शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निसीखोलामा थपिँदै आठ झोलुङ्गे पुल

बिहीबार, ०४ फागुन २०७९, ०७ : २९
बिहीबार, ०४ फागुन २०७९

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९÷८० मा आठ झोलुङ्गे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए । 

केन्द्र सरकारको ८७ र निसीखोला गाउँपालिकाको १३ प्रतिशत लगानीमा आठ वटा पुल बन्न थालेको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए। उनका अनुसार सबै पुल सर्वेक्षण गरेर काम सुरु भएको छ ।

इन्जिनियर शाही भन्छन्, “आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुन्छन्, त्यहीअनुसार अहिले काम भइरहेको छ, बेस निर्माण गर्ने, काम भइरहेको छ भने, लठ्ठा ल्याउने प्रक्रिया सुरु भएको छ, पुल निर्माणको कामलाई तीव्र बनाउन हामीहरु लागि रहेका छौँ ।” शाहीको अनुसार वडा नम्बर १ को सेलाखेतघाट, आठबारेघाट, वडा नम्बर ७ को खनिबास–राजकुट कुँडुला जोड्ने, वडा नम्बर ४ र ५ जोड्ने कारीखोला, वडा नम्बर ५ यारीखोला, वडा नम्बर ६ मगरघाटखोला, वडा नम्बर ३ को गतारेघाट र वडा नम्बर २ र ३ जोड्ने गरी खग्रेनीघाटमा पुल निर्माण हुन लागेको छ । 

गाउँपालिकाको ठाउँ–ठाउँमा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् । गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गर्ने अभियानलाई तीव्र बनाएको शाहीको भनाइ छ । स्थानीय प्रेमबहादुर कुँवरले पुल नहुँदा यहाँका सयौँ स्थानीयले समस्या भोग्नुपरेको बताए । 

पुल बनेपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा लिएको उनी बताउछन् । कुँवरले भने, “अहिले खोला तरेर पारी जान डेढ दुई घण्टा लाग्छ, यहाँ पुल बन्यो भने पाँच मिनेट पनि लाग्दैन, बर्खामा खोला बढ्यो भने पारीको मान्छे पारी, वारीको मान्छे वारी भइन्छ, यहाँ पुल बनाउन थालेका छन्, अब सहज होला ।”

पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा समेत युवा जसोतसो खोला पार गरे पनि साना बालबालिका र बूढाबूढीलाई समस्या हुने गरेको छ । निसीखोला गाउँपालिका–६ का नरबहादुर विकले यहाँको खोलाले एक÷दुई जना स्थानीयलाई बगाएको बताउछन् । 

“स्कूल पारी छ, खोला नतरेसम्म त्यहाँ पुग्न सकिन्न, केटाकेटीला स्कूल पठाउनै डर छ, कतै खोलामा परिहाल्छन् कि भन्ने हुन्छ, सधैँ पु¥याउन पनि सकिन्न”, विकले भने, “हट्टाकट्टा युवा हिउँदको समयमा पनि जसरी नि खोला तरि हाल्थे, साना–साना केटाकेटी र बूढापाकालाई निकै गाह्रो छ, पुल नहुँदा त कतिले अकालमै ज्यान गुमाए, कति त खोलाले बगाएर बेपत्ता भए ।”

अघिल्ला वर्षहरुमा निसीखोलाको–६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नम्बर ७ को कुतखोलाघाट, वडा नम्बर ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नम्बर १ को माराघाट, वडा नम्बर २ धौलेघाटमा पुल बनेर सञ्चालनमा छन् । ती पुल रु दुई करोड पाँच लाख बढीमा निर्माण भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । यस वर्ष रु तीन करोड ६४ लाख ३२ हजार सात सय ८५ को लागतमा आठ पुल बन्न थालेको गौतम बताउछन् ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले अब कुनै पनि नागरिकले पुलका कारण खोलामा बगेर ज्यान गुमाउनु नपर्ने बताए । यहाँ धेरै खोला हुँदा सबै ठाउँमा एकै पटक पुल निर्माण गर्न नसकेको भन्दै सबै खोलामा नागरिकलाई सहज हुने गरी बर्सेनि पुल निर्माणलाई जोड दिने बताए । 

अध्यक्ष घर्तीमगरले भने, “पुल नागरिकलाई वारपार गर्नका लागि मात्रै प्रयोग हुने छैन, यसले उत्पादन र बजारलाई पनि जोड्ने छ, यहाँका कृषकले उत्पादन गरेका कृषिउपज वस्तुलाई बजारसम्म पु¥याउन र बजारबाट आवश्यक सामना गाउँ ल्याउन पनि पुलले ठूलो टेवा पुर्याउने छन् ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप