बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रपति निर्वाचन

ओलीको ‘ट्रयाक टु’ योजना : माधवलाई देखाएर प्रचण्डमाथि दबाब

माधव उत्साहित, प्रचण्ड सशंकित
मङ्गलबार, ०९ फागुन २०७९, ११ : ५४
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा ‘ट्रयाक वान’ योजना अन्तर्गत माओवादी केन्द्रको साथ नपाउने लगभग निश्चित भएपछि ‘ट्रयाक टु’ योजना अघि सारेका छन् । त्यसका लागि अध्यक्ष ओलीले डेढ वर्षअघि एमालेबाटै विद्रोह गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा प्रस्ताव गरेका छन् ।

पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउनु अघि भएको सहमति विपरीत प्रचण्डले राष्ट्रपतिमा कांग्रेससँग सहकार्य गर्ने संकेत देखाएसँगै अध्यक्ष ओलीले ‘ट्रयाक टु’ योजना अघि बढाएका हुन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गर्दा नै आफ्नो पार्टीले राष्ट्रपति पद पाउने गरी सहमति भएको भन्दै एमालेले ‘ट्रयाक वान’ योजना अनुसार सत्तारुढ गठबन्धनबाट समर्थनको अपेक्षा गरेको थियो ।

प्रचण्ड प्रधानमन्त्री बनेसँगै प्रचण्ड–ओलीबीच करिव २ दर्जन पटक भएका ‘वान टु वान’ छलफलमा एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई माओवादीले सघाउने प्रतिवद्धता नपाएपछि ओली पछिल्लो रणनीति अख्तियार गर्न पुगेका हुन् । यो रणनीति अनुसार ओलीले सोमबार मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेरै राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले पुष्टि गरेका छन् ।

‘उहाँहरुबीच भेटवार्ता भएको हो तर जसरी बाहिर चर्चापरिचर्चा भएका छन्, त्यो हिसाबमा होइन’, महासचिव भुसालले रातोपाटीसँग भने, ‘फेरिएको परिस्थितिमा नेताहरुबीच कुराकानी हुनु अनौठो होइन ।’

माधव नेपाल निकट स्रोतका अनुसार अध्यक्ष ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न गरेको प्रस्तावमा नेता नेपाल सकारात्मक छन् । ओलीसँगको भेटमा पनि उनले सहमति जुटाउने सवालमा आफु पछि नहट्ने बताएका छन् । नेता नेपालले झण्डै डेढ वर्षअघि ओलीसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।

एकीकृत समाजवादीकै नेता छैनन् विश्वस्त

अध्यक्ष ओलीले पार्टी एकतासहित नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन गरेको प्रस्तावप्रति एकीकृत समाजवादीका नेताहरु नै विश्वस्त हुन सकेका छैनन् । समाजवादीका एक पदाधिकारीका अनुसार ओलीले पार्टी एकता र राष्ट्रपतिबारे गरेको प्रस्ताव गोलमटोल किसिमको छ । ‘ओलीजीको प्रस्ताव नै गोलमटोल किसिमको छ । विश्वास गरिहाल्न सक्ने अवस्था छैन’, ती पदाधिकारी भन्छन्, ‘केही नलाग्ने भएपछि ओलीजी हामीतिर आउनुभएको हो । हामीलाई देखाएर माओवादी र कांग्रेसलाई साइजमा ल्याउने उहाँको योजना सामान्य राजनीति गर्ने मान्छेले पनि नबुझ्ने कुरै छैन ।’

एकीकृत समाजवादीका नेता मेटमणी चौधरी ओली र अध्यक्ष नेपालबीच ठोस निश्कर्ष आउनेगरी कुनै छलफल नभएको बताउँछन् । ‘त्यस्तो कुनै छलफल नै भएको छैन । सामान्य कुराकानी हुनु स्वाभाविक हो । तर त्यसैलाई आधार बनाएर सबै भइसक्यो भनेजस्तो प्रचार हुनु गलत छ । अहिले म अध्यक्षसँगै दाङमा छु’, चौधरीले मंगलबार बिहान रातोपाटीसँग भने । उनी सोमबार अध्यक्ष नेपालसँग पार्टी कार्यक्रमका लागि दाङ पुगेका हुन् ।

माधवको नाम प्रस्तावबारे सकारात्मक छैनन् प्रचण्ड

एमाले अध्यक्ष ओलीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन गरेको प्रयासप्रति माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड विश्वस्त हुन सकेका छैनन् । बरु ओलीले माधवमार्फत नयाँ कार्ड खेलेको हुनसक्ने प्रचण्डको बुझाई छ । माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकमा समेत प्रचण्डले माधवलाई ओलीले राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेको प्रसङ्ग निकालेका थिए ।

‘राष्ट्रपति निर्वाचनको विषय थप पेचिलो बन्दै आएको छ । हामीले राष्ट्रिय सहमतिको कुरा गर्दैगर्दा एमाले अध्यक्ष ओलीलाई त्यो कुरा मन परेको छैन’, माओवादी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले गरेको ब्रिफिङलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘ओलीजीको कुटिल चाल बुझ्न जरुरी छ ।’

समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा राख्दै प्रचण्डले बैठकमा भनेका छन्, ‘ओलीजी राष्ट्रपतिमा पहिला झलनाथ खनाल र अहिले माधव नेपालको नाम लिन थालेका छन् । यो उहाँहरुलाई (झलनाथ–माधव) लाई दिन होइन, हामीलाई कमजोर बनाउन र सबै पद आफूले नै कब्जा गर्न खेलिएको योजना हुनसक्छ ।’

‘ट्रयाक टु’ योजनामा अघि बढ्दा माओवादी र कांग्रेस दुवै लत्रिएर आफूले अघि सार्ने उम्मेदवारमा सहमति गर्न बाध्य हुने ओलीको बुझाई रहेको हुनसक्ने प्रचण्डले बताए ।

यसअघि उनले आइतबार कांग्रेस नेताहरुसँग बालुवाटारमा भएको छलफलमा पनि ओलीले माधवलाई अघि सारे के गर्ने भन्ने प्रश्न उठाएका थिए । त्यसक्रममा प्रचण्डले ओलीले नेकपा एकीकृत समाजवादीसँग समेत एकीकरण गर्ने, रास्वपा विभाजन गर्ने र सवैभन्दा ठुलो दल बन्ने योजनाअनुसार राष्ट्रपतिमा नेता नेपाललाई अघि सार्न लागेको हुनसक्ने बताएका थिए ।

माधव उत्साहित, प्रचण्ड सशंकित

राष्ट्रपतिको उम्मेदवारका लागि ओलीले राखेको प्रस्तावमा अध्यक्ष माधव नेपाल भने उत्साहित देखिएका छन् । तर ओलीसँगको भेटवार्तामा नेपालले पनि सहमतिको रटान भने छोडेका छैनन् । ‘सहमति हुनसक्छ भने म तयारै छु । तर त्यसका लागि तपाई र प्रचण्डले पहल गर्नुपर्छ’, नेपालले ओलीलाई भनेका छन् । सोही अनुसार अध्यक्ष नेपालले सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई सिंहदरवारमा भेटेर कांग्रेसको उम्मेदवारमा एमाले सहमत नहुने र कांग्रेस–माओवादी एमालेको उम्मेदवारमा सहमति नजनाउने अडानमा भएकाले आफूमा सहमति खोज्ने प्रयास गर्न र त्यो पहल लिन पनि प्रचण्डलाई आग्रह गरेका छन् । जवाफमा प्रचण्डले ‘ठिकै छ’ भन्नेमात्र जवाफ दिएका छन् । किनभने ओलीबाट माधव प्रस्तावित भएको प्रचण्डले यसअघि नै बुझिसकेको र अन्त्यमा माधवका नाममा आफूहरु लचिलो भएपछि अर्कै उम्मेदवार अघि सार्ने र राष्ट्रपति बनाउनुका साथै कांग्रेससँगको सम्बन्ध समेत टुटाउने ओलीको भित्री उद्देश्य हुनसक्ने प्रचण्डको बुझाई छ ।

बाबुरामको च्याप्टर क्लोज !

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा दलहरुबीच छलफलले तीव्रता पाएको छ । माओवादी केन्द्रले राष्ट्रपतिबारे छलफल गर्न सोमबार बोलाएको पदाधिकारी बैठकमा पनि यो विषयमा डेढ घण्टा छलफल भयो । छलफलका क्रममा सबैजसो नेताले संविधान, संघीयता र राष्ट्रियताको जगेर्ना गर्न पनि राष्ट्रपति सहमतिमै चयन गर्नुपर्ने भनाइ राखेका थिए । तर उक्त छलफलमा यसअघि माओवादीबाट राष्ट्रपतिका लागि चर्चामा आएका डा. बाबुराम भट्टराईको बारेमा भने छलफल नै भएन । ‘डा. भट्टराईका बारेमा कुनै चर्चा भएन । किनभने प्रधानमन्त्री र राष्ट्रपति दुवैमा हामीले दाबी गर्न सक्ने अवस्था पनि छैन’, माओवादीका एक पदाधिकारीले बैठकमा उठेका छलफलबारे भने, ‘अब डा. भट्टराई राष्ट्रपतिको उम्मेदवार बन्ने च्याप्टर लगभग क्लोज जस्तै हो ।’

माओवादी र डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसापा) बीच पार्टी एकीकरण गर्ने अन्तिम तयारी छ ।

ओलीको ‘ट्रयाक थ्री’ योजना

एमाले अध्यक्ष ओली ‘ट्रयाक वान’ र ‘ट्रयाक टु’ योजना असफल भए ‘ट्रयाक थ्री’ योजना अघि सार्ने प्रयासमा रहेको माओवादीका केही नेताहरुको बुझाई छ । उनीहरुका अनुसार ओलीले ‘ट्रयाक थ्री’ अन्तर्गत कांग्रेसलाई साथ लिने प्रयास गर्नेछन् । त्यसका लागि ‘यी खुद्रे पार्टीले सारै दुःख दिए, तपाई हामी मिलेर अघि बढांै, अहिले तपाईहरुका तर्फबाट राष्ट्रपतिमा सहमति गरौं’ भनेर ओलीले कांग्रेसलाई प्रस्ताव गर्न सक्छन्’, माओवादीका एक पदाधिकारी भन्छन्, ‘तर अहिलेसम्मको अवस्थामा कांग्रेस त्यसका लागि तयार भइसकेको देखिँदैन ।’

ती नेताका अनुसार ओली कुनै हालतमा पनि सत्ताबाट बाहिर निस्कन र प्रदेश सरकारहरु पनि गुमाउन चाहदैनन् । त्यसैले पनि ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो अनुकुलताका लागि हरेक उपाय लगाउन सक्ने ती नेता बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप