सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

के बालबालिकालाई पनि हुन्छ क्यान्सर ?

हत्तपत्त स्विकारिँदैन बाल क्यान्सर
आइतबार, ०७ फागुन २०७९, ०७ : ०४
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ । दक्षिणकालीका सफल केसी पाँच वर्षको हुँदा घरमै खेल्ने क्रममा सोफामा ठोक्किएर दाहिने खुट्टा सुनियो । उनको खुट्टा सुनिइसकेपछि भिडियो एक्स–रे गर्दा केही समस्या देखिएन । 

चिकित्सकको सुझावमा घुँडा सुनिन र दुख्न कम हुने औषधि केसीले सेवन गरे । औषधि सेवन गर्दापनि उनको घुँडा सुनिन कम भएन । 

यसरी निरन्तर घुँडा दुख्ने क्रम नरोकिएपछि चिकित्सकको सल्लाहमा घुँडाको अप्रेसन तयारी गर्दा वायोस्पी गर्नेक्रममा केसीलाई क्यान्सर भएको पत्ता लाग्यो । घुँडाको जोर्नीमा क्यान्सर भएपछि अप्रेसन गरियो । अहिले उनको घुँडाको केमोथेराफी गर्ने क्रम सकिएको छ । क्यान्सर क्रमशः निको हुने क्रममा छ । 
.....
उता मकवानपुरका पुनम तामाङ एक वर्ष पुग्दा निरन्तर रुन थाले । नजिकको मेडिकलबाट औषधि ल्याएर ख्वाउँदा रुन छाड्थे । तर औषधि सेवन गर्न छाडेपछि पुनः पहिले जसरी रुन थाल्थे । 
त्यसपछि उनलाई कान्तिबाल अस्पतालमा लगेर उपचार गर्दा पेटमा मासुको सानो डल्लो रहेको थाहा भयो । पेट नदुख्ने विभिन्न औषधि महिनौ दिनसम्म ख्वाउँदा पनि निको नभएपछि पूर्ण रुपमा स्वास्थ्य परीक्षण गरियो । 

रिपोर्ट आउँदा एक वर्षीय बालक तामाङलाई क्यान्सर भएको चिकित्सकहरुले बताए । उनलाई पेटको क्यान्सर भएको दुई वर्षसम्म पाटन अस्पतालमा निरन्तर चिकित्सकको सल्लाहमा उपचार गरियो । अहिले चार वर्ष पुगेका तामाङ क्यान्सरमुक्त भएका छन् ।

यसरी अन्य उमेर समूहका व्यक्तिजस्तै बालबालिकामा समयमै क्यान्सर भएको यकिन गर्न नसक्दा धेरै बालबालिकाले समस्या भोग्दै आएका छन् । बालबालिकामा देखिने क्यान्सर जति सक्दो चाँडो पत्ता लगाउन सकियो, त्यति नै चाँडो निको पार्न सकिने पाटन स्वास्थ्य विज्ञान प्रष्ठिानका पिटायाट्रिक विभागका बाल क्यान्सर रोग विशेषज्ञ डा सुचारिता तुलाधार बताउँछिन् ।

क्यान्सर लागेको पहिचान चाँडो गरिएमा ७५ देखि ८० प्रतिशत बालबालिका निको हुने उनको दावी छ । उता विश्व स्वास्थ्य संगठनका अनुसार धनी देशका बालबालिकामा देखिने क्यान्सर ८५ देखि ९० प्रतिशतलाई निको हुन्छ । 

नेपालमा बाल क्यान्सरका बिरामी कति जनाले उपचार गरेका छन् भन्ने यकिन आँकडा सरकारसँग उपलब्ध छैन । विशेषज्ञ डा. तुलाधरका अनुसार नेपालमा वार्षिक अनुमानित ५ सय जना नयाँ क्यान्सर रोगी बालबालिकाको अस्पतालहरुमा उपचार भइरहेको छ । तर क्यान्सर भएकासरदरमा पचास प्रतिशत बालबालिका उपचारको दायरामा आएका छैनन् । डब्ल्यूएचओका अनुसार विश्वमा हरेक वर्ष चार लाख बाल क्यान्सर थपिने गर्छन् ।

बालबालिका क्यान्सर लाग्दैन भन्ने भ्रम
बालबालिकालाई क्यान्सर लाग्दैन भन्ने भ्रमका कारण समयमै क्यान्सर पहिचान गर्न ढिलाइ भएको पाटन अस्पतालका पियाटाट्रिक विभागका प्रमुख प्राडा गणेश शाह बताउँछन् । 

लामोसमयसम्म औषधि उपचारका लागि स्वास्थ्य संस्थाहरुमा भौतारिएर अन्तिम स्टेजमा पुगेपछि क्यान्सर रोगी बालबालिका अस्पताल पुग्ने समस्या रहेको डा. तुलाधर बताउँछिन् । यद्यपि  बालबालिकामा क्यान्सर पुष्टि भएमा उनीहरुलाई औषधि, रेडियोथेरापी, शल्यक्रिया, केमोथेरापीलगायत उपचार विधिबाट निको पार्न सकिने उनको भनाइ छ ।

बालबालिकालाई सोयोलिङ, सुनिने, ब्लड क्यान्सर, ट्यूमर लगायतका क्यान्सर लाग्छ । लामो समयसम्म ज्वरो आउने, शरीरमा गाँठागाँठीहरु आउने, छालामा ससाना दानाहरु उम्रने, लामो समयसम्म हातखुट्टा दुख्ने, बच्चाको तौल घट्दै जाने, पेट असामान्य रुपमा फुल्ने, बिहानै टाउको दुख्ने, वाकवाकी हुने, चाँडै गल्ने जस्ता लक्षण लामो समयसम्म देखिएमा शंका मानेर विशेषज्ञको उपचार गराउन लैजान उनको सुझाव छ । 

हत्तपत्त स्विकारिँदैन बाल क्यान्सर
जाँच पड्ताल गर्ने क्रममा बालबालिकालाई क्यान्सर भएको पत्ता लागेमाहत्तपत्त अभिभावकले नस्वीकार्ने स्वास्थ्य प्रतिष्ठानका पियाट्राटिक विभागका प्रमुख साहले बताए । 

समयमै रोग पहिचान गरी उपचार गरिएमा बाल क्यान्सर निको पार्न सकिने भएपनि उपचारकै बीचमा अभिभावक हिँडिदिंदा समस्या हुने उनले बताए । उपचार बीचमा छाडे क्यान्सर पुनः फर्किने र  निको हुने सम्भावना कम हुन्छ । क्यान्सरको उपचार मँहगो हुने भएकाले बालबालिकाको स्वास्थ्य अवस्थाबारे अभिभावक चनाखो हुन आवश्क रहेको उनको भनाइ  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप