघको साधारण सभा तथा निर्वाचनबाट महासंघको २१औँ अध्यक्ष बन्ने दौडधुप सुरु भएको हो ।

महासंघले प्रत्येक ३/३ वर्षमा आफ्नो भावी अध्यक्ष चुन्दै आएको छ । महासंघमा साधारण सभा तथा निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष चुनिने छन् भने वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ । यो प्रावधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः महासंघको २०औँ अध्यक्ष बन्नेछन् ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले महासंघको निर्वाचन सोही पदमा केन्द्रीत हुँदै आएको छ । सोही कारण, वरिष्ठ उपाध्यक्ष बन्ने दौड सुरु भएको व्ययवसायीहरु बताउँछन् । हाल देशमा व्यवसायीहरूको ३ वटा छाता सङ्गठन (महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स) छन् । यीमध्ये, महासंघमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चुनिँदै आएको छ भने अन्य दुई संस्थामा आपसी समझदारीमार्फत नेतृत्व चुनिँदै आएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष बनेर भावी अध्यक्ष बन्ने दौडमा हाल ४ जना व्यवसायी छन् । अध्यक्षको दौडमा वस्तुगततर्फका उपाध्यक्ष अन्जान श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ र एसोसिएटतर्फ रामचन्द्र संघाई भावी अध्यक्षको दौडमा छन् । यसबाहेक, व्यवसायी उमेशलाल प्रधान समेत भावी अध्यक्ष बन्ने दौडमा लागेका छन् । हाल यी ४ जना नै वरिष्ठ उपाध्यक्ष बन्न आन्तरिक तयारीमा लागिरहेका हुन् ।

अघिल्लो निर्वाचनमा आ–आफ्नो प्यानल नै बनाएर निर्वाचनमा होमिएका प्रतिस्पर्धीले आउँदो निर्वाचनलाई हालसम्म प्यानल भने बनाएका छैनन् । अघिल्लो निर्वाचनमा उपाध्यक्षद्वय अन्जान श्रेष्ठ र दिनेश श्रेष्ठ वर्तमान अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोरकुमार प्रधान पक्षमा थिए । यस्तै, एसोसिएट उपाध्यक्ष संघाई वर्तमान वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष चन्द्र ढकाल पक्षमा थिए ।

के भन्छन् आकांक्षी ?

हालसम्म भावी अध्यक्षको चाहना देखाएका ४ जनाले आफूहरू चुनावी दौडमा रहेको स्वीकारेका छन् । रातोपाटीसँगको कुराकानीमा उनीहरुले अघिल्लो निर्वाचन सकिए लगत्तै आफूहरू भावी अध्यक्षकारुपमा तयारी गरिरहेको र सोअनुसारको सक्रियता देखाइरहेको बताउँछन् । वस्तुगत उपाध्यक्ष अन्जान श्रेष्ठले महासंघको २१औँ अध्यक्ष बन्ने गरी लागिरहेको जानकारी दिए । उनले अघिल्लो निर्वाचन सकिए लगत्तै भावी अध्यक्षकारुपमा महासंघमा आबद्ध उद्योगी व्यवसायीहरूको पक्षमा काम सुरु गरेको बताए ।

खास गरी, श्रेष्ठ वस्तुगततर्फको उपाध्यक्षमा निर्वाचित बनेपछि अधिकांश वस्तुगत संघका कार्यक्रममा सहभागी बन्दै आइरहेका छन् । महासंघमा आबद्ध वस्तुगत संघले आयोजना गर्ने हरेकजसो कार्यक्रममा सहभागी बन्दै आएका श्रेष्ठले यही सक्रियतालाई भावी अध्यक्षको भोटकारुपमा सदुपयोग गर्ने लक्ष्य बनाएको जानकारी दिए ।

वस्तुगततर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ समेत आगामी निर्वाचनमा पछाडि फर्कने सम्भावना नरहेको बताउँछन् । महासंघका उपाध्यक्ष बनेर गरेको कामको सदुपयोग गरेर भावी अध्यक्ष बन्ने दौडमा आफू रहेको श्रेष्ठको भनाइ छ ।

यसबीचमा श्रेष्ठ तरलता अभावका कारण अत्यधिक मात्रामा बढेको ब्याजदरको विरोध कार्यक्रममा महासंघकातर्फबाट सक्रिय भूमिका खेल्दै आएका छन् । पूर्वका उद्योगी÷व्यवसायीले ब्याजदर वृद्धिको विरोध गर्दै सडक आन्दोलन गर्दा महासंघकातर्फबाट ती व्यवसायीको नेतृत्व श्रेष्ठले नै गरेका थिए । यस्तै, आन्दोलनरत उद्योगी र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीचको छलफलमा दिनेश श्रेष्ठले नै सहजकर्ताको भूमिका खेलेका थिए ।

एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाई समेत वरिष्ठ उपाध्यक्षको दौडमा आफू मुख्य प्रतिस्पर्धीकारुपमा रहेको बताए । उनले यसबीचमा महासंघको उपाध्यक्षकारुपमा बसेर काम गरेर भावी अध्यक्षका लागि आवश्यक तयारी समेत गरिरहेको बताए । 

एसोसिएटतर्फबाट महासंघको उपाध्यक्षमा आएका उनले चुनावको आन्तरिक तयारी गरिरहेको बताए । २०७७ साल मंसिरमा उपाध्यक्षमा निर्वाचित भएदेखि नै महासंघको भावी अध्यक्षकारुपमा उद्योगी व्यवसायीको पक्षमा काम गरेको र अब वरिष्ठ उपाध्यक्ष नै बनेर व्यवसायीक वातावरण निर्माणमा लाग्ने संघाईको भनाइ छ ।

यसबीचमा यी तीनै जना उपाध्यक्षहरू ब्याजदर वृद्धि विरुद्धको आन्दोलनमा सडकमा समेत उत्रिएका थिए । आगामी निर्वाचनमा ब्याजदर वृद्धि विरुद्धको आन्दोलनको नेतृत्व गर्ने उद्योगी व्यवसायीको मत महत्त्वपूर्ण बन्ने देखेपछि माइतीघरमा ब्यानरै बोकेर बैंकविरुद्धको आन्दोलनमा उत्रिएका थिए । जबकि, एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाई स्वयं बैंकको निर्देशककारुपमा कार्यरत छन् ।

अघिल्लो निर्वाचनमा उपाध्यक्ष भिडेका व्यवसायी उमेशलाल श्रेष्ठसमेत वरिष्ठ उपाध्यक्षको तयारी गरिरहेको बताउँछन् । रातोपाटीसँगको कुराकानीमा उनले वरिष्ठ उपाध्यक्षको तयारीमा रहेको उनको भनाइ छ । वरिष्ठ उपाध्यक्षभन्दा तल (उपाध्यक्ष) चुनावी प्रतिस्पर्धा नै नगर्ने बताइरहेको श्रेष्ठ समेत यसबीचमा आफू आन्तरिक तयारीमा रहेको र आवश्यक चुनावी रणनीति बनाइरहेको बताउँछन् ।

प्यानल नै बन्न सक्ने

यसबीचमा वरिष्ठ उपाध्यक्षका सबै उम्मेदवारले आन्तरिकरुपमा सबै तयारी गरिसकेको जानकारी दिएका छन् । रातोपाटीसँगको कुराकानीमा उनीहरुले भावी अध्यक्षकारुपमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन टिम नै निर्माण भइसकेपनि घोषणा गर्न भने बाँकी रहेको बताइरहेका छन् । ‘यति बेला सबै आकांक्षीले आन्तरिक तयारी पुरा गरिसकेका छन्, आफू अनुकूल टिम समेत बनाइसकेका छन्,’ एक आकांक्षीले भने, ‘हालसम्म सबै जना पर्ख र हेरको अवस्थामा छन् । सम्भवतः यही साता वा अर्को सातादेखि देखिने गरी नै तयारीमा जुट्ने योजना छ । उम्मेदवारी घोषणा नै गरेर तयारीमा लाग्ने समय आइसकेको छ ।’

अघिल्लो निर्वाचनमा समेत व्यवसायीहरू प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । उक्त निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र तत्कालीन उपाध्यक्ष किशोरकुमार प्रधानले प्यानल बनाएका थिए । प्रधान नेतृत्वको प्यानललाई वर्तमान अध्यक्ष गोल्छाले र ढकालको प्यानललाई पूर्व अध्यक्ष चण्डी ढकालको साथ थियो । यस पटक अघिल्लो निर्वाचनकै समीकरण बन्ने सम्भावना भने न्यून छ । 

अघिल्लो निर्वाचनमा एउटै प्यानलबाट निर्वाचित अन्जान श्रेष्ठ र दिनेश श्रेष्ठ तथा अर्को प्यानलबाट निर्वाचित रामचन्द्र संघाई नै चुनावी तयारीमा रहँदा पुरानै प्यानल कायम नरहने सम्भावना छ ।

हाल भावी अध्यक्षको चाहना देखाइरहेका ४ जनामध्ये २ जनाले तयारी फिर्ता लिएर २ जनालाई समर्थन थरेको अवस्थामा भने पुरानो समीकरण ब्युँतिन सक्छ । तर, हालसम्म कुन–कुन उम्मेदवारले आगामी निर्वाचनको समीकरण तयार बन्छ भन्ने टुङ्गो लागिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप