शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार : नेप्सेमा ८८ अंकले वृद्धि, १० अर्बको कारोबार

शुक्रबार, २७ माघ २०७९, १६ : २८
शुक्रबार, २७ माघ २०७९

काठमाडौं । सेयर बजारका लागि यो साता केही उत्साहपन रह्यो । अघिल्लो साता झण्डै ९० अंकले घटेर २ हजार ९४ को विन्दुमा ओर्लिएको नेप्से सूचक यो साता ८८ अंकले बढेर पुनः २१ सय ८२ को विन्दुमा पुगेको छ ।

यस साताको पहिलो कारोबार दिन २ हजार ९४.५४ अंकबाट शुरु भएको नेप्सेको कारोबार अन्तिम कारोबार दिन अर्थात् माघ २६ गते बिहीबारसम्म ८८.१ अंकले बढ्दै २१ सय ८२.६४ अंकको विन्दुमा रोकिएको हो ।

यद्यपि, कारोबार भने अघिल्लो साताको तुलनामा यस साता १८.९६ प्रतिशतले घट्न पुगेको छ । अघिल्लो साता ८९ अंकले नेप्से घट्दा कूल १२ अर्ब ८१ करोड २४ लाख ७ हजार ३४९ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने यस साता ८८ अंकले नेप्से बढ्दा १० अर्ब ३८ करोड ३६ लाख १० हजार ९२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

कुन दिन कति कारोबार भयो ?

नेपाल स्टक एक्सचेञ्जको साताको तथ्याङ्क हेर्दा अघिल्लो साताको अन्तिम कारोबार दिन माघ १९ गते २२.१२ अंकले घट्दै नेप्से सूचक २ हजार ९४.५४ अंकको विन्दुमा रोकिएको थियो । तर यो साताको सुरुवाती दिन माघ २२ गते नै नेप्से सूचक १.५४ अंकले बढ्दै २ हजार ९६.०९ अंकमा उक्लियो । 

दोस्रो दिन ४.६२ अंकले बढेको नेप्से सूचक तेस्रो दिन माघ २४ गते साताकै उच्च अंक (७६.६४ अंक) ले बढ्दै २१ सय ७७.३५ विन्दुमा उक्लिएको थियो । 

राष्ट्र बैंकले छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेसँगै आर्थिक सूचांकहरु सुधारोन्मुख देखेसँगै लगानीकर्ताहरु हौसिएका थिए । तथापि, यो उत्साह एकदिन पनि टिक्न सकेन । भोलिपल्ट नै नेप्से सूचक ७.१६ अंकले घट्दै २१ सय ७०.१९ विन्दुमा ओर्लियो । 

साताको अन्तिम कारोबार दिन बिहीबार पुनः १२ अंकले नेप्से बढ्दै २१ सय ८२.६४ अंकको विन्दुमा उक्लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप