बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

जनमत र उन्मुक्तिबीच कार्यगत एकता भयो, भएन सहकार्य

शुक्रबार, ०५ फागुन २०७९, १८ : ४१
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता भएको डेढ महिनाभन्दा बढी भयो । तर यी दुई पार्टीबीच हालसम्म कुनै औपचारिक छलफल भने हुन सकेको छैन ।  

जनमत र उन्मुक्ति पार्टीबीच केही भिन्नता पनि देखिएको छ । जनमत पार्टी केन्द्रदेखि प्रदेशको सरकारमा सहभागी हुँदा नागरिक उन्मुक्ति पार्टी सरकारभन्दा बाहिर रहेको छ । रेशम चौधरी र अरुण चौधरीको रिहाको माग गर्दै उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छैन । तर कार्यगत एकता गर्ने सहमति गरेको जनमत पार्टी हालसम्म त्यसको विषयमा केही बोलेको छैन । 

कार्यगत एकताका लागि पुस २४ गते भएको १२ बुँदे सम्झौताको १ नम्बर बुँदामा नै लेखिएको छ, ‘टिकापुर घटनाका राजबन्दीहरुलगायत माननीय रेशम चौधरीको रिहाइको पहल दुवै पक्षबीच सम्झौता भएकै दिनबाट सुरु गर्ने ।’ तर उन्मुक्ति पार्टी रेशम चौधरी रिहाको सर्त राखी सरकारको विरोध गरिरहँदा जनमत पार्टीले आफ्नो धारणा बाहिर ल्याएको छैन । 

रेशम चौधरी रिहा हुनुपर्छ भने पक्षमा जनमत पार्टी रहेको छ । संसदमा  पार्टीका अध्यक्ष सिके राउतले रेशमबारे आवाज उठाएका छन् । तर उन्मुक्ति पार्टीले अहिले गरिरहेको संघर्षमा साथ दिएको छैन । उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले भने, ‘हामी सरकार बाहिर छौं, जनमत पार्टी सरकारमा छ । त्यही मात्र एउटा फरक छ, अरू कुरा समान छ ।’ जनमत पार्टी सरकारमा रहेको विषयप्रति आफूहरुको कुनै आपत्ति नरहेको उनले बताए । उनले कार्यगत एकताका लागि सहमति भएपछि कुनै औपचारिक छलफल वा सहकार्य नभएको बताए । 

उनले हेडक्वाटर (डिल्लीबजार कारागार) मा अनौपचारिक छलफल भएको आफूलाई जानकारी नभएको भन्दै पार्टीगत हिसाबले कुनै छलफल   नभएको बताए । छलफल गर्न अहिले कुनै आवश्यकता पनि नभएको भन्दै उनले राष्ट्रपतिको चुनावसम्मा संयुक्त छलफल गर्ने बताए । 

जनमत पार्टीका कोषाध्यक्ष सूर्यनारायण यादवले पनि सहकार्यका लागि तत्कालै छलफल गर्ने कुनै अवस्था नरहेको कारण औपचारिक छलफल नभएको बताए । 

‘सहमति अनुसार हामी मोर्चामा नै छौं, कार्यगत एकता गर्ने भएको सहमति अनुसार नै अगाडि बढ्छौँ । तर अहिले त्यस्तो कुनै अवस्था आएको छैन’, उनले रातोपाटीसँग भने, ‘रेशम चौधरी र अरुण चौधरीको रिहाको माग गर्दै उन्मुक्ति पार्टी सरकार बाहिर छ, त्यसमा मात्र हाम्रो सहकार्य भएको छैन, परिस्थितिले त्यस्तो हुन दिएन आउने दिनमा त्यस्तो परिस्थिति पनि आउनसक्छ ।’

उनले राष्ट्रपतिको विषयमा जनमत पार्टी र उन्मुक्ति पार्टीको एउटै धारणा बनाउनेबारेमा छलफल हुने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप